• काठमाडौँ,  / प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको उल्लेख गर्नुभयो ।

    “प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेका बेला मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ”, उहाँले भन्नुभयो, “यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि काँग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था र समस्त नेपालीमा अपिल गर्दछ ।”

    काँग्रेसले विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ । कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन काँग्रेसले आग्रह गरेको छ ।

    आज मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तरराष्ट्रि«य विमानस्थलको जाँचको प्रक्रिया काम चलाउ प्रकृतिको फितलो देखिएको भन्दै प्रवक्ता शर्माले प्रवेशद्वारमा कठोर ढङ्गको कडाइ गरिएन भने र भाषणका मञ्चबाट सतर्कताको अपिल मात्रै जारी गर्दा स्थिति भयावह हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकामा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी रहेको उहाँले बताउनुभयो ।

    साथै ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न उहाँले माग गर्नुभयो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढङ्गले अघि बढाउन प्रवक्ता शर्माले सुझाव दिनुभयो । संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पुर्याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाउन उहाँले आग्रह गर्नुभयो ।

    “संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढङ्गले उपचार र उद्धारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ, त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढङ्गको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस्”, उहाँले भन्नुभयो ।

    काँग्रेसले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पुर्याउन, मास्क पर्याप्त प्रबन्ध गर्न, संक्रमण भित्रिएर फैलिएको खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ । चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्धार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मरण गर्दै उहाँले ठूलो सङ्ख्यामा नेपाली रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढङ्गले फैलिएको र त्यहाँ रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न तथा अत्यावश्यक परे उद्धार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ सोबारेमा तत्काल विमर्श गर्न आग्रह गर्नुभयो ।

    प्रवक्ता शर्माले वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौँ क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने र कोरोना संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमको समुचित प्रयोग गर्ने कार्यमा सरकारले ध्यानाकर्षण गराउनुभयो । काँग्रेसले जोखिम सामना गर्न कुनै पनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…