काठमाडौं । राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा वामदेव गौतम अन्यौलमा परेका छन् ।
नेकपाको सचिवालय बैठकले गौतमलाई सरकारद्वारा मनोनित कोटामा सिफारिस गर्ने निर्णय यसअघि नै गरे पनि पछिल्लो समयमा आएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले असन्तुष्टि जनाएपछि वामदेव अन्यौलमा परेका छन् ।
सचिवालयले निर्णय गर्दासम्म चुपचाप लागेका ओली अहिले आएर गौतमको विरुद्धमा लागेका छन् । सचिवालयका अन्य सदस्यहरु भने गौतमलाई राष्ट्रिय सभामा लानुपर्छ भन्ने अडानमा रहेका छन् ।
ओली भने युवराज खतिवडालाई नै दोहोर्याउने सोचमा छन् । नेकपाको विवाद अहिले सतहसम्म आएको छ । सरकारले मनोनित गर्ने कि पार्टीले भन्ने विषय पनि अहिले छलफलको क्रममा रहेको छ ।
बर्दियाबाट प्रतिनिधिसभाको निर्वाचन हारेका गौतमले राष्ट्रिय सभा सदस्य बनेर प्रधानमन्त्री बन्ने लोभ गरेका छन् । तर, उनको यो सपना अधुरो रहेको छ ।
सचिवालयले संविधान संशोधनका लागि वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा रहेको कार्यदल बनाए पनि यसले कुनै काम गरेन ।
अन्ततः यो कार्यदल समेत भंग भएको छ । एक व्यक्तिको संविधान संशोधन गर्नु व्यवहारिक नभएको भन्दै कार्यदलले काम नगरेको हो ।
गौतमले राष्ट्रिय सभामा जानुभन्दा पनि प्रधानमन्त्री बन्ने कुरालाई प्राथमिकतालाई राखेपछि थप अन्यौलता सिर्जना भएको हो । राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संविधानले गरेको छैन ।
यसैका लागि पनि संविधान संशोधन गर्नुपर्ने कुरालाई पार्टीले छलफल गर्दै आएको थियो । गौतम सांसद बन्ने चर्चा यो मात्र पहिलो होइन । यसअघि उनी काठमाडौं, डोल्पा, ललितपुर, दैलेख लगायतका ठाउँबाट उठ्ने पनि हल्ला चलेको थियो ।
तर, कुनै पनि सांसदले आफू निर्वाचित भएको ठाउँ नछोडेपछि उनी चुपचाप बसेका थिए । गौतमले २०७० सालको निर्वाचनमा बर्दिया र प्यूठानबाट निर्वाचन जितेका थिए । दुई ठाउँमध्ये एक ठाउँ छोड्ने भएपछि उनले बर्दिया छोडेर प्यूठान रोजेका थिए ।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग भारी मत अन्तरले नराम्ररी पराजित बने । प्यूठान राष्ट्रिय जनमोर्चाको भागमा परेपछि गौतम बाध्य भएर बर्दियामा उठेका थिए । निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो ।
निर्वाचनको केही समयअघि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै गौतमले अबको प्रधानमन्त्री म हुँ भनेपछि यो विषयले पनि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो ।
धेरैले यही विषयलाई लिएर पार्टीले नै उनलाई हराएको पनि भन्दै आएको छ । तर, आफूलाई महान ठान्ने र जनताको मात्र नभएर पार्टी कार्यकर्ताको पनि काम नगर्ने गौतमलाई अन्तत कसैले पनि पत्याएनन् ।
नेकपाका जुनसुकै उम्मेदवार पनि निर्वाचनमा विजय हुने त्यस्तो राम्रो सम्भावना हुँदाहुँदै पनि गौतम र नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए । श्रेष्ठ गोरखाबाट उम्मेदवार बनेका थिए ।
उनी राष्ट्रिय सभामा निर्वाचित भइसकेका छन् । श्रेष्ठ उम्मेदवार बनिरहँदा गौतमले भने उम्मेदवार बन्ने मन गरेनन् । तर, अहिले आएर भने उनी सांसद बन्न लालायित भएका छन् ।
अहिले गौतम कि खतिवडा भन्ने विषयले बजार तातेको छ । बिहीबार संचार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा पनि सञ्चार मन्त्री समय रहेका खतिवडाले आफूले पुनः दोहोरिएर आउने सम्भावना रहेको जनाएका थिए ।
उनले २१ गते शपथ छ उतै भेटुला भनेर पनि सञ्चारकर्मीलाई संकेत गरेका थिए । सरकारद्वारा मनोनित तीन जनाको कोटामा परेका खतिवडाको कार्यकाल दुई वर्ष, रामनारायण विडारीको कार्यकाल चार वर्ष र विमला पौडेल राईको कार्यकाल गोलाप्रथाबाट चुनिएको थियो, आलोचनामा उल्लेख छ ।
संविधान अनुसार २०७५ असार ४ गते गोलाप्रथा भएको थियो । अब भने राष्ट्रिय सभामा कहिल्यै पनि गोलाप्रथा हुँदैन । अब आउने प्रत्येक सदस्यको कार्यकाल ६ वर्षको रहने छ ।