फागुन १६, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले पुस्तक आयातमा १० प्रतिशत भन्सार कर लगाएकोमा विरोध जनाउँदै पुस्तकमा लगाइएको करका सन्दर्भमा आफु बहस गर्न तयार रहेको बताएका छन् ।
बिहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पनि सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले बाह्य मुलुकबाट आयातित पुस्तकमा कर लगाइएको बताउँदै ज्ञानमा कर नलगाइएको बताएका थिए । उनले पुस्तकमा कर लगाइएको सन्दर्भमा आफु बहस गर्न तयार रहेको समेत बताएपछि अर्थमन्त्री समेत रहेका प्रवक्ताको भनाईलाई चुनौति दिँदै गगन थापाले पुस्तक माथिको कर पठक संस्कृति र पढ्न पाउने अधिकारसँग जोडिएको भन्दै पुस्तक करको विषयमा आफु बहस गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका थापाले नागरिकले पढ्नु सरकारका लागि चुनौति बनेको हो भने एक नेपालीले वर्षमा कति पुस्तक पढ्न पाउनु पर्ने हो त्यो पनि बताउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
थापाले पुस्तकमाथि लगाइएको करको विषयमा बहस गर्न आफु तत्पर रहेको बताउँदै भनेका छन्–‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु ।’ मन्त्रीज्यू हामी पनि तयार छौँ । बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’
थापाले पढ्न नियन्त्रण गर्ने सरकारको प्रयासका विरुद्ध सदन र सडकबाट खबरदारी गर्ने समेत बताएका छन् ।
सरकारले पुस्तक आयातमा १० प्रतिशत कर लगाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । पुस्तक ब्यवसायी, प्रकाशन गृहले पनि सरकारको निर्णयको विरोध गरिरहेका छन् ।
सरकारले भने स्वदेशी उद्योगको संरक्षणका लागि पनि पुस्तकमा कर लगाइएको जिकिर गरेको छ । अर्थमन्त्री खतिवडाले अर्बौं लगानी गरेका स्वदेशी लगानीको संरक्षणका लागि आयात हुने किताबमा कर लगाइएको जनाएका छन् ।