उर्लाबारी । आफुलाई पत्रकार बताउने एक व्यक्तिले बुधबार उर्लाबारीमा विभिन्न निजी विद्यालयका संचालकहरुलाई थर्काउदै रकम माग गरेको खुल्न आएको छ ।
मोरङ सुन्दरहैचा दुलारीका पुष्प सिग्देलले फोनमार्फत र प्रत्यक्ष भेटेरै रकम माग गरेका हुन् । सिग्देल र अर्का एकजना व्यक्तिले आफुहरु कान्तिपुर पोष्टको पत्रकार भएको भन्दै बोर्डिङहरु गैरकानूनी हिसाबले चलेकोले त्यसको खुलासा गरिदिन रिर्पाेटिङमा उर्लाबारी आएको बताएका थिए । उनीहरुले लामो बार्गेनिङ गरेपछि मोटो रकम माग गरेको स्थानीय बेथेल एजुकेसन बोर्डिङका प्रिन्सिपल दीपक न्यौपाने जानकारी दिए ।
न्यौपानेका अनुसार बिना आधार कसैलाई एक सुको पैसा नदिने बताएपछि ‘देखाइदिने’ धम्कि दिदै उनीहरु बाटो लागेका थिए । बुधबार नै सिग्देल र उनीसंग आएका व्यक्तिले उर्लाबारीकै केहि ब्यापारीसंगपनि रकम माग गरेको बताइएको छ । यसविषयमा जिज्ञासा राख्दा आरोपित सिग्देलले आफ्नो पत्रिकाको विशेसाङ्क निकाल्नुपर्ने भएकाले विज्ञापनको अग्रिम भुक्तानीस्वरुप रकम मागिएको बताए । उनले धम्कि नदिई खुसीको दान स्वरुप रकम मागिएको दाबी गरेका छन् ।
यद्यपि प्रिन्सिपल न्यौपानेको मोवाइलमा रेकर्ड भएको आवाजमा सिग्देलले हप्किदप्कि गरेको प्रष्टै सुनिन्छ । ठाउँ र मान्छे हेरी आफुलाइृ पत्रकार, कतै कानून व्यवसायी त कतै लेखापढी व्यवसायी बताउदै हिड्ने सिग्देल कुनैपनि मिडियामा आवद्ध नरहेको मोरङका पाका पत्रकार पुष्पराज गड्तौलाले बताए । विगतमा सिग्देलले प्रहरी बनेरपनि रकम असुलेको पाइएको थियो ।
मिडियामात्र होइन, सिग्देल सञ्चारसम्बद्ध कुनै संघसंस्थामा पनि आवद्ध छैनन् । यसैबीच सञ्चार कल्ब उर्लाबारीका अध्यक्ष सरोज बस्नेतले पत्रकार र पत्रिकाको नाम भजाएर हिँड्ने सिग्देलको हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । यस्ता गैरपत्रकारका गतिविधि नियन्त्रण गर्न गर्न सबै चनाखो र सचेत रहनुपर्ने उनको भनाई छ ।