•  

    फागुन १०, २०७६
    काठमाडौं । झट्ट हेर्दा जोकोही झुक्किन्छ । किनेर घर लैजाउन्जेल पनि उही जस्तो लाग्नसक्छ । स्वाद पनि उस्तै उस्तै हो, याद नगर्ने हो भने उपभोक्तालाई लाग्ला, म अन्तर्राष्ट्रिय ब्राण्डको वेभरेज पिउँदै छु ।

    तर यसमा फरक छ । ‘माउन्टेन ड्यू’जस्तै देखिने ‘मेन्टेन ड्यू’, ‘फेन्टा’जस्तै देखिने ‘फण्डा’ र ‘कोकाकोला’ जस्तै देखिने ‘च्याटकोला’ उत्पादन गर्ने कम्पनी साम्भवी फूड्स एण्ड वेभरेज प्रा. लि. हो ।

    नेपालमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले ‘कोका–कोला’, ‘फ्यान्टा’ तथा माउन्टेन ड्यू नेपालले ‘माउन्टेन ड्यू’ बिक्री गर्दै आएको छ । झापा जिल्ला ठेगाना लेखिएको उक्त कम्पनीले उत्पादन गर्ने दुईवटा उत्पादन ‘फण्डा’ र ‘च्याटकोला’ बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादनसँग मिल्दोजुल्दो छ भने एउटा ‘मेन्टेन ड्यू’ माउन्टेन ड्यू नेपालको उत्पादनसँग मिल्दोजुल्दो छ । तर त्यसरी मिल्दोजुल्दो नाम राखेर वा डिजाइन लेभलिङ गरेर बिक्री गर्नु भने गैरकानूनी हो ।

    साम्भवी फुड्सले बिक्री गर्दै आएका यी उत्पादन पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को भने प्रतिकुल छ । उक्त ऐनले कुनैपनि उद्योगले आफ्ना उत्पादनहरुको पेटेन्ट, डिजाइन दर्ता गराएर मात्रै बिक्रीवितरण गर्न पाउने व्यवस्था गरेको छ ।

    साथै आफ्नो कम्पनीको ट्रेडमार्क दर्ता गरेर त्यस्तो पेटेन्ट तथा डिजाइनको हक प्राप्त गर्न सक्ने व्यवस्था समेत ऐनले गरेको छ । कोकाकोला, फेन्टा र माउन्टेन ड्यूको पेटेन्ट र डिजाइन
    उद्योग विभागमा प्रवक्ता विनोद खड्काले पहिले नै दर्ता भएर ट्रेडमार्क प्राप्त गरिसकेको कम्पनीको नाम र डिजाइन डिजाइनको नक्कल गर्नु गैरकानुनी हुने बताए । उनले साम्भवीले आफ्नो उत्पादनको पेटेन्ट र डिजाइनको स्वीकृति लिएको वा नलिएको वा त्यो उत्पादनले अर्को कुनै उत्पादनको नक्कल गरेको वा नगरेको अनुसन्धान गर्ने र त्यसरी नक्कल गरेको पाइए आवश्यक कारबाही गर्ने समेत बताए । कोकाकोला, फेन्टा र माउन्टेन ड्यूको ट्रेडमार्क भने विभागले दिइसकेको छ ।

    बान्डेड उत्पादनको नक्कल गरेर वस्तु लेभलिङ गर्दै आएको साम्भवी फुड्सले भने आफूले गरेका उत्पादनको नामको स्वीकृति विभागबाट लिएको तर डिजाइन लिन बाँकी रहेको जनाएको छ । कम्पनीका सञ्चालक पुष्प आचार्यले आफूहरुले उत्पादन गरेका सबै नामहरुलाई विभागले स्वीकृति दिए पनि डिजाइनमा स्वीकृति नदिएको बताए ।

    ‘हामीले नाम लिइसकेका थियौं, तर डिजाइन चाहिँ अरुसँग मिल्दोजुल्दो भएको भन्दै अर्को डिजाइन गरेर ल्याउन विभागले भनेपछि हामी अर्को डिजाइन बनाउनतिर लागेका छौं । डिजाइन तयार भइसकेको छ, अब विभागको स्वीकृति लिएर नयाँ लेभलिङ गर्न थाल्छौं’ उनले भने । उनले कम्पनी दर्ता भएको २÷३ महिना मात्रै भएको बताउँदै सुरुमा प्रस्ताव गरिएको डिजाइनको आधारमा उत्पादन सुरु मात्रै गरेको जिकिर समेत गरे ।

    पेटेन्ट, डिजाइन र ट्रेडमार्कको सम्बन्धमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता भने दिन प्रतिदिन ठगिँदै गएका छन् । पूराना र नाम चलेका वस्तुहरुको नक्कली उत्पादन बजारमा आउँदा उपभोक्ताले सक्कली वस्तुको पहिचान गर्न नसक्दा कमसल वस्तु उपभोग गर्नुपर्ने अवस्था देखिएको हो ।

    केही समय अघिमात्रै रेडबुलकै नक्कली उत्पालनको रुपमा ‘रेडब्लु’ नामक पेय पदार्थ बजारमा आएकोबारे पनि रातोपाटीले समाचार प्रकाशित गरेको थियो । ट्रेडमार्क चोरी गरी नक्कली उत्पादन बजारमा छ्याप्छ्याप्ती देखिइरहँदा पनि उद्योग मन्त्रालय र विभागले आवश्यक बजार अनुगमन र कारबाही गर्न सकेको भने देखिँदैन ।

    त्यसो त नेपालमा मात्रै नभएर विदेशमा पनि यस्ता घटनाहरु घटिरहन्छन् । केही समय अघिमात्रै युएईको एउटा हेयर सैलुनले ‘फेसलुक’ नाम राखेर सामाजिक सञ्जाल ‘फेसबुक’को जस्तै डिजाइन गरेको भन्दै फेसबुकले उजुरी गरेपछि उक्त सैलुन बन्द गराइएको थियो ।

    नेपालमा भने अनुगमन र उजुरी गर्ने प्रवृत्ति कम हुनु तथा उजुरीउपर हुने कमजोर कारबाही र दण्ड जरिवानाका कारण ट्रेडमार्कहरुको सही उपयोग हुन नसकिरहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…