• नेपाली कांग्रेसले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘अडिओ टेप’मा प्रयोग गरेका शब्दावलीप्रति प्रश्न उठाएको छ।

    सेक्युरिटी प्रेस खरिदसम्बन्धी सार्वजनिक अडिओमा मन्त्री बाँस्कोटाले निजामती कर्मचारीमाथि आपत्तिजनक र अशोभनीय शब्दावली प्रयोग गरेको कांग्रेसको भनाइ छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्री बाँस्कोटाले बोलेका शब्दावली सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराए।

    ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्रीजी (गोकुल बाँस्कोटा)को अडिओ यसरी सार्वजनिक भएको अवस्थामा म मुख त हेर्दिनँ भनेको थिएँ, सुन्दिनँ भनेको कहाँ थिएँ र भन्नुभयो भने अलग कुरा हो,’ शर्माले भने, ‘मुख हेर्ने/नहेर्ने अर्को प्रश्न। तर सुन्न त सक्नुहुन्छ होला नि, प्रधानमन्त्रीज्यूले? प्रधानमन्त्रीले सुन्नुपर्छ।’

    प्रधानमन्त्रीले बाँस्कोटाले बोलेको अडिओ सुनेको भए आपत्तिजनक र अशोभनीय ती शब्दहरू पनि सुनेको हुनुपर्ने शर्माले बताए।

    ‘अडिओ सुन्दै गर्दा प्रधानमन्त्रीले ती शब्द पनि सुन्नुभयो होला नि, जुन राज्य प्रशासन स्थायी सरकार भनेर कर्मचारी प्रशासनलाई भनिन्छ। कर्मचारीको सन्दर्भमा औपचारिक वा अनौपचारिक कुनै पनि राजनीतिककर्मीले अपशब्द राख्ने कुरा अत्यन्त आपत्तिजनक र अशोभनीय छ,’ प्रवक्ता शर्माले भने।

    अडिओमा प्रयोग भएका शब्द मन्त्री बाँस्कोटाले बोलेको मात्र नभई सरकारका प्रवक्ताले पनि बोलेको हुने भएकोले उक्त शब्दावली सरकारकै धारणासँग गाँसिने पनि शर्माले बताए।

    ‘सरकारको एकजना मन्त्रीले भन्दा पनि प्रवक्ताका रूपमा सरकारको धारणा नै गाँसिन्छ। जुन अभिव्यक्ति मन्त्रीजीबाट आएको छ त्यो अशोभनीय छ। यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउँछौं,’ प्रवक्ता शर्माले भने।

    साथै कांग्रेसले मन्त्री बाँस्कोटाले अडिओ टेपमा प्रयोग गरेको ‘हामी’ शब्दबारे पनि प्रश्न उठाएको छ।

    ‘प्रधानमन्त्रीको अभिव्यक्ति के थियो भने, सरकारको कसैले विरोध गर्न लाग्यो भने अमुक मन्त्री (गोकुल बाँस्कोटा) को मुख हेर्‍यो भने चुप लाग्छन् भन्नुहुन्थ्यो,’ उनले भने, ‘अमुक मन्त्रीजीले बोलेको शब्दावली र उहाँको घनिष्टता हेर्दा हामी भन्ने शब्दभित्र को-को पर्छन् भन्ने प्रश्न हामीले उठाउनु स्वभाविक हुन्छ।’

    मन्त्री बाँस्कोटाले अडिओ टेपमा हामीलाई चाहियो रकम भनेको भन्दै शर्माले हामीको परिभाषाभित्र को-को पर्ने हो भन्ने प्रश्न पनि गरे।

    ‘हामीलाई चाहियो रकम भन्दै गर्दा त्यो हामीको परिभाषाभित्र को-को पर्छन् त भन्नेकुराको जवाफ त हामीले प्रधानमन्त्रीसँग माग्नुपर्ने हुन्छ,’ उनले भने।

    सार्वजनिक भएको मन्त्री बाँस्कोटाको अडिओ टेपमा निजामती कर्मचारीलाई अपशब्द प्रयोग गरिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…