काठमाडौं, १५ फागुन । मुख्यमन्त्रीद्वय शेरधन राई र डोरमणि पौडेललाई सत्तारुढ दल नेकपाले फिर्ता बोलाउने तयारी गरेको छ ।
केन्द्रमा समेत सरकारको नेतृत्व गरेको नेकपाले उनीहरुको काम सन्तोषजनक नदेखिएको भन्दै फिर्ता बोलाउने तयारी गरेको निकटस्थ स्रोतले बतायो ।
प्रदेश १ का मुख्यमन्त्री राई र वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।
नेकपा स्रोतले प्रदेश १ र वाग्मती प्रदेश सरकारविरुद्ध जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना रहेको जनायो ।
नेताद्वयको काम गर्ने स्वेच्छाचारी शैलीविरुद्ध नेकपाका सांसदहरू मात्र होइन, शीर्ष नेतृत्व पनि असन्तुष्ट बनेको निकटवर्तीहरु बताउँछन् ।
राई र पौडेल आफ्ना प्रदेश संसदीय दलमा अल्पमतमा रहेपनि बलजफती आफ्नो स्वार्थ अनुकुलका काम गरिरहेको पार्टी समितिले नेतृत्वलाई रिर्पोट बुझाएको बताइएको छ ।
बहुसंख्यक सभासद्को सुझाव विपरित बलजफ्ती प्रदेश राजधानी तोक्ने निर्णय गरेका बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले सरकार पुनर्गठनमा पनि पार्टीभित्र प्रक्रियागत रूपमा कुनै छलफल नै नगरी एकलौटी गरेको आरोप छ ।
प्रदेश समितिका नेतासँग कहिल्यै छलफल नै नगरी सिधै बालुवाटारको पहुँचको धाक देखाएर निर्णय लिँदा नेताहरु रिसाएका छन् ।
पौडेलको पछिल्लो मन्त्रीमण्डल पुनर्गठनबाट पूर्वमाओवादीको शीर्ष तहका नेताहरू असन्तुष्ट छन् ।
अध्यक्ष ‘प्रचण्ड’को भनाइ वेवास्ता गर्दै मुख्यमन्त्री पौडेलले रामेश्वर फुयाँललाई मन्त्री नियुक्त गरेपछि उनको पद धरापमा परेको हो । अभियान टाइम्सका साथमा ।