• भिमराज अधिकारी
    पशरीशनिश्चरे ५ माघ

    आर्थिक अवस्थाकै कारण पथरी शनिश्चरे ५ हसन्दहमा रहेको अमर सिंह माविको स्वर्ण महोत्सव ओझेलमा पर्न लागेको छ । २०२४ साल माघ २० गते श्री पञ्चमीका दिन स्थापना गरिएको सो विद्यालयको स्वर्ण महोत्सव यही माघ २० गते मनाउने तय गरिदै छ । महोत्सवको तयारी गर्ने समय अब १३ दिन मात्र बाकीँ छ तर आर्थिक अवस्था र विद्यालयले समयमा तयारी नथाल्दा महोत्सव कसरी गर्ने भन्ने अन्योल भएको छ । स्वर्ण महोत्सव पटक पटक आउदैन ५० वर्षमा आउने महोत्सवका लागि विद्यालयको प्राङ्गणमा १ वर्ष अगाडी देखि नै महोत्सव व्यानरहरु टाँगिनु पर्ने हो तर अमरसिहका हकमा त्यो भएन । हाल सम्म न त कतै व्यानर छ कुनै प्रचार प्रसार नै छ ।

    अर्थिकको पनि त्यति नै समस्या छ । केही सामुदायिक विद्यालयहरु तथा अन्य संघसंस्थाहरुसंग सहयोग मागिरहेको र महोत्सवलाई पनि २ अडाइ लाखमा सम्पन्न गर्ने सोच बनाएको बताउनुहुन्छ विद्यालयका प्रधानध्यापक डोमी साह । अभिभावक भेला बोलाउदा अभिभावक नै नआए पछि तयारी गर्न कठिनाइ भयो । व्यवस्थापन समितिमा पनि त्यति राम्रो सम्बन्ध रहेको पाइदैन । विद्यालयमा एकले अर्कालाई असहयोग गर्ने भएकाले पनि यस्तो भएको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समिति सदस्य हरी बहादुर वस्नेत । बस्नेतका अनुसार पटक पटक बैठक बोलाइन्छ तर छलफलमा कुनै एजेण्डा नै ल्याइदैन । महोत्सवको तयारीका लागि आम मानिसमा कसैलाई जानकारी नै छैन् । न त कतै पर्चा पम्प्लेट छ न कतै सार्वजनिक रुपमा जानकारी नै गराइएको छ ।

    महोत्सवका विषयमा सल्लाह गर्न पूर्व विद्यार्थीहरु एक पटक भेला पनि भएको तर विद्यालयले कुनै चासो नदेखाएको बताउनुहुन्छ पूर्व विद्यार्थी दिपेश प्रसाइ । पूर्व विद्यार्थीको समुहलाई सहयोग गर्न चासो नदेखाए पछि आफुहरुले पनि त्यति चासो नदिएको प्रसाइको भनाइ छ । केही आन्तरिक समस्या त जहाँ तही हुन्छन् तर विद्यालयसंगै जोडिएका आम सरोकारवालाले पनि थाहा नपाउनुले साच्चैँ स्वर्ण महोत्सव हो त भन्ने भान स्थानियमा भएको छ । आधिकारीक रुपमा कतै पनि जानकारी नगराएको र आफुले पनि जानकारी नपाएको बताउनुहुन्छ विद्यालय छेउकै क्यानिट सञ्चालक प्रेम बहादुर वस्नेत । महोत्सवका लागि केही काम नै नभएको भने होइन भित्री रुपमा केही सामान्य तयारी भएको बुझिएको छ । विद्यालयले स्वर्ण महोत्सवका लागि केही कामहरु गरिरहेको र अझै पनि केही समय बाकीँ भएकाले अझै धेरै तयारी गर्न बाकी रहेको शिक्षकहरुले बताएका छन् । केही काम गर्न खोज्दा खुट्टा तान्ने जताततै हुन्छन् ।

    यहाँ पनि यस्तै केही असहयोग गर्ने र समस्याका कारण ढिला भएको तर केही दिमा पूर्ण रुपमा तयारी सकिने व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र बहादुर अधिकारीले बताउनुभएको छ । विद्यालयमा पनि शिक्षकहरुको राजनीतिका कारण केही शिक्षकहरु महोत्सव नै असफल पार्न लागि परेको पनि केही शिक्षकहरुले बताएका छन् । जति गर्नुपर्ने हो त्यति हुन सकेन तर अभिभावकले पनि यस्ता कुरामा चासो दिनुपर्ने आवस्यकता उतिकै देखिन्छ । संस्थागत विद्यालयमा जस्तो चासो सामुदायिक विद्यालयमा अभिभावले नदिनाले पनि समस्या हुने गरेको छ । पटक पटक पत्र काटेर बोलाउदा पनि अभिभावकको उपस्थीति नहुनुले सामुदायिक विद्यालय प्रतिको वितृष्णा देखिन्छ । महोत्सव सम्पन्न गर्न आवश्यक रकमको अभावका कारण निकै समस्याहरु रहेका छन् । यसलाई सफल पार्नका लागि सबैसंग आर्थिक सहयोगको अपेक्षा पनि विद्यालय प्रशासनले गरेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…