दुई वर्षे कार्यकाल पूरा गरी बिदाइ भएका राष्ट्रियसभाका सांसदहरु मंगलबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र अन्य सांसदसँग सामूहिक तस्विर खिँचाउँदै । तस्बिर : रासस
फागुन २१, काठमाडौं । माथिल्लो सदन राष्ट्रियसभामा आजदेखि १८ जना नयाँ सांसद आउँदै छन् ।
दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि (आज) बुधबार नयाँ सांसदहरुले शपथ लिन लागेका हुन् । नवनिर्वाचितको सपथ बिहान ११ हुने संघीय संसद सचिवालय जानकारी दिएको छ ।
रिक्त हुन लागेका एक तिहाई सांसदका लागि माघ ९ गते नै निर्वाचन भएको थियो । निर्वाचित १८ जना सांसदले सपथ लिएर आजबाट कार्यकाल सुरु गर्दैछन् । माघ ९ मा भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए । कांग्रेसले भने एक सिट पनि जित्न सकेन ।
नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वारले बुधवार सपथ लिँदैछन् । नेकपासँग चुनावी तालमेलबाट दुई सिट जितेको राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवको कार्यकाल पनि बुधवारबाट सुरु हुनेछ ।
मंगलबार बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद थिए । प्रत्येक २ वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ ।