काठमाडौं, १३ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे ।
प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि चिनेन होला भन्दै उनले भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्यो होला ।’
प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’
‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’ उनको प्रश्न थियो ।
कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए ।