• काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र र बाहिरबाट घेराबन्दी भएको छ । राष्ट्रियसभामा वामदेव गौतमलाई मनोनित गर्न नेकपा सचिवालयले गरेको निर्णय ओलीको असन्तुष्टिका बाबजुद थियो । सर्वसम्मतले निर्णय गरेको भनिएपनि गौतमको विषयमा निर्णय लिंदा ओली अल्पमतमा परेका थिए । तर, यसलाई मान्नैपर्ने वाध्यता नभएको ओली पक्षको जिकिर छ ।

    राष्ट्रियसभामा मनोनित गर्ने अधिकार सरकारको भएको र पार्टीले सुझाव मात्र दिनसक्ने प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार राजन भट्टराईले रिपोर्टर्स नेपालमा शुक्रबारको कार्यक्रममा बोलेका छन् । ओली गौतमको साटो डा. युवराज खतिवडालाई मनोनित गर्ने पक्षमा अझै अडिग छन् । उनलाई सम्झाउन वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक प्रयास गरिसकेका छन् ।
    ओलीले पार्टी निर्णय २० फागुनसम्म मान्नुपर्ने गरी प्रतिक्षा भइरहेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सम्भवत राष्ट्रियसभाको मनोनित सदस्यका लागि नाम सिफारिश गर्नेछ । कुरा नमिले मंगलबारका लागि बैठक बस्न सक्छ । त्यतिबेला वामदेवको नाम सिफारिश हुनेमा अध्यक्ष प्रचण्डलगायतका नेताहरु आशावादी छन् । तर, ओली अझै गौतमलाई रोक्न माधव नेपालसँग बारम्बार छलफल गर्दै आएका छन् ।

    विश्वस्त स्रोतका अनुसार गौतम पक्षले २० फागुनसम्म कुर्ने र नभए २१ गते कडा कदम चाल्ने रणनीति बनाएको छ । पार्टीभित्र र बाहिर एकैपटक ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी सम्म बनिसकेको छ । यो अवस्था आउन नदिन नेकपा नेताहरु कुरा मिलाउन लागिपरेका छन् । गौतमले बरु माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि साथ दिने तर पछि नहट्ने गरी तयारी गरेको बुझिएको छ ।

    विकसित घटनाक्रमले आफूलाई हटाउने षड्यन्त्र भइरहेको प्रधानमन्त्री ओलीले फागुनको पहिलो हप्ता झापा पुगेर बोलिसकेका छन् । उनले आफू पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने र त्यसमा अवरोध भएमा मध्यावधीसम्म जानेबारे निकटस्थलाई योजना सुनाएको बुझिएको छ । ओली निकट विश्वस्त स्रोतका अनुसार तत्काल हटाउने कदम चालिए मध्यावधी चुनावमा जाने अवस्था पनि बन्न सक्छ । ओलीले मध्यावधीलाई अस्त्रका रुपमा राखेका छन् ।

    नेकपाभित्र चर्केको विवादमा अहिले पाँच प्रभावशाली नेतामध्ये ओली एक्लै छन् । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतमका अलावा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि विपक्षमा उभिएका छन् । नेपाल मध्यमार्गी भएर सहमति निकाल्न सक्रिय हुनथालेका छन् । महासचिव विष्णु पौडेलले ओलीको साथ छाडिदिएका छन् । सचिवालयमा ओलीलाई ईश्वर पोखरेलको मात्र साथ छ । पछिल्लो समय नारायणकाजी श्रेष्ठ मौन देखिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…