• वीरेन्द्रमणि पौडेल, नदीमा कहिलेकाहीँ भीषण बाढी आउँछ । सधैँभरि बाढी आउँदा प्राणी जगत्लाई बाँच्न अप्ठ्यारो हुने सोचेरै होला, प्रकृतिले पनि कहिलेकाहीँमात्रै बाढी आउने अवस्था सिर्जना गरेको बुझिन्छ । जब बाढी आएर रुख, बिरूवा, माटो, खेतबारी र उस्तै परे केही जीवजन्तुलाई समेत बढारेर क्षति पु¥याएपछिमात्रै नदी शान्त हुन्छ र पानी सफा देखिन्छ ।

    फेरि नदी लामो समयको लागि शान्त तरिकाले बग्न थाल्छ । राजनीतिमा पनि यस्तै हुन्छ । नदीमा बाढीरुपी क्रान्ति भएर केही क्षति भएपछि नदी पूरै शान्त भएझैँ राजनीतिमा पनि व्यवस्था परिवर्तनका लागि वा सरकार परिवर्तनका लागि क्रान्तिको यदाकदा आवश्यकता पर्छ र त्यो आवश्यकता पूरा भएपछि देश अर्को क्रान्तिको आवश्यकता नपरून्जेल आरामले एकनासले चल्छ ।

    राज्य संरचना बन्दाका बखत संसारभरि नै राजैराजा थिए अर्थात् उतिबेला देशको प्रमुखलाई राजा भनिन्थ्यो । राजाको अर्थ राजा मानिएको एउटा व्यक्तिको आदेशमा देश चल्ने र राजालाई कानुनले नछुने जनतालाई छुने भन्ने बुझिन्थ्यो । एउटा व्यक्तिको इच्छा वा सनक वा जिम्मेवारीमा देश चल्नु ठीक हुन नसक्ने ठहर हुँदै जाँदा राजाको विरूद्ध जनता उत्रिन थाले ।

    जनताले आफ्नो देश आफैँ हाँक्ने आफ्नो लागि नेता आफैँ छान्ने, मन नपरे निर्वाचन प्रक्रियाद्वारा बदल्ने खालको राजनीतिक व्यवस्थाको कल्पना गर्दै सोहीअनुसार राजाको नेतृत्ववाला व्यवस्थालाई फ्याँक्ने प्रक्रिया सुरू भयो । संसारमा बिस्तारै बिस्तारै राजाको अस्तित्व मेटिँदै गयो । जनताद्वारा जनताका लागि गरिने शासनव्यवस्थाको उदय हुँदै गयो ।

    नेपालको हकमा पनि श्रीपेचवाला राजा पृथ्वीनारायण शाहले साना–साना क्षेत्रफल भएका र थोरै–थोरै जनसंख्या भएका देशहरुलाई एकीकरण गरी एउटा ठूलो देश नेपाल बनाए । उनको नेतृत्वमा चल्ने देशको नाम त गोर्खा थियो तर उनले एकीकरणपछि नयाँ देशको नाम नेपाल राखे ।

    आज पृथ्वीनारायणको बहादुरी वा सुझबुझ वा मेहनतका कारण हामीले नेपाली भन्न र नेपाल हाम्रो देश भन्न पाएको सत्य हो । आवश्यकताले राजनीतिक व्यवस्था परिवर्तन हुने प्रक्रियाअन्तर्गत शाह राजाहरुको हातबाट राणाहरुले राज गर्न थालेपछि १०४ वर्षपछि राजनीतिक क्रान्ति भयो र २००७ साल फागुन ७ गते राणाहरुको शासनव्यवस्था सकियो ।

    राणा शासनको समाप्तिपछि जनताका छोराछोरीले नेपालमा शासन गर्न सुरू त गरे तर अनुभव नहुँदा वा दूरदर्शिताको कमीका कारणले बीचमा फेरि महेन्द्र वीरविक्रम नाम गरेका शाहले शासन कब्जा गरे । त्यो पञ्चायत भन्ने गरिएको राजनीतिक व्यवस्था ३० वर्ष चल्यो ।

    एक व्यक्ति राजाको निगाह र आशीर्वादमा चल्ने राजनीतिक व्यवस्थाविरूद्ध क्रान्तिको जरूरत प¥यो । यही आवश्यकताले जनतालाई डो¥याउँदा २०४६ सालमा श्रीपेचधारी राजा र तिनको राजनीतिक पञ्चायत व्यवस्थाविरूद्ध क्रान्ति भयो । राजाले हारे । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्जन्म भयो । यो राजनीतिक व्यवस्था झन्डै आधा दर्जन वर्ष चल्दै थियो, माओवादी नामको पार्टी जन्मियो र यसले प्रजातान्त्रिक नामकरण गरिएको व्यवस्थाविरूद्धै बन्दुक सोझ्यायो ।

