विन्दुकान्त घिमिरे
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटेको छ । सामान्य परिस्थिति हुँदो हो त यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भइसक्थ्यो । तर १३औं महाधिवेशनपछि असामान्य परिस्थिति उत्पन्न भएका कारण १४औं महाधिवेशन एक वर्षपछि अर्थात् २०७७ फागुन ७ गतेसम्मका लागि धकेलिएको हो । पार्टी विधानले नै असामान्य परिस्थिति उत्पन्न भएको अवस्थामा बढीमा एक वर्षसम्म केन्द्रीय समितिले म्याद थप्न सक्ने प्रावधान पार्टीको विधानमा छ । विधानको त्यही प्रावधान प्रयोग गरी गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको हो ।
यही फागुन १६ गतेदेखि १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । पहिलो चरणमा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गर्ने दोस्रो चरणमा स्थानीय र प्रदेश अधिवेशन र तेस्रो चरणमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ । अर्थात् पहिलो चरणको काम सम्पन्न नभई दोस्रो चरणका लागि बाटो खुल्दैन, दोस्रो चरणको काम सम्पन्न नभई तेस्रो चरणका लागि बाटो खुल्दैन । तर यतिबेला पहिलो चरणको काम सुरु हुन सकस परिरहेको देखिएको छ । फागुन १६ देखि क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरियो, तर तत्काल काम प्रारम्भ हुने लक्षण देखिँदैन । कतिपय जिल्ला कार्यसमितिले केन्द्रमा विवरण पठाएका छैनन् ।
विगतलाई हेर्ने हो भने पनि सबैभन्दा जटिल र विवादित पक्ष भनेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण नै हो । स्थानीयस्तरमा एकअर्कासँग बदला लिन तथा सिध्याउन क्रियाशील सदस्यता वितरण तथा नवीकरणको अस्त्र प्रयोग गर्ने रोगले नेपाली कांग्रेसभित्र धेरै पहिलेदेखि नै निरन्तरता पाइरहेको छ । क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतद्वारा वडा तहका प्रतिनिधिहरू छनोट गरिन्छ । वडा प्रतिनिधिहरूले नै महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति चयन गर्ने हुन् । त्यसैले आफ्नो पक्षको वर्चश्व कायम गर्ने र आफ्नो प्रतिपस्पर्धीलाई ठाउँको ठाउँ सिध्याउने खेलअन्तर्गत क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा व्यापक धाँधली हुने गरेको छ । यस्तो धाँधली रोक्नकै लागि क्रियाशील सदस्यता वितरणदेखि अन्तिम नामावाली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि ६ महिना राखिएको छ । यो ६ महिनाको अवधि छोटो होइन । ६ महिनाभित्रै विनाविवाद क्रियाशील सदस्यको नामावली केन्द्रीय समितिले निर्वाचन समितिलाई बुझाउन सक्यो भने निर्धारित समयमै स्थानीय र प्रदेश अधिवेशन सम्भव छ, तर विवाद उत्पन्न भई केही दिन लम्बियो भने यसको प्रत्यक्ष असर १४औं महाधिवेशनलाई पर्ने छ । विवाद हुने सम्भावना छैन भन्न सकिने अवस्था अहिलेसम्मको परिस्थितिले देखाउँदैन ।
