गिरिजाप्रसाद कोइरालाको नाम लिएर गर्ने प्रायः प्रचण्डका भाषणमा झुटको गन्ध मिसिएको हुन्छ
काठमाडौं, ११ फागुन । नेकपा अध्यक्ष प्रचण्डको मुख्य उद्देश्य हुन्छ, कसरी हुन्छ भाषण गर्दा जनमानसलाई उत्तेजित बनाउने । जनतालाई उत्तेजित बनाउन उनले सहि बोले या गलत त्यो भने छुट्याउन सक्दैनन् ।
र, बेला बेलामा आलोचित बन्छन् । अहिले प्रचण्डलाई एउटा भाषणले त्यस्तै आलोचित बनाइरहेको छ ।
केहि दिन अगाडि प्रचण्डले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बारेमा व्यक्त गरेको धारणा नखाउ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार भइरहेको छ ।
आफ्नै पार्टीका अर्का अध्यक्ष र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले बहिस्कार गरेको फागुन १ गतेको जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले जनयुद्धको महत्व दर्शाउन नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको सहारा लिए, त्यो पनि सफेद झुट बोलेर ।
प्रायः जनयुद्ध दिवसका कार्यक्रममा कोइरालाको नाम बेचेर मासलाई उत्तेजित बनाउने प्रचण्डले अहिले पनि उनैको नाम बेच्न खोज्दा चिप्लिए । यतीसम्म कि कांग्रेसले विज्ञप्ति निकालेरै उनको धारणाको खण्डन ग¥यो ।
प्रचण्डले कोइरालाले आफूहरुलाई जनयुद्धका क्रममा ठुला ठुला आक्रमण गर्न उक्साउने गरेको बताएका थिए । तर, प्रजातन्त्र र लोकतन्त्रका लागि आफ्नो जीवन सूम्पेका कोइरालाले त्यस्तो गर्थे भनेर कसैले पत्याउने कुरै भएन ।
अहिलेमात्रै होइन प्रचण्डले कोइरालाको नाम देखाएर प्राय कार्यक्रममा भाषण गर्ने गर्छन । चाहे त्यो सेना समायोजनको विषय होस, या शान्तिप्रक्रियको । अनि आफूहरुलाई वार्तामा बोलाउने, कुरा नमिलाउने र पुन आक्रमण गर्ने विषयमा पनि कतै कतै प्रचण्डले गिरिजाको नाम जोड्ने गरेको पाइन्छ ।
तर, सबैभन्दा ठुलो सफेद झुट अहिलेको कार्यक्रममा बोलेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर खण्डन गरे । शर्माले प्रचण्डको उक्त झुटो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नु हुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।
बेलाबेला झुट बोलेर आफ्नो महत्व दर्शाउने नेकपा अध्यक्ष प्रचण्डको पुरानै रोग हो । विशेषगरी उनी आफ्नो जीवनको सबैभन्दा ठूलो भूल जनयुद्धलाई स्थापित गर्न अनेकन झुट बोल्ने गरेका छन् ।
फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो भनेर गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई यदि साँच्चै भनेका हुँदा हुन त त्यो संवादको कुरा कोइराला जीवित छँदै नै उनले ले पक्कै सार्वजनिक गर्थे होला ।
तर, कोइरालाको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् छ । प्रवक्ता शर्माले जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराएका छन् । अभियान टाइम्सका साथमा ।