फागुन १८, काठमाडौं । विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को रोकथाममा सरकार जुटेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाभाइरसको जोखिममा रहेको चेतावनी दिएलगत्तै सरकार कोरोना रोकथामको पूर्व तयारीमा जुटेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तयारीका लागि शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूको बैठक बोलाएका थिए । बैठकले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी गर्ने र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । कोरोनाको निरन्तर अनुगमन र निगरानी गर्नका लागि गठन भएको समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्य मन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य छन् ।