काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोही पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष गल्दै गएको देखिएको छ । ओलीका सबै अडानहरु विगतमा जस्तै चट्टानी पाराले नटिक्ने र मैनझैं गल्दै जाने अवस्था आएको छ । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने भनी सचिवालय बैठकले गरेको निर्णय ठाडै अस्वीकार गरेका ओलीलाई गलाउन प्रचण्ड र अरु शीर्ष नेताले रणनीतिक रुपमा दवाव दिएको बुझिएको छ ।
यसैवीच प्रचण्डले गृहजिल्ला चितवन पुगेर ओलीको अडान धेरैदिन नटिक्ने सन्देश दिएका छन् । उनले पार्टीका पत्रकारहरुको संगठनले शुक्रबार त्यहाँ आयोजना गरेको भेलामा उपाध्यक्ष वामदेव गौतम नै राष्ट्रिय सभामा मनोनीत हुने ठोकुवा गरेर यस्तो सन्देश दिएका हुन् । उनले प्रधानमन्त्री ओलीले गौतमलाई नै सिफारिस गर्ने दावी पनि गरेका छन् ।
प्रचण्डको भनाई छ, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले बुझेको त्यति हो ।”
प्रधानमन्त्रीले गौतमलाई सिफारिस नगरे त्यसपछि के हुन्छ भन्ने बारेमा आफूले अहिले नै त्यतातिर जान नचाहेको प्रचण्डको भनाई छ । उनले आफूलाई प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्ने छैनन् भन्ने विश्वास भएको पनि बताएका छन् ।
‘म यस्तो कुरा कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ’ उनले भने ।
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए ।
संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने बताए ।
उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको भन्दै प्रचण्डले भने, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।”