गंगाधार गौतम
नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटेको छ । १३औं महाधिवेशनमा पार्र्टीका पाँच लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा सात लाख ५० हजार सक्रिय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा छ । देशभित्र ७६ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समितिमार्फत पार्र्टीको सञ्जाल जोडिएको छ ।
विदेशमा रहेका ८० लाखभन्दा बढी नेपालीमध्ये लोकतन्त्रमा आस्था राख्नेहरूलाई नेपाली जनसम्पर्क समितिको छातामार्फत आबद्ध गरिएको छ । तत्कालीन नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले भारतको मुम्बईबाट १९७६ मा विदेशमा बस्ने नेपालीलाई देशसँग जोड्न नेपाली जनसम्पर्क समितिको परिकल्पना गरेका थिए । २०४६ सालको जनआन्दोलन पनि नेपाली कांग्रेसको सरकारले ल्याएको उदार नीतिका कारण नेपालीको विश्व श्रम बजारमा पहुँच पुगेको हो ।
५० को दशकमा नेपालमा भएको जनयुद्धले नेपाली कांग्रेसका हजारौं कार्यकर्ता विदेशमा विस्थापित भए । देश छाडे पनि आफ्नो राजनीतिक आस्था छोड्न सकेनन् । जनसम्पर्क समितिमार्फत पार्र्टीमा सक्रिय छन् । उनीहरूले देशमा नेपाली कांग्रेसको उज्वल भविष्य हेर्न चाहेका छन् । पार्र्टी बलियो होस् भन्ने चाहना उनीहरूको छ । विदेश बसाईकै क्रममा हजारौं नेपालीले बाध्यता वा स्वेच्छाले विदेशी नागरिकता प्राप्त गरेका छन् ।
हजारौंको संख्यामा नेपालीले विदेशी नागरिकता लिएपछि उनीहरूलाई पनि राष्ट्र निर्माणमा जोड्न नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको हो । तर नेपालीलाई विश्व बजारमा ढोका खोल्ने राजनीतिक दल नेपाली कांग्रेसको विधानले गैरआवासीय नेपालीको नागरिकताबारे मौन रहनु आश्चर्य हो ।
पार्र्टीको सक्रिय सदस्यता प्राप्त गर्न विदेशमा भए पनि अनिवार्य नेपाली नागरिकता हुनुपर्ने अनुदार व्यवस्था नेपाली कांग्रेसले गरेको छ । त्यसले लोकतन्त्रमा आस्थावान विदेशमा बस्ने नेपालीलाई पार्र्टी सञ्जालबाट बाहिर धकेलिदिएको छ । पार्र्टीको पछिल्लो नियमावली र केन्द्रीय परिपत्रले गत १३ औं महाधिवेशनमा भाग लिएका झन्डै १५ हजार सक्रिय सदस्यमध्ये अब एक हजार दुई सयले मात्र १४औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् । यो व्यवस्थाले दसौं हजार सक्रिय सदस्यहरू पार्र्टी पहुँचभन्दा बाहिर रहने छन् ।
नेपाली जनसम्पर्क समितिका सन्दर्भमा आएको पछिल्लो नियमावली संशोधनबिना नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्न सम्भव नै देखिँदैन । नेपाली कांग्रेसका हजारौं कार्यकर्ता र दशौं हजार सदस्य नेपाली कांगेसको क्रियाशील सदस्यता नवीकरण गर्न र नयाँ लिनबाट वञ्चित हुने गरी सार्वजनिक गरिएको नेपाली कांगेसको नियमावली संशोधन गर्नुबाहेक पार्टीसँग कुनै विकल्प देखिँदैन ।
घरदेश होस् वा विदेशमा रहँदा लोकतन्त्र र नेपाली कांगेसको लागि अमूल्य योगदान गरेको समूह अहिले डायस्पोरामा छ । विगतमा भएका महाधिवेशनमा पार्र्टीले ठूलो आर्थिक लाभसमेत प्राप्त गर्दै आएको थियो । नेपाली कांगेसको १३औं महाधिवेशनको निर्वाचन परिणाम र प्रवास शाखाबाट प्राप्त मतको आधार तय गरेर आगामी १४औं महाधिवेशनलाई मुख्य केन्द्रबिन्दु बनाएर अघि सारिएको पार्र्टी नियमावली खारेजी हुनुपर्ने अधिकांश सदस्यहरूको चाहना छ ।
पछिल्लो निर्णय पहिलो पुस्ता मात्र होइन, नयाँ पुस्तालाई पार्र्टीको मूलधारबाट बाहिर पार्ने छ । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको एकपल्टको नेपाली सधैंको नेपाली भन्ने मूल मर्मलाई आत्मसात गरेको पाइँदैन । वर्तमानलाई मात्र नहेरेर अबको दश वर्षपछि हाम्रा सन्ततिलाई (दोस्रो पुस्ता) नेपालसँग कसरी जोड्ने चिन्ता र चासो एकातिर सबैको छ भने एक दशकपछि नेपाली कांग्रेसले तय गरेको हालको मापदण्ड पूरा गरेर विदेशमा नेपाली जनसम्पर्क समितिको अस्तित्व रहला भन्न सकिन्न ।
नेपाली कांगेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमा भएका केही धारालाई आगामी १४औं महाधिवेशनमा छलफल गर्ने गरी निलम्बन गरेको छ । नेपाली जनसम्पर्क समितिको गठन र पार्र्टीको महाधिवेशनमा गर्ने प्रतिनिधित्वका विषयमा पार्र्टीको १४औं महाधिवेशनमा छलफल गर्ने गरी आगामी बैठकमार्फत
यो धारा निलम्बन गरी जनसम्पर्क समितिहरूले महाधिवेशनमा स्वभाविक रूपमा सहभागिताको ग्यारेन्टी नभएसम्म कांग्रेस महाधिवेशनकै औचित्यमाथि प्रश्न उठ्न सक्छ ।
विदेशमा रहेका १५ हजार सक्रिय सदस्यलाई बाहिर राखेर गरिने महाधिवेशनले कांग्रेसले कांग्रेसलाई जोड्न सक्दैन । बरु पार्र्टी कार्यकर्ता पलायन हुने खतरा बढ्छ । डायसपोरामा नेपाली कांग्रेसको सञ्जाल समाप्तै भएर जाने छ । त्यसैले नेपालको संविधानको धारा १४ मा भएको गैरआवासीय नेपाली नागरिकताको अस्तित्वलाई पार्र्टीले स्वीकार गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीलाई पार्र्टीको मूलधारमा जोड्न ढिला गर्न‘ हुँदैन ।
(लेखक नेपाली जनसम्पर्क समिति बेल्जियमा पूर्वसभापति हुन्)