'फागुन १२, बाँके । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन् ।
बाँकेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् ।
वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको पुष्टि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाइसकेको बताउँदै उनले सरकारमै रहेकाको संलग्नता देखिएकोले वर्तमान सरकार चलाउने नैतिक आधार प्रधानमन्त्री ओलीमा नभएको दावी गेर । सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने नेता कोइरालाले बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । सरकार र अख्तियार मिलेर बालुवाटारस्थित ललिता निवासको जमिन प्रकरणमा कांग्रेस निकट नेतालाई फसाइएको उनको जिकिर थियो ।