• काठमाडौं, १९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने गरेको निर्णयसँगै सो दलमा संकट उत्पन्न भएको छ ।

    सो निर्णयको विरुद्धमा आफू रहेको जानकारी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माधवकुमार नेपाललाई जानकारी गराएपछि ओलीसँगै नेकपा पनि संकटमा परेको बताइएको छ । ओलीको विकल्पको रुपमा गौतमलाई राष्ट्रियसभाबाटै प्रधानमन्त्री बनाउन सकिने गरी खेल खेल्ने तयारी भएका कारण पनि ओली महासंकटमा परेका हुन् ।

    गौतमलाई सांसद बनाउने कुराको ओलीले अस्वीकार गरिदिएका छन् भने ओलीको यो निर्णयमा उपप्रधानमन्त्रीका रुपमा रहेका ईश्वर पोखरेलले पनि साथ दिएका छन् । गौतमलाई शिखण्डीको रुपमा अघि सारेर ओलीलाई तर्साउने तथा विस्थापित गर्ने खेलमा लागेकाहरुलाई निर्णय प्रक्रियामा रोक्न नसकेका ओलीले निर्णयपश्चात गौतमलाई राष्ट्रियसभामा नलाने भनी जानकारी गराएपछि नेकपामा भाँडभैलो मच्चिएको छ ।

    अध्यक्ष समेत रहेका ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्ने तर्क एकथरीको छ भने ओली निकटकाहरु भने गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधानमै संशोधन गर्ने प्रक्रिया अघि बढाउने कार्य हास्यास्पद हुने बताउन थालेका छन् । ओलीको यो निर्णयसँगै संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय नेकपाभित्र घाँडो भएको छ ।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने बताउँदै संविधान संशोधनको कुरा उठाए । उनले कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने सहमति भएको स्मरण गराउँदै गौतमको पक्षमा माहोल बनाउने प्रयास गरिरहेका छन् ।

    वरिष्ठ नेता माधवकुमार नेपालले वामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने उपाय सुझाएका थिए । झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिएको अवस्थामा ओलीले आफूलाई खतरा हुने ठानी उक्त निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

    गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताएका थिए । कार्यदललाई भङ्ग गरेपनि संविधान संशोधन गर्नुपर्ने माग गौतमले राखेका छन् । आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

    संविधान संशोधन गर्दा राष्ट्रपतिको अधिकार थप्ने र राष्ट्रियसभामा मनोनीत सदस्य संख्या तीनबाट बढाएर नौ जना बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका थिए । बुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनेको भनिएको कार्यदल भंग गरेको थियो । ओलीले भने आफूविरुद्धको जुनसुकै परिस्थितिको सामना गर्ने चेतावनी दिएका छन् ।

    ओलीले पहिलेको कुरा संझिँदै उपाध्यक्ष गौतमलाई पहिले राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधनलाई शर्त बनाएको स्मरण गरेका छन् । अहिले गौतमले शर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको अवस्थालाई ओलीले आफू विरुद्धको षडयन्त्रको रुपमा लिएका छन् ।

    राष्टियसभामा कसलाई लाने भन्ने विषयमा आफ्नै अनुकुलको सोचमा रहेका ओलीको सोचमा असर पर्ने गरी गौतमलाई अघि सारिएको कुरा ओलीलाई मन परेको छैन । उनले हालका अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाउन चाहेका छन् । त्यो स्थानमा गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि ओलीले राष्ट्रिपतिबाट मनोनीत हुने सदस्य संख्या नौ पु¥याउन चाहेका हुन् ।

    जता पनि पल्टिन तयार हुने गौतमको प्रवृत्तिका कारण ओली आफैं संकटमा परेका छन् । यसअघिको प्रतिकुल अवस्थालाई आफूअनुकुल पार्नका लागि ओलीले नै रातारात गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गराएका थिए । आफू अनुकुलको वातावरण बनाइदिएको भनी मख्ख परेका गौतम पछिल्लो समय फेरि ओलीबाट टाढिएका छन् । ओलीले उपाध्यक्ष बनाए पनि प्रधानमन्त्री बन्ने दाउमा गौतम रहेका छन् ।

    प्रधानमन्त्री दाउमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि रहे उनीहरुले ओलीका अघिल्तिर आफूलाई त्यसरी प्रस्तुत गर्न सकिरहेका छैनन् । आफू बन्न नसके पनि ओलीलाई हटाउनका लागि नै भए पनि वामदेव गौतमलाई अघि सार्नु उचित हुने सोचमा दाहाल र नेपाल पुगेकाले पनि अहिले गौतमको पल्ला भारी बन्न पुगेको हो ।

    गौतम आउनु भनेको आफू विस्थापन हुनु हो भन्ने सोचमा रहेका ओली कुनै पनि हालतमा प्रधानमन्त्री छाड्ने पक्षमा छैनन् । उनी शरिरमा तार नै जोडेर भए पनि सरकार संचालनमा लागिरहने पक्षमा रहेको कुरा त उनले सार्वजनिक रुपमै व्यक्त गरेका छन् । गौतमले ओलीलाई चुनौती दिंदै सक्ने भए आफूलाई पार्टीबाट निस्कासन गर्न भनेका छन् । गौतमको चेतावनीले एकदमै रुष्ट बनेका ओलीले पनि कुनै पनि हालतमा गौतमलाई राष्ट्रियसभामा लान नचाहेका हुन् ।

    गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधानमा संशोधन गर्न पार्टीमा दबाब आउन थालेपछि ओलीले उक्त कुरालाई पहिले नै संविधानमा राख्ने नराख्ने भनी चर्चा चलिसकेको भन्न थालेका छन् ।

    ओलीको बोलीमा लोली मिलाउनेमा नेकपाका नेता केशव बडालले भने,‘गौतम कमरेडलाई प्रधानमन्त्री बनाउने नाममा त्यसरी संविधानमा संशोधन गर्ने कार्य भयो भने त्यो भन्दा हास्यापद अन्य कुनै पनि कार्य यो जगतमा हुन सक्दैन । उनले भनेका छन् कि यस्तो निर्णय गराउने कार्यमा स्वयम् वामदेव गौतम कमरेड पनि लाग्न सक्नुहुन्न ।

    गौतमलाई अघि सार्ने कार्यका लागि संविधानमा संशोधन गर्ने कार्य हुनु भनेको लज्जास्पद कार्य हुने भनी नेता सुभाषचन्द्र नेम्वाङले पनि नेता माधवकुमार नेपाललाई यसअघि सुझाएका थिए । त्यसैगरी खिमलाल देवकोटा समेत गौतमलाई लानका लागि संविधान संशोधन गर्नका लागि कार्यदल बनाएको हो भने त्यस्तो कार्यदलमा बस्नुको औचित्य नरहेको भनी नेपाल निवासबाट बाहिरिएका थिए ।

    अहिलेको अवस्थामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरु पार्टी एकीकरणको विषयलाई लिएर पनि पछुताउन थालेको बताइएको छ । त्यसो हुनुमा आफू अनुकुलको परिस्थिति बनेको नदेख्नु दुवै पक्षका नेताहरुको ठम्याई हुनु पनि रहेको स्रोतको दाबी छ । यो स्थितिमा नेकपा अहिले संकटमा देखिएको छ भने ओली महासंकटमा देखिएका छन् । नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…