    सरकार पक्षको र माओवादी पक्षको बम, बन्दुक, खुकुरी, खुँडा, भाला, तरबार, गुलेली, ढुङ्गा र चिर्पट प्रहारबाट सालाखालावाला गन्ती गर्दा १७ हजार नेपाली ज्यान जमिनमा कहिल्यै नउठ्ने गरी पल्टिए । केही हजार अपाङ्ग भए त केही हजार बेपत्ता भए ।

    यति क्षति भएपछि यो क्षतिले चिट्ठा परेर श्रीपेच लाउन पाएका राजा ज्ञानेन्द्रसँगै तिनका जिजुबाजेका जिजुका पनि माथिल्लो चार पुस्ताका पृथ्वीनारायणको समेत नामोनिशान मेटिने हदसम्मको पुरानो राजसंस्था परिवर्तन गरेर देश शान्त भयो, नदीमा बाढी आएर क्षति पु¥याएपश्चात् नदी शान्त भएझैँ ।

    अनेक व्यवधानका बीच नयाँ संविधान बन्यो । देशले कठिन खालको राजनीतिक व्यवस्था संघीयता अँगाल्यो । स्वदेशी तथा विदेशी राजनीतिक विज्ञहरुका अनुसार अब राजनीतिक व्यवस्था परिवर्तनका लागि नयाँ क्रान्तिको जरूरी छैन, तर यति भईकन केही नेपाली राजनीतिज्ञ र केही राजनीतिक दलहरु भने अझै एउटा अन्तिम जनक्रान्तिको आवश्यकता छ भनिरहेका छन् र आफूलाई केही अलग स्थानमा राखिरहेका छन् ।

    यो अवस्थालाई नेपालमा राजनीतिक व्यवस्था परिवर्तनका लागि नयाँ राजनीतिक क्रान्तिको जरूरत छैन भन्ने र मान्ने हो भने अब आर्थिक समृद्धिका लागि आर्थिक क्रान्तिको जरूरत त हुन्छ नै । उसो भए यसका लागि प्रश्न यस्तो उठ्छ कि कसरी हुन सक्छ आर्थिक क्रान्ति ?

    सम्भावित ठीक उत्तर यस्तो हुन सक्छ कि आत्मानिर्भरताका लागि अब नेपालमा द्रुतगतिमा सम्भव हुनेसम्मका सबै शीर्षकमा उत्पादन वृद्धि गर्नुपर्छ र विदेशी सामान प्रयोगमा भारी कटौती गर्नुपर्छ । कृषिप्रधान देश भन्दै वर्षमा सालाखाला २६ अर्बको चामलमात्रै छिमेकी मुलुक भारतबाट नेपालले किन्दै आएको अवस्थाको चाँडोभन्दा चाँडो अन्त्य गर्नुपर्छ । यसका लागि देशभरि जति पनि खेतीयोग्य जमिन छ ती सबैलाई हराभरा बनाउनतर्फ लाग्नुपर्छ ।

    नेपालमा अहिले पनि तीन करोड नेपालीलाई प्रशस्त खान पुग्ने गरी अन्न उत्पादन गर्न सकिनेमात्रै होइन फेरि पनि हाम्रो देशले विदेशमा अन्न निर्यात गर्न सक्ने कृषि विज्ञहरुले बताएका छन् । यहाँसम्म कि चितवनको माडी उपत्यका, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाले ओगटेका जमिनमा आधुनिक प्रविधि अपनाएर खेती गर्ने हो भने यी स्थानबाट उब्जनी हुने अन्नले नेपाली पेटहरु भरिने छन् भने बाँकी जमिनमा गरिने खेतीबाट विदेशमा निर्यात गर्न सकिन्छ । जमिनको खाँचो छैन ।

    वर्षमा भारतबाट कागतीमात्रै एक करोड रूपैयाँको खरिद भएको अवस्थाको पनि अन्त्य गर्न सकिन्छ । चितवनकै शक्तिखोर र चण्डीभञ्ज्याङआसपासका डाँडापाखामा कागतीखेती गर्ने हो भने कागतीमा भारत निर्भरता हट्छ भने कागतीसमेत विदेश निर्यात गर्न सकिने अवस्था सिर्जना हुन सक्छ ।

    सबैभन्दा देशको ढाडै कुच्याउने विषय भनेको आज पनि पेट्रोलियम पदार्थ र नयाँ–नयाँ यातायातका साधनहरु हुन् । सार्वजनिक यातायातका साधन नयाँ र ठीक अवस्थाको हुनैपर्छ । तर, अन्य निजीको हकमा अब कम्तीमा १० वर्ष स्कुटर, मोटरसाइकल, कार, जिप आयातमा पूरै प्रतिबन्ध लगाउने हो भने १० वर्षसम्म जोगिने पेट्रोल र डिजेलले देशको आर्थिक अवस्थालाई मजबुत राख्न मद्दत मिल्छ ।

    पेट्रोल र डिजेलमात्रै प्रत्येक वर्ष अरबको होइन खर्बबराबरको खरिद हुनु चानचुने कष्टको विषय होइन । एक वर्षमा १ खर्बमात्रै जोगाउन सकियो भने १० वर्षमा १० खर्ब बचाउन सकिन्छ र यस्तो अवस्थामा देशलाई पु¥याउन सकिए भौतिक विकासका लागि त्यो ठूलो रकम खर्च गर्न सकिन्छ । कुनै अर्को धनी देशको अगाडि दुई–चार अर्बका लागि हात पसार्न पर्दैन ।

    धेरैले अनुमान नगरेको तर औधी दुःखदायी विषय कपडा आयात हो । आज अपवादलाई छाडेर हरेक नागरिकको घरघरमा कम्तीमा २० जोर कपडा प्रयोगविहीन अवस्थामा रहेको बुझिन्छ । घरमा राख्ने ठाउँ नभएर कपडामा अल्झिएर मान्छे नै पल्टिने अवस्था सिर्जना हुँदा सेकेन्ड ह्यान्ड कपडा लगाइदिने मान्छेको खोजी हुँदासमेत नभेटिएपछि बजारको छेउकुनामा सित्तैमा कपडा पाइने विज्ञापनका साथ “कपडा बंैकहरु” खुल्न थालेका छन् ।

    कुरा प्रस्ट छ– आफूले लगाउन नसक्ने अवस्थामा कसैले कसैलाई दान दिँदैन, धेरै भएर नै हो । अब यो अवस्थाको अन्त्य आजैबाट गर्नुपर्छ । अहिले देशभित्र घरघरमा भएका सबै तयारी कपडा हरेक नागरिकले आलोपालो कम्तीमा १० वर्षसम्म पुग्ने गरी पहिरिनुपर्छ ।

    यदि देशप्रति आफ्नो पनि जिम्मेवारी र कर्तव्य छ भन्ने सोच्ने हो भने आजैदेखि विदेशबाट कपडा आयात बन्द हुने किसिमले हरेक नेपालीले पुराना कपडा पहिरिन सुरू गर्नुपर्छ । नयाँ कपडा अब १० वर्षपछि लगाउने सोच बनाएर मन थाम्ने हो भने यो गरिब देशका लागि ठूलो सहयोग हुने पक्का छ ।

    आज नेपाल दूधमा आत्मनिर्भर भएको छ । कुखुराको मासु र अण्डामा समेत आत्मनिर्भर हुन लागेको बुझिएको छ । यही तरिकाले अन्य चीजबीजमा समेत आत्मनिर्भर हुने तरखर गर्न जरूरी छ । विदेशबाट ल्याइने सामानहरुमा कटौती गर्दै जाने, देशभित्र उत्पादन बढाउँदै जाने, सकेसम्म स्वदेशी सामान प्रयोग गर्ने हो भने हामी नेपालीले सधैँभरि हाम्रा युवा र चेलीबेटीले विदेशमा हाडछाला घोटेर पठाएको रेमिट्यान्स भनिने पैसाले जीवन धान्नुपर्ने छैन ।

    त्यस्तो अवस्था सिर्जना गर्न सकिएमात्रै सबै नेपालीले पूरा सास फेरेर हाँस्न पाउनेछन् र त्यही अवस्थालाई सक्कली आर्थिक क्रान्ति भन्न मिल्नेछ । तर, यदि अब पनि उही पुरानो नक्कली कुरा गर्ने बानी नछाड्ने, फाल्तु गफ गरेर एक नेपालीले अर्को नेपालीलाई भुलाउने, कम बुद्धिकालाई चतुरेहरुले भ्रममा पार्ने र एकअर्कामा जुधाउने, काम गर्नेलाई हेप्ने, कुरामात्रै गर्ने ठगलाई सम्मान गर्ने परिपाटी छाडिन्न भने आर्थिक क्रान्तिको कल्पना नगरे हुन्छ । बिनाआर्थिक क्रान्ति सुख र समृद्धिको सपना पनि नदेखे हुन्छ । चितवन पोष्टका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…