चार वर्षभित्र १४औं महाधिवेशन सम्पन्न हुन नसक्ने विषम परिस्थिति उत्पन्न भएको बाह्य कारणले मात्रै होइन, आन्तरिक कारण नै मुख्य हो । स्थानीय, प्रदेश र आमनिर्वाचनमा पार्टी होमिनुपरेका कारण आन्तरिक गृहकार्यका लागि समय नपुगेको पक्कै हो, तर महाधिवेशन नै एक वर्षपछि धकेल्नु पर्नेगरी समय नपुग्नुमा आन्तरिक कारण नै प्रमुख हो । आमनिर्वाचन २०४७ मंसिरमा सम्पम्पन्न भएको हो । २०७५ वैशाखभित्र महासमितिको बैठक बोलाएर विधान संशोधन गर्न सकिन्थ्यो । विधान संशोधन भएको ६ महिनाभित्र वडा, पालिका, प्रदेश सभा र प्रतिनिधिसभा, प्रदेश समिति गठन तथा समायोजन गर्न सकिन्थ्यो । त्यसपछि क्रियाशील सदस्यता वितरण तथा नवीकरणको बाटो खुल्थ्यो । यसरी २०७६ फागुनभित्र मज्जाले १४औं महाधिवेशन हुन सक्थ्यो । तर महासमितिको बैठक बोलाउन ढिलाइ भयो । विधान संसोधन मस्यौदा समिति गठन गर्न नै ६ महिना लाग्यो । विधान संशोधन मस्यौदा समितिले प्रतिवेदन बुझाउन अर्को चार महिना लगाइदियो । जसका कारण २०७५ पुसमा मात्रै महासमितिको बैठक बोलाएर विधान संशोधनको काम सम्पन्न भयो ।
विधान संशोधनको काम सम्पन्न हुना साथ वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा, प्रदेश समिति गठन तथा समायोजन गरिएको भए पनि २०७६ असारदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सुरु हुन सक्थ्यो । २०७७ असारदेखि भदौभित्र १४औं महाधिवेशन सम्भव हुन्थ्यो । ६ महिना मात्रै म्याद थपेको भए पुग्थ्यो । तर आन्तरिक विवादका कारण सम्भव भएन । यो मामिलामा संस्थापन र इतर दुवै पक्षको कमजोरी देखिन्छ । इतर पक्षले स–साना मामिलामा पनि भागबन्डा खोज्यो । तर भागबन्डा पाइसकेपछि नाम पठाउन ढिलाइ ग¥यो । जसरी संस्थापन पक्ष आन्तरिक व्यवस्थापनमा अलमलिँदा पदाधिकारी चयनदेखि विभाग गठनमा ढिलाई भयो, त्यसरी नै इतर पक्षले आफ्नो भागमा परेका नामहरू समयमै नपठाउँदा विधान संशोधन मस्यौदा समितिदेखि लिएर कयौं पूर्वतयारीका लागि समय अपुग भयो । अब यस्तो विवाद क्रियाशील सदस्यता वितरण तथा नवीकरण एवं स्थानीय अधिवेशनमा अझ बढ्ने सम्भावना छ ।
अहिले ४७५ हजार क्रियाशील सदस्य रहेका छन् । अब करिब सात लाख पु¥याउने निर्णय पार्टीले गरेको छ । आफू बलियो हुने गरी र आफ्नो प्रतिस्पर्धी कमजोर हुने गरी क्रियाशील सदस्यता वितरण तथा नवीकरणको खेल अब सुरु हुँदैछ । यो खेलका क्रममा जो जो अन्यायमा पर्छन्, उनीहरूले गुहार्ने भनेको आफ्नो गुटका केन्द्रीय नेताहरूलाई हो । जुन कार्यकर्ताहरू गुटमा भन्दा सिंगो पार्टीमा विश्वास गर्छन्, उनीहरू कत्लेआममा पर्ने सम्भावना धेरै छ, किनकि उनीहरूको अन्यायमा पर्दा हार गुहार गर्ने ठाउँ हुँदैन । पार्टीभित्रै जब कार्यकर्ता अन्यायमा पर्छ उसले अरु पार्टीसँगको प्रतिस्पर्धामा आफ्नो पार्टीलाई भोट हाल्ने सम्भावना रहन्न ।
यसको उदाहरणका रूपमा चितवन जिल्लाका केही वडालाई लिन सकिन्छ । क्रियाशील सदस्यको संख्याभन्दा पार्र्टीको उमेदवारले थोरै भोट पाउने अवस्था किन उत्पन्न भयो ? यसको पहिलो कारण हो, ‘कार्यकर्ताहरूले आफूमाथि घोर अन्याय भएको महसुस गर्नु ।’ दोस्रो कारण हो– ‘पार्टीभित्र आफू बलियो हुने र प्रतिस्पर्धीलाई निस्तेज गर्ने नाममा गैरकांग्रेसलाई समेत क्रियाशील सदस्यता प्रदान गर्नु ।’
गