काठमाडौं, ८ फागुन । अरवौंको प्रोजेक्टमा करोडौं घुसको डिल गरेका सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा देलान् त ? जनचासो बढेको छ । आज विहानदेखि करोडौं घुसको डिल भन्ने खबर भाईरल भए पछि चासो चुलिएको हो ।
बाँस्कोटाले कमिशनको लागि बार्गेनिङ गरेको अडियो यो विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले छलफलमा सहभागी भएका छन् ।
प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गे्निङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।
अध्यक्षद्वयको छलफल पछि सचिवालयको बैठक बोलाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । नेकपामा मन्त्री बाँस्कोटालाई राजीनामा गराउनुपर्ने दबाव बढेको छ । सामाजिक सञ्जाल लगायतमा सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाव दिइएको छ ।
उता, मन्त्री बाँस्कोटा भने यतिवेला कञ्चनपुरमा छन् । उनले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । उनले, “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । उनले भने,“आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ, सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सार्वजनिक भएको थियो ।