• ललितपुर : महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले काखे बालक बोकेकी महिलामाथि अन्धाधुन्ध लाठी बर्साएका छन्। महिला समूहले ललितपुर भैंसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा तोडफोड गरेकाले बल प्रयोग गर्नुपरेको प्रहरी दाबी छ।

    प्रहरीले जुम्ल्याहा बच्चासहित पुगेकी हेमा श्रेष्ठमाथि प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरी लाठीबाट उनको ढाडमा नीलडाम बसेको छ। श्रेष्ठले आफूले जर्नेलको घरमा गएर कुनै अप्रिय कार्य नगरेको दाबी गरेकी छन्। खत्रीको घरमा पुगेर मेचमा बसेर बच्चालाई दूध खुवाउँदै गर्दा प्रहरीले लाठी हानेको उनको भनाइ छ। उनले भनिन्, ‘हामी भित्र थियौं, तपाईंहरू हट्नुस भनेर अन्धाधुन्ध हान्न थाले’, उनले भनिन्।

    पूर्वजर्नेल खत्रीलाई पति दाबी गर्ने माला शाहसहित एक हुल महिला घरमा पुगेका थिए। अभियन्ता श्रेष्ठले विगत लामो समयदेखि शाहले न्याय पाउनुपर्ने र मानवअधिकार रक्षा हुनुपर्नेमा आवाज उठाउँदै आएकी छन्। यस विषयमा महिलाको समूहले खत्रीको घरमा दिनहुँजसो धर्ना दिँदै आएको छ।

    किन बर्षियो बच्चा बोकेकी महिलामाथि लाठी ?
    प्रहरी निरीक्षक पौडेलले महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जाल भाइरल भएको छ। महिलामाथि पुरुष प्रहरीले आक्रमण गरेको घटनाबारे सर्वत्र आलोचना भएपछि ललितपुर प्रहरीले छानबिन समिति गठन गरेको छ। एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको परिसरका प्रमुख टेकप्रसाद राईले बताए।

    ‘छानबिन समितिले जस्तो सिफारिस गर्छ, त्यही लागू हुन्छ,’ राईले भने, ‘त्यसरी पिट्नु हुँदैन थियो। छानबिन समितिले किन, कसरी, के कारण हात उठाउनुपर्‍यो भन्ने प्रश्नको जवाफ खोज्नेछ ? ’ खत्रीको घरमा हुलदंगा गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    शाहले पूर्वजर्नेल खत्री दुई दशकदेखि सँगै बसेकाले आफ्ना पति भएको दाबी गर्दै आएकी छन्। प्रहरीका अनुसार खत्रीले भने शाह पत्नी नभएको भन्दै अस्वीकार गर्दै आएका छन्। खत्री र शाहबीच महानगरीय प्रहरी परिसर ललितपुरले सातपटक छलफल गराएको थियो। निष्कर्ष निस्किएपछि अदालत जाने सहमति भएको एसएसपी राईले बताए। उनले भने, ‘तर शाह न अदालत जानुभयो, न मुद्दा हाल्नुभयो।’ शाहले पटकपटक गरेर खत्रीले आफूसँग २० लाख रुपैयाँ लिएको दाबी गरेकी छन्। अन्नपुर्ण पोष्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…