• काठमाडौं, १९ फागुन । वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत गरी राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगरी यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ ।

    ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन् । नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णयमाथि प्रधानमन्त्रीले असहमति जनाएका थिए ।

    उनको असहमति सचिवालय बैठकको निर्णयभन्दा पनि यसको नियत र प्रक्रियाप्रति थियो । पार्टीले सरकारलाई आग्रह गर्नसक्ने तर पलानोलाई नै गर भनेर बाध्य पार्न नहुने उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीको अर्को भनाई चाहिँ प्रधानमन्त्री हुनेगरी संविधान संशोधन नभएसम्म राष्ट्रिय सभामा नजाने अडानमा रहेका वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत भएर सांसदमात्र हुन किन तयार भए ?

    प्रधानमन्त्री यहीबाट झस्किए । जबकि २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न ओलीले नै सचिवायमा वामदेवको नाम प्रस्ताव गर्दा उनले अस्वीकार गरेका थिए ।

    प्रचण्डको चलखेल
    संविधान संशोधन कार्यदल गठन लगत्तै ठूलो विरोध भएपछि नेकपा नेतृत्व वामदेव गौतमको चाहना पूरा गर्ने बाटोबाट ब्याक भए ।

    यसबीचमा प्रचण्डले अर्को चलखेल शुरु गरेको सूचना बालुवाटारले पाइसकेको थियो । प्रचण्डले शेरबहादुर देउवासँग पनि छलफल गरेको बालुवाटारले जानकारी पायो । जुन छलफलमा विनोद चौधरी समेत संलग्न थिए ।

    अर्थमन्त्री खतिवडाको बचाउ
    अर्थमन्त्री डा.युवराज खतिवडा निकटस्थहरुका अनुसार, विनोद चौधरी, अजय सुमार्गी, उपेन्द्र महतोलगायतका व्यापारी अर्थमन्त्री डा.युवराज खतिवडासँग रुष्ट छन् ।

    सुमार्गीको स्रोत नखुलेको पैसा राष्ट्र बैंकबाट रोक्नेदेखि धेरै अपरादर्शी आर्थिक गतिवधिमा खतिवडा बाधक भएको प्रचार पनि अहिले भइरहेको छ ।

    त्यसैले अर्थमन्त्री डा.युवराज खतिवडाको निरन्तरता रोक्नका लागि वामदेव उपयुक्त पात्र देखे । प्रचण्डमार्फत वामदेवलाई राष्ट्रपतिबाट मनोनीत हुन सहमत गराए ।

    त्यसपछि प्रधानमन्त्री झस्किए
    वामदेवलाई सहमत गराउन दीपक भट्ट प्रयोग भएको सूचना पनि बालुवाटारले पाएपछि अध्यक्ष ओली सचिवालयको निर्णयप्रति झस्किए । उनले तत्कालै माधव नेपाललाई बोलाएर सबै चलखेलका विवरण सुनाउँदै केही व्यापारीको स्वार्थपूर्ति गर्न आफूले अर्थमन्त्री खतिवडालाई नहटाउने जानकारी गराए ।

    त्यसपछि नेकपा झण्डै झण्डै दुर्घटनातर्फ जान लागेको समाचार प्रवाह भयो । झलनाथ खनालले पार्टी निर्णय कार्यान्वयन नगरे ओलीले पार्टी छाड्नुपर्ने अभिव्यक्ति दिए । जबकि खनाल तिनै नेता हुन्, जसले तत्कालीन एमालेका स्थायी कमिटीले गृहमन्त्री विष्णु पौडेललाई बनाउन दिएको निर्देशन नमानी कृष्णबहादुर महरालाई बनाएका थिए ।

    प्रचण्डले यसबीचमा ओलीलाई हटाउनेसम्मको गतिविधि गरेको माधव नेपाललाई मन नपरेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जति पेले पनि सरकार अस्थिर हुने खालका गतिविधि गर्न नहुने पक्षमा नेपालको स्रोत बताउँछ । नेपाल यसबीचमा मध्यस्थकर्ताको भूमिकामा देखिन खोजे ।

    यद्यपि सचिवालयले निर्णय गरिसकेपछि त्यसलाई मान्दिन भन्न नमिल्ने उनको भनाइ थियो । बरु खतिवडालाई पनि अर्थमन्त्रीमा निरन्तर राख्ने र वामदेवलाई मनोनित गर्ने बीचको बाटो खोजियो जसमा महासचिव विष्णु पौडेल पनि खटिए, साँघुमा उल्लेख छ ।

    सेलायो वामदेव प्रकरण
    प्रधानमन्त्री ओलीलाई अप्ठेरो पार्न खोजिएकै बेला उनले २०७६ फागुन १८ गते आइतबार सचिवालय बैठक बोलाएर आफू मृगौला पुनः प्रत्यारोपणमा जान लागेको सुनाए । त्यसपछि वामदेव प्रकरण सेलाएको छ ।

    प्रधानमन्त्री अस्पतालबाट नफर्किएसम्म सम्भवतः मन्त्रिपरिषद् बैठक बस्नेछैन र वामदेवको निर्णय कार्यन्वयन हुने पनि छैन । त्यतिन्जेल घटनाक्रम कहाँ पुग्ने हो, त्यस आधारमा निर्णय हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…