विराटनगर : पटक–पटक विवादमा मुछिदै आएको मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र’ नामक सुधार गृहभित्र एक युवाको मृत्यु शंकास्पद भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएका उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको शव शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा आइतबार साँझ भेटिएपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टी–सर्ट (भेष्ट)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको थियो । साँझ खोजी गर्ने क्रममा शौचालयमा झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी गृह सञ्चालकले आफन्त, परिवारका सदस्य र प्रहरीलाई गराएका छन् । आफन्त र परिवारका सदस्यले भने आत्महत्या नभइकन हत्या गरेर झुण्ड्याइएको र मृत्यु अस्वभाविक रहेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् । ‘सुधार गृहमा उपचाररत बिरामी युवाको शव झुन्डिएको अवस्थामा भेटिनु निक्कै शंकास्पद र गम्भीर विषय हो,’ विशालका मामा छत्रबहादुर प्रधानले भने, ‘घटना रहस्यमय रहेकाले छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै शव जिम्मा लिइएको छैन ।’
लागूऔषध तथा नशाजन्य वस्तुको दुर्व्यसन र कुलतमा फसेकालाई सुधार गर्दै समाजमा पुर्नस्थापना गर्न सहयोग पुर्याउने जिम्मेवारी सुधार गृहको हो । तर दुर्व्यसनी नभएका विशाललाई गैर कानुनी ढंगले राखिएको खुलेको छ । श्रीमती सम्झना लिम्बूकाअनुसार विशाललाई मानसिक समस्या देखिएको थियो । तर सुधार गृहका सञ्चालक आएर चार महिना (१२० दिन) भित्रमा उपचार गराएर पूर्ण रुपमा स्वस्थ्य बनाइदिने भनेपछि विश्वासमा परी जिम्मा लगाएर पठाइएको उनको भनाइ छ ।
‘मासिक १० हजार रुपैयाँ बुझाउनु पर्ने र निस्कने बेलामा एकमुष्ट ४५ हजार रुपैयाँ तिर्नुपर्ने सर्तमा श्रीमानलाई सुधार गृहको जिम्मा लगाइएको थियो,’ सम्झनाले भनिन्, ‘तर उपचार हुन्छ भनेर राखिएका श्रीमानको मृत्यु भएको भन्दै साँझ ६:३० बजे परिवारलाई शव बुझ्न बोलाइयो ।’
उनका अनुसार प्रहरी र परिवारका सदस्य पुग्दा झुन्डिएको भनिएको शौचालयको ढोका खुल्लै थियो । ‘उहाँ (विशाल)ले कहिलेकाही मादक पदार्थ भने सेवन गर्नु हुन्थ्यो,’ सम्झनाले भनिन्, ‘तर लागुऔषध सेवन गरेर दुर्व्यसनमा फसेको कुनै जानकारी छैन ।’ उनले मानसिक समस्या भएका व्यक्तिलाई दुर्व्यसनी भएका ठाउँमा लगेर राख्नुनै गलत भएको बताइन् । शव बुझ्न घरबाट दुई जनाभन्दा बढी नआउनु र अरुलाई नल्याउनु / नसुनाउनु भनेर बोलाइएकाले पनि घटनालाई शंकास्पद मानिएको सम्झनाको भनाइ छ ।
सुधार गृहमा धेरै यातना दिने गरिएको पनि थाहा भएको विशालका मामा छत्रबहादुरले बताए । यातना दिने क्रममा मृत्यु भएपछि लगेर शव झुन्ड्याइएको हुन सक्ने उनले बताए।
उर्लाबारी–२ का वडा अध्यक्ष राजन कँडेलले पनि घटनाको प्रकृति हेर्दा सामान्य मान्न नसकिने बताए । ‘शौचालयको भेन्टिलेसन झुन्डिएर आत्महत्या हुन सक्ने अवस्थाकै छैन,’ उनले भने, ‘२४ घण्टा नै निगरानीमा हुने दुव्र्यसनीलाई राखिने सुधार गृहमा यस्तो घटना हुनु निक्कै शंकास्पद छ ।’ कँडेलले लापबाही र गैरजिम्मेवारी पनका कारण पटक–पटक विभिन्न घटना भएर सुधार गृह विवादित बन्दै गइरहेको बताए ।
गृहका इन्चार्ज रविन्द्र दाहालले खाना खाने बेलामा खोजी गर्दा शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएपछि परिवार र प्रहरीलाई खबर गरिएको बताए । गाँजा र जाँड रक्सी खाने गरेका विशाललाई सुधारका लागि लिएर आएको उनको भनाइ छ । ‘विशाल मानसिक रोगी पनि रहेको कुरा चिकित्सकले प्रमाणित गरेर दिएको कागज पनि हामीसँग छ । उ नियमित औषधि पनि सेवन गरिरहेको थियो,’ दाहालले भने, ‘हेर्दा सामान्य देखिए पनि मानसिक समस्याकै कारण केही सोच्न नसकेर आत्महत्या गरेको हुन सक्छ । तर कुनै यातना र तनाव दिइएका कारण घटना भएको हैन ।’ उनले झुन्डिएको देखेपछि उपचार गरेर बचाउन सकिन्छ कि भनेर ढोकाको चुक्कुल फुटाइए पनि मृत्यु भइसकेका कारण सम्भव नभएको बताए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले मृत्युलाई शंकास्पद मानेर घटनाको अनुसन्धान सुरु गरिएको बताए । ‘परिवारका सदस्यले पनि घटनाका विषयमा जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘शवको पोस्टमार्टमपछि घटनाका बारेमा धेरै कुरा खुल्ने छ ।’ राईले दुर्व्यसन र कुलतमा फसेकालाई सुधार्न राखिने सुधार गृहमा किन मानसिक रोगीलाई राखिएको हो भन्ने बारेमा पनि अनुसन्धान केन्द्रित हुने जानकारी दिए।
इन्सपेक्टर राईले यातना दिएर वा कुटपिट गरेर आत्महत्या गर्न बाध्य पारिएको प्रमाणित भएमा गृह सञ्चालकमाथि कानुन अनुसार कारबाही अघि बढाइने बताए।
‘दुर्व्यसनमा फसेकालाई सुधार गृहमा राख्न नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकले सिफारिस गरेपछि प्रहरीसँग पनि समन्वय गरिनुपर्छ,’ राईले भने, ‘त्यहाँ कुनै प्रक्रिया पूरा गरे/नगरेको विषयमा पनि अनुसन्धान हुनेछ ।'
भित्रै शंकास्पद मृत्यु हुने घटनाका कारण यो सुधार गृह पटक–पटक विवादमा आइरहेको छ । वडा अध्यक्ष कँडेलले उचित हिसाबबाट आवश्यक ‘काउन्सिलिङ’ गरेर सकारात्मक सोंचको विकास गराउँदै समाजमा पुर्नस्थापना हुने वातावरण दुव्र्यसनीका लागि तयार पार्नु पर्ने दायित्व सुधार गृहको हुने बताए ।
सुधार गृहबाट निस्किएकाहरुले सुधारका नाममा दिइने यातना निक्कै निर्मम र दर्दनाक खालको हुने गरेको सुनाएको उनको भनाइ छ । सुधार गृह भित्र ‘नजरबन्द’ जस्तो राखेर लात्ता, मुड्की, लाट्ठी तथा पाइपले कुटपिट गर्ने र बिरामी हुँदा उपचार नगराउने एवं परिवारका सदस्यलाई समेत भेट्न नदिइकन विभिन्न तरिकाले यातना दिने गरिएको स्थानीयको भनाइ छ ।
उक्त सुधार गृहमा उर्लाबारीका च्याङ्वा भनिने दावा तामाङको २०७३ साल साउन १२ गते मृत्यु भएको थियो । गृहले ब्रेनह्यामरेजका कारण मृत्यु भएको बताए पनि आफन्तले भने कुटपिट र यातनाका कारण मृत्यु भएको बताउँदै आएका थिए । दवाब र प्रभावकै भरमा त्यतिबेला पनि घटनालाई सामसुम पार्ने काम भएको थियो ।
२०६२ सालबाट सञ्चालित सुधार गृहमा अहिले सुधारका लागि भनेर ३९ जनालाई राखिएको छ । उर्लाबारी–४ मा भाडाको घरमा सञ्चालित गृह गत मंसिर १२ गतेबाट भने आफ्नै भवनमा सरेको छ । गृहको नव निर्मित भवनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए ।
प्रदेश सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, व्यापारी र दाताहरुको सहयोगमा ८५ लाख रुपैयाँ खर्च गरेर नयाँ संरचना तयार गरिएको गृहका इन्चार्ज दाहालले बताए । जनप्रतिनिधि, बुद्धिजीवी, प्रतिष्ठित व्यापारी, सुरक्षा निकायका अधिकृतलगायत यो गृहका सल्लाहकार छन् ।अन्नपूर्णपोष्टबाट
https://www.youtube.com/watch?v=aX3zHKY_-bs&t=1s