• काठमाडौं । सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै ‘छाया सरकार’ बनाएको कांग्रेसले आफ्नो गतिलाई थप सशक्त बनाउने तयारी गरेको छ । सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउन लागेको हो ।

    त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आइतबार (आज)का लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमार्फत कांग्रेसले ‘छाया सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।

    कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो ।

    हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य छन् । उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार छ । कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन् । छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने कांग्रेसले बताउँदै आएको छ ।

    कांग्रेसको छाया सरकारमा दिलेन्द्रप्रसाद बडु गृह मन्त्रालयस्तरीय समितिको संयोजक छन् । यस्तै, मीनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्र्की ऊर्जा संयोजकको जिम्मेवारीमा छन् ।
    यसैगरी, उमाकान्त चौधरी सहरी विकास, किशोरसिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, वाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालस्तरीय समितिको संयोजक छन् ।
    छाया सरकारको खानेपानी मन्त्रीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्रराज कँडेल, श्रममा डिला संग्रौला, संचार समितिको संयोजकमा बहादुरसिंह लामा छन् । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…