• काठमाडौं । सत्तारुढ नेकपाभित्र सरकार परिवर्तनको गृहकार्य तीव्र रूपमा अघि बढिरहेको छ, तर प्रधानमन्त्री केपी ओलीले थप चलखेल गर्नसक्ने भन्दै गृहकार्यलाई अत्यन्त गोप्य राखिएको बुझिएको छ । संविधानमा बहुमतप्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । संसदीय दलको नेता पदबाट ओलीलाई हटाएर जसलाई नेता बनाइन्छ, उसैलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ । संविधानको यही प्रावधानअनुसार सरकार परिवर्तनको गृहकार्य सुरु भएको हो ।

    पार्टीभित्रको गणित र पुष्पकमल दाहाल प्रचण्डको षड्यन्त्रभन्दा पनि आफ्नो स्वास्थ्यका कारण प्रधानमन्त्री पद धरापमा परेको महसुस ओलीले गरेका छन् । यही फागुनको अन्तिम साता उनको मृर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मृगौला प्रत्यारोपणपछि करिब तीन महिना अस्पतालमै र थप तीन महिना घरमै बेडरेस्ट गर्नुपर्ने भएकाले विदेश नजाने सोचाइ ओलीले बनाएका छन् । यति लामो समयसम्म विदेशमा बस्दा प्रधानमन्त्री पद छाड्न थप दबाब आउने भएकाले ओलीले स्वदेशमै उपचार गर्ने निधो गरेका हुन् । जसका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिसकिएको छ, साथै अमेरिका र भारतबाट विज्ञ डाक्टरहरू झिकाइसकिएको छ । मृगौला दानका लागि ससुराली खलकका एक पुरुष
    तथा आफ्नै खलककी एक महिलाको स्वास्थ्य परीक्षण गरी तयारी अवस्थामा राखिएको छ । अस्पतालमा बसुन्जेल उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक दिने र बालुवाटारमा रेस्ट गर्न सुरु गरेपछि आफैले सम्हाल्ने मानसिकता प्रधानमन्त्री ओलीले बनाएको बुझिएको छ ।

    मुलुकका लागि विरामी प्रधानमन्त्री के कारणले बाध्यता प¥यो ? भन्ने प्रश्न दोस्रा अध्यक्ष प्रचण्डबाटै उठाउन थालिएका कारण आफ्ना लागि अनुकूल वातावरण बन्दै गएको उनले महसुस गरेका छन् । तर तत्कालीन एमाले पार्टी पंक्ति भने प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न कुनै पनि हालतमा तयार छैन । माधवकुमार नेपालले बाजी मार्ने सम्भावना देखिएपछि प्रचण्ड मैदानमै उत्रिएर सरकारविरुद्ध लागेका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका माधव नेपालको भविष्य प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मुठीभित्र परिसकेको प्रचण्डको बुझाइ थियो ।

    तर फागुन २ गते प्रधानमन्त्री ओलीका तर्फबाट गोकुलप्रसाद बास्कोटा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वरस्थित नेपालकै घरमा बैठक चलिरहेका बेला अकस्मात प्रचण्डको प्रवेशपछि जनार्दन शर्माको सक्रियतामा टेप प्रकरण सार्वजनिक गरिएको बुझिएकाले पनि नेकपाभित्रको षड्यन्त्र विस्फोटको अवस्थामा पुगेको हो ।

    आफ्नाविरुद्ध प्रचण्डले गृहकार्य गरिरहेको संकेत प्रधानमन्त्री ओलीले पाएको बुझिएको छ, तर ओली खासै डराएका भने छैनन् । दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने, एकपटक अविश्वासको प्रस्ताव ल्याइसकेपछि अर्को दुई वर्षसम्म ल्याउन नपाइने व्यवस्था संविधानमा छ ।

    संविधानको यो व्यवस्था सत्तारुढ पार्टीको संसदीय दलमा पनि लागू हुन्छ भन्ने व्याख्या प्रधानमन्त्री ओली निकटस्थ कानुनविद्हरूको छ । नेकपा संसदीय दलका उपनेता एवं तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ प्रधानमन्त्री ओलीका कानुनी सहयोगी पनि हुन् । उनको व्याख्याले पनि प्रधानमन्त्री ओली ढुक्क देखिएका छन् । नेम्वाङको व्याख्या छ– ‘संविधानतः प्रधानमन्त्रीका लागि पाँच वर्षको कार्र्यकालमा एकपटक मात्रै खड्गो आउँछ ।’ दुई वर्ष पूरा भएका कारण प्रधानमन्त्री ओलीको खड्गो सुरु भएको छ ।

    सबैभन्दा माथिल्लो निकाय सचिवालयदेखि केन्द्रीय समितिसम्म प्रधानमन्त्री ओली अल्पमतमा छन् । तर संसदीय दलमा भने ओलीको सामान्य बहुमत छ । संसदीय दलको त्यो सामान्य बहुमत पछिल्ला दिनमा धेरै नै पातलो हुँदै गएको छ । ‘आफू पनि भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने प्रधानमन्त्री ओलीका लागि केही समययताका भ्रष्टाचार प्रकरण निकै पेचिला बनेका छन् । खासगरी यति होल्डिङ्सलाई दिइएको जग्गा प्रकरणमा प्रधानमन्त्री ओली जोडिएका छन् । हालै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको केसमा पनि प्रधानमन्त्रीको घाँटी जोडिएको घटना नेकपाको पंक्तिभित्र सनसनी रूपमा फैलिएको छ ।तरुण खबरमा समाचार छ ।

    समाचार स्रोतका अनुसार मन्त्री बास्कोटाले २७ अर्ब रुपैयाँमै स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदको कुरा अघि बढाएका थिए, तर प्रधानमन्त्री केपी ओलीले पार्टी चलाउन थप रकम आवश्यक पर्ने भन्दै ‘करोडको कुरा किन अर्ब नै आम्दानी हुने गरी अघि बढाऊ न’ भनेर उकासेको बुझिन्छ । प्रधानमन्त्री ओलीको निर्देशनमै यो काण्ड भएको यथार्थता नेकपाका प्रायः सबै सांसदले थाहा पाइसकेका छन् । जसका कारण पनि प्रधानमन्त्री ओली संसदीय दलमा अल्पमतमा पर्ने सम्भावना बढेर गएको छ । ओलीले राजदूत, पाण्डे थरका एजेन्ट र यती होल्डिङ्सका आङछिरिङसहितको संयुक्त मिटिङ बालुवाटारमै बोलाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…