काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा सरकारका उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले हिरो हुने रहरले फेरि पछिल्लो पटक सिंगो राजनीतिलाई तरंगित बनाइदिएको छ ।
बैठकमा भएका छलफलमा चुँसम्म नबोल्ने तर बाहिर निस्कनासाथ सूचना चुहाएर राजनीतिक कदम बढाउन खोज्ने उनको शैलीमा अझै ब्रेक लागेको छैन ।
विगतमा पार्टी एकता प्रक्रियाविरुद्ध पनि सामाजिक सञ्जाल अन्ठसन्ठ लेख्दै एकता प्रक्रियालाई नै अवरुद्ध गर्ने प्रयत्न गरेका उनले पछिल्लो समय संविधान संशोधन सम्बन्धी कार्यदल गठनको विषयलाई आफू हिरो बन्ने औजारका रुपमा उपयोग गरेका छन् ।
स्रोतका अनुसार सचिवालय बैठकमा जब यस सम्बन्ध छलफल चलिरहेको थियो, त्यहाँ उनी एक शब्द पनि बोलेनन् । चुप बसे । तर, बैठक सकेर बाहिर निस्कनासाथ केही सञ्चारकर्मीलाई आफैंले फोन गरेर सूचना प्रवाह गरे । जब विषय छरपस्ट रुपमा बाहिर आयो, सर्वत्र त्यो कुराको आलोचना भयो अनि ट्विट गरेर आफूलाई पानीमाथिको ओभानो बनाउन तम्सिए ।
उनले लेखे, अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ । मानिसहरु उदेक मान्दैछन् । केका लागि संशोधन । खराखरी बहस गर्ने बेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरे । कति दिन चल्छ–कसरी चल्छ ?
राजनीति गरिन्छ, जुवा खेलिन्न । सचिवालय बैठक मात्र होइन, मन्त्रिपरिषद् बैठकमा पनि संवेदनशील विषयमा हुने छलफलमा नबोल्ने र बाहिर आएर बैठकमा के विषयमा छलफल भयो, कसले के भने सारा कुरा बाहिर चुहाउने गरेको शंका वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यले पोखरेलमाथि नै गर्दै आएका छन् ।
पार्टी एकतापछि आफू पार्टी भूमिकामा आफूलाई पछि पारेको अनुभूति गरेका उनले आफ्नो प्रभाव बढाउने प्रयासका रुपमा यस्ता छिचरा काममा संलग्न हुन थालेको बताइन्छ ।
खतिवडा नहट्ने
राजनीतिक बजार वामदेव गौतमको इन्ट्री र अर्थमन्त्री डा.युवराज खतिवडाको बर्हिगमनको हल्लाले गमाईरहेको छ । त्यही हल्लाले सेयर बजारलाई राहत दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नै निकटस्थहरुलाई समेत चक्मा दिँदै उनै खतिवडालाई थप जिम्मेवारीसमेत सुम्पिएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको नियत राखेको आरोप लाग्ने अडियो प्रकरण बाहिरिएपछि प्रधानमन्त्री ओलीका दाहिने हात मानिने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्केटाले राजीनामा दिए ।
उनको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले उनै खतिवडालाई दिएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनीत सांसद खतिवडाको दुई वर्षे कार्यकाल २१ फागुनबाट सकिँदैछ । त्यसपछि संविधानअनुसार बढीमा ६ महिना मात्र उनले मन्त्रीमा निरन्तरता पाउन सक्नेछन् ।
यति जान्दाजान्दै पनि दोस्रो वरियताका मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित बाँकी २२ मन्त्रीको सट्टा उनै खतिवडालाई रिक्त मन्त्रालको जिम्मेवारी सुम्पिनुको पछाडि प्रधानमन्त्रीले बेग्लै सन्देश दिन खोजेको अर्थमा विश्लेषण गरिएको छ ।
पहिलो त कार्यकाल सकिन लागे पनि नयाँ जिम्मेवारी पनि दिएर प्रधानमन्त्री ओलीले उनलाई नै भरपर्दो अर्थमन्त्रीका रुपमा निरन्तरता दिन चाहेको सन्देश दिएका छन् । दोस्रो, पार्टीभित्र भरपर्दो अर्को नेता खतिवडाको विकल्पमा मन्त्रालय सम्हाल्ने ओलीले नदेखेको सन्देश दिएका छन् ।
त्यसो त पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अर्थमन्त्रीमा लामो समयदेखि चर्चा रहे पनि आफ् नो समूहमा नभएका कारण भर गर्न नसकेको सन्देश पनि ओलीले दिएको विश्लेषण गरिएको छ । तेस्रो, बाँस्कोटाको बर्हिगमनपछि सरकारको प्रतिरक्षा गर्ने विश्वासिलो प्रवक्ता खतिवडा नै हुन सक्ने उनको बुझाइ छ, बुधबारमा उल्लेख छ ।
त्यसो त टेक्नोक्रेट पृष्ठभूमिका खतिडा अनुशासनमा कडा मात्र होइन, निट एन्ड क्लिन छविका पनि मानिन्छन् । अर्कोचाहिँ पार्टीभित्रै वा बाहिरतिर सरकारविरुद्ध षड्यन्त्र गर्न खोज्नेलाई पनि तत्काल त्यस्तो कुनै सम्भावना नरहेको सन्देश पनि खतिवडाको निरन्तरताबाट ओलीले दिन खोजेको बताइएको छ ।