• काठमाडौं- भर्खरै सञ्चार तथा सूचनाप्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले पत्रकारिता गरेका थिएनन् भने यो उपलब्धि हासिल नहुन सक्थ्यो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनलाई पत्रकारिताले जोडेको हो। पत्रकारिताले जोडेको सम्बन्धले उनलाई ओली निकटस्थ मात्रै बनाएन, मन्त्रीको अवसरसम्म दिलायो। तर, बिहीबार अनपेक्षित रुपमा बहिर्गमन गर्नुपर्‍यो। यो बहिर्गमनको कारण थियो, सञ्चारमाध्यमले सार्वजनिक गरेको घुस बार्गेनिङको अडियो।

    ओलीसँग उनले दृष्टि साप्ताहिकमा कार्यकारी सम्पादक हुँदा सम्बन्ध जोडेका हुन्। जीवनको पूवार्द्धमा राजनीति गरेका उनी बीचमा पत्रकारिता थिए र फेरि पूर्णकालीन राजनीतितर्फ लागेका हुन्। तर, राजनीति गर्दा पनि उनी पत्रकारिता क्षेत्रबाट भने अलग भएनन्। केही वर्षअघिसम्म उनी आफैं ‘सम्बोधन’ नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए।

    पत्रिका बन्द गरेर राजनीतिमा मात्रै लाग्दा पनि पत्रकारिता क्षेत्रबाट अलग्गिएनन्।

    ad
    मन्त्री बन्दा पनि पत्रकारितासँग जोडिएको मन्त्रालयको जिम्मेवारी हासिल भयो उनलाई। पार्टीका ‘एक से एक’ मन्त्री आकांक्षी नेतालाई पछाडि छाडेर महत्वपूर्ण मन्त्रालय पाउने ‘हिरो’ बनेका थिए उनी।

    सञ्चारमन्त्रीका रुपमा उनी सधैं चर्चामा रहे। उनको बोली र व्यवहार दुवै चर्चाका विषय बने। दुई वर्षको कार्यकालमा उनले पत्रकारिता क्षेत्रलाई केही गुन र केही बैगुन लगाए। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ग्यारेन्टीका विषयमा उनले राखेको अडान सह्रानीय छ। तर, उनले ल्याएका केही मिडियाद्वेशी विधेयकले यो गुन समेत बिर्साइदियो। उनको बोल्ने शैलीले मन्त्रालयमा रहेर गरेका अन्य कामले प्रशंसा पाएनन्।

    बुधबार अबेर राति फेरि एकपल्ट उनीसँग पत्रकारिता प्रत्यक्ष जोडिन आइपुग्यो। तर, त्यो उनले बनाएको राजनीतिको उचाइ तोडिनका लागि थियो।

    कुनैबेला उनी आफैं ‘एक्सक्लुसिभ’का खोजीमा हुन्थे, बुधबार उनले घुस बार्गेनिङ गरेको ‘एक्सक्लुसिभ’ अडियो सञ्चारमाध्यममा पुग्यो। प्रधानमन्त्री ओलीले चाहेर पनि अंगाल्न नसक्ने वातावरण निर्माण गरिदियो। ओलीका अतिनिकट पात्र बाँस्कोटाले राजीनामा दिन बाध्य हुनुपर्‍यो। यससँग निरन्तर उकालो लागिरहेको उनको राजनीतिक करियरमा 'ब्रेक' लागेको छ।

     

    नेपाल कम्युनिस्ट पार्टी मालेनिकट विद्यार्थी संगठनको सदस्य भएर उनले राजनीति सुरु गरेका हुन्। पछि उनले सोही पार्टी निकट पत्रिकामा काम गर्न थाले। सोही पार्टीको छलफल साप्ताहिकको काभ्रे जिल्ला सम्वाददाताबाट उनले पत्रकारिता थाले। उक्त पत्रिकाको सम्पादक प्रदीप नेपाल थिए।

    पछि दृष्टि साप्ताहिकमा पुगे। उनले दृष्टिको कार्यकारी सम्पादकको जिम्मेवारी पाए। उक्त पत्रिका त्यो समय नेकपा एमालेको मुखपत्र जस्तै थियो। त्यही पत्रिकाले उनलाई ओलीसँग निकट बनाएको हो। केही समय उक्त पत्रिकाको नेतृत्व गरेका बाँस्कोटाले ओलीको अन्तर्वार्ता लिए। उनका लेख सम्पादन गरेर छापे। ओलीको विचारबाट प्रभावित उनले पत्रिकालाई नै ओली लाइनतर्फ डोर्‍याए। यसले उनलाई ओलीसँग आत्मीय बनाउँदै लग्यो। केही समयको पत्रकारितापछि बाँस्कोटा फेरि भूगोलको राजनीतितर्फ लागे। तत्कालीन नेकपा एमाले काभ्रे जिल्लाको दुईपल्ट सचिव हुँदै अध्यक्षसम्म भए उनी।

    उनले सचिवका रुपमा काभ्रेमा काम गरिरहँदा माधवकुमार नेपाल एमाले महासचिव थिए। नेपालसँग ओलीको मत मिल्दैनथ्यो। यही कारण संस्थापन पक्षबाट ओली किनारकृत हुँदै गए। ओलीलाई जिल्लाका कार्यक्रममा जान समेत सजिलो थिएन। मदन भण्डारीको जनताको बहुदलीय जनबादलाई हतियार बनाएर लडिरहेका ओलीसँग केही नेता कार्यकर्ता थिए। तीमध्ये एक बाँस्कोटा हुन्। उनले त्यस्तो अवस्थामा खुलेर साथ दिए। अन्य जिल्लाका कार्यक्रममा ओलीलाई प्रतिबन्ध जस्तै रहेको अवस्थामा काभ्रे जिल्लामा बोलाएर कार्यक्रम गरे। यति मात्रै होइन, पार्टीका बैठकमा ओलीले राख्ने फरक मत बाँस्कोटा संलग्न पत्रिकाबाट बाहिरिन्थ्यो।

    विरोधीसँग पौठेजोरी खेल्न रुचाउने ओलीको स्वभावसँग बाँस्कोटा निकट थिए। यो रसायनले समेत ओलीसँग जोडिन सघायो बाँस्कोटालाई। तत्कालिन नेकपा एमालेमा ‘ओलीगुट’ महत्वपूर्ण खम्बा थिए उनी। पार्टीमा भूमिका नपाएर ओली बालकोटस्थित निजी निवसमा ‘क्यारेम’ खेलिरहँदा ‘कोरम’ पुर्‍याउन त्यहाँ पुग्नेमध्ये एक बाँस्कोटा पनि हुन्।

    नेता-कार्यकर्ताको सम्बन्ध यही क्रममा पारिवारिक बन्यो। विभिन्न जिल्लाका नेता-कार्यकर्तालाई ओली गुटमा सहभागी गराउनमा समेत बाँस्कोटाले भूमिका खेले। ओलीसँग समय मिलाएर भेटघाट गराउने काम उनले गरे। जसले बाँस्कोटालाई पनि राजनीतिमा बलियो बनाउँदै लग्यो।

    शक्तिशाली बाँस्कोटा केही घन्टाको अन्तरालमा पूर्वमन्त्री भएका छन्।

    यसरी दुःखको समयमा साथ दिएका बाँस्कोटालाई प्रधानमन्त्री ओली गुन लगाउन चाहन्थे। सुशील कोइराला नेतृत्वको सरकारमा समेत सहभागी हुन ओलीले उनलाई सुझाएका थिए। तर, छोटो समयका लागि बनेको सरकारमा मन्त्री नबन्ने भनेर उनले अस्वीकार गरे। पार्टीमा बढ्दो ओली प्रभाव उनले थाहा पाएका थिए। एकदिन राम्रो अवसर हासिल हुने अपेक्षा उनीसँग त्यो बेला नै थियो।

    २०७४ को निर्वाचमा बाम गठबन्धनले स्पष्ट बहुमतसहित विजयी भयो। काभ्रे-२ बाट बाँस्कोटाले लोकप्रिय मतसहित विजयी हासिल गरे।

    दुई पार्टी एकीकरण हुने क्रममा रहेको समयमा मन्त्री हुने लाइनमा धेरै नेताहरू थिए। दुवै पार्टीका वरिष्ठ भन्दा वरिष्ठ र लोकप्रिय भन्दा लोकप्रिय नेताहरू मन्त्रीका आकांक्षी थिए। यस्तो अवस्थामा बाँस्कोटाले अवसर पाउने अनुमान कसैले गरेका थिएनन्। तर, उनले एकाएक सञ्चार राज्यमन्त्रीको सपथ लिए।

    वरिष्ठलाई पन्छाएर व्यक्तिगत निकटताका आरोपमा मन्त्री बनाइएको आरोप ओलीले खप्न चाहेनन्। उनलाई अवसर दिएकोमा विरोध भइहाले ‘राज्यमन्त्री मात्रै दिएको’ उत्तरका लागि त्यसो गरिएको थियो तर उनको हैसियत भने मन्त्रीको भन्दा कम थिएन। सामान्यतया राज्यमन्त्री क्याबिनेटको निर्णयमा सहभागी हुँदैनन्। तर, उनी राज्यमन्त्री भएदेखि नै क्याबिनेटमा सहभागी भए। पछि माहोल मिलाएर उनलाई मन्त्री नै बनाइयो र सरकारको प्रवक्ता पनि।

    मन्त्री बनेपछि उनले सरकारी क्वाटरको अपेक्षा गरे। तर, त्यतिबेलासम्म क्वाटर भरिसकेको थियो। प्रधानमन्त्री ओली बालुवाटार सरेपछि उनको घर खाली थियो। ओलीसँग क्वाटर नपाएको गुनासो गरेपछि आफ्नै घरमा रहने अनुमति पाए। जसले ओलीसँगको उनको निकटतालाई प्रमाणित गरिदियो।

    यसरी प्राप्त गरेको अवसरलाई उनले कायम राख्न सकेनन्। सेक्युरिटी प्रेस खरिद प्रक्रियामा लाभको अपेक्षा गरेको अडियोमा सुनिन्छ। यही लाभको विलापमा परेका छन् बाँस्कोटा।

    शक्तिशाली बाँस्कोटा केही घन्टाको अन्तरालमा पूर्वमन्त्री भएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…