विश्वब्यापी महामारीका रुपमा दुई महिना देखि फैलिएको कोरोना भाइरसबाट अब नेपाल पनि अछुतो रहन सकेन । चीनबाट शुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका तीन दर्जन बढि देशहरुमा फैलिइसकेको छ । सयौंको मृत्यु भइसकेको छ, हज्जारौं संक्रमित छन् । एशियाबाट फैलिएको यो भाइरस युरोप, दक्षिण अमेरिका र उत्तर कोरियासम्म पुगेपनि नियन्त्रणको उपाय अझै पत्ता लागि सकेको छैन । विश्व स्वास्थ्य संगठनले समेत स्वास्थ्य संकट घोषणा गरिसकेको महामारी नियन्त्रण गर्न हैन कि त्यसबाट जोगिन मात्रै पनि नेपालले चासो दिएको छैन ।
यसअघि चीन बाट नेपाल आएका एक ब्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भइसकेको थियो । चीनबाट नेपाल ल्याइएका १७५ जना चाँगुनारायणस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेण्टाइनमा निगरानीमा राख्नु र भित्रुवन अन्तराष्ट्रिय विमानस्थलमा एउटा सामान्य हेल्थ डेक्स राख्नु वाहेक नेपालले अन्य सुरक्षाका तयारी गरेको छैन । विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग नेपालमा आउँदैन अथवा नेपालीलाई सर्दैन जस्तो गरेर कुनै सजगता नअपनाई बस्नु भनेको नेपालीको स्वास्थ्यमाथि खेलवाड गर्नु हो । अहिलेसम्म पूर्व तयारी र सजगताका सन्दर्भमा सरकारले गरेको काम कछुवाकै गतिमा छ ।
हुनत सामान्य रुघाखोकी र झाडापखाला नियन्त्रण गर्नपनि नेपाल सरकारलाई विदेशी दाता गुहार्नुपर्छ । स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट, जनशक्ति नभएर हैनकी योजना रणनीति नभएर सरकार लाचार छ । हुम्ला जुम्ला कालिकोट जस्ता दुर्गम क्षेत्रमा सामान्य झाडापखाला लागेर जनता मरणासन्न हुँदा समेत स्वास्थ्यकर्मी पठाउन नसक्ने सरकारले कोरोना भाइरस जस्तो विश्वब्यापी संकटसँग जुध्ने प्रभावकारी रणनीति अपनाउला भनेर आश गर्न सकिएन । यो कुरा त चीनबाट १७५ जना नेपालीलाई उद्दार गरी नेपाल ल्याउन गरेको दतारुकताबाटै देखिएको हो ।
तथापि, सरकारले केही गरेन अब आफैं सचेत हुन्छौं भनेर नागरिकले भन्ने अवस्था पनि छैन । बजारमा सामान्य प्रकारको माक्स पाइन छाडिइसक्यो । अरु बेला ५ रुपैंयामा पाईने साधारण माक्सको अहिले ५० रुपैंयामा पनि किन्न पाईंदैन । मेडिकल र अस्पतालमै कागजी माक्सको खुलेआम कालोबजारी भइरहेको छ । यहिबेला कालोबजारी गरी कमाउ धन्धा चलाउनेहरुले चीनमा माक्स सप्लाई गर्ने गरेको तथा भएको माक्स समेत लुकाएर महंगोमा बेच्ने गरेको खुलेको छ । धुलो धुँवा र प्रदुषण युक्त काठमाडौंका जनताको स्वास्थ्य उसै त जोखिमपूर्ण थियो, त्यसमाथि सामान्य माक्स समेत अभाव हुँदा झन जोखिम बढेको छ ।
दैनिक रुपमा हज्जारौंको संख्यामा विश्वका विभिन्न देशबाट नेपाल भित्रने त्रिभुवन एक मात्र हवाई नामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोरोना भाइरस परीक्षण गर्ने तथा संक्रमण भएका नागरिक आइहालेमा उनीहरुलाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनु पर्दछ । योसँगै हामीसँग जोडिएका छिमेकी मुलुक भारत र चीनबाट सिमा नाका हुँदै आउने नागरिकको स्वास्थ्य जाँचमा पनि कडाई अपनाउनुको विकल्प छैन ।
विमानस्थलमै मात्रै कडाई गरेर कोरोना भाइरस आउँदैन भनेर सिमा क्षेत्रबाट खुल्ला रुपमा आवतजावत गर्न दिने हो भने त्यो झनै जोखिमपूर्ण हो । खासगरी चीन चर्फका नाकाहरुमा विज्ञ स्वास्थ्य टोली, पर्याप्त औषधी उपकरण ब्यवस्था गरिनुपर्छ । विमानस्थलको कुरा गर्दा त्रिभुवन विमानस्थलमा अत्याधुनिक ल्याव सहित रोकथाम गर्ने औषधी र जनशक्ति राखिनुपर्छ । यसका साथै कथंकदाचित कोरोना भाइरस संक्रमण देखा परेमा त्यस्ता ब्यक्तिबाट अन्य नागरिकलाई कसरी सुरक्षित राख्ने विकल्प खोज्नुपर्छ ।
यहाँनिर हामीले विर्सन नहुने कुरा एक साताअघि चीनबाट नेपाली नागरिक ल्याउँदा उनीहरुलाई राख्ने सुरक्षित स्थल (क्वारेण्टाइन) मा समेत विवाद भयो । सरकारले तयार गरेको क्वारेण्टाइनमै प्रश्न उठाउँदै आम सर्वसाधारणले विरोध जनाए । स्थानीयले रोग सर्ने डरले आ–आफ्नो स्थलमा ती नागरिकलाई राख्न विरोध जनाए । यहाँसम्मकी स्थानीय जनप्रतिनिधिले समेत सरकारको निर्णयको विरोध गर्दा कोरोना भाइरसको बारेमा भ्रम रहेछ भन्ने प्रष्ट भएको छ ।
कोरोना भाइरस कसरी सर्छ, रोकथामका उपाय के–के हुन सक्छन् भन्ने सन्दर्भमा सरकारले विशेष ध्यान दिन जरुरी छ । यसका लागि विज्ञहरु सहितको टोली स्थानीय तहमा खटाउनु आवश्यक छ । पर्याप्त सतर्कता सँगै सचेतनाको पनि आवश्यक्ता छ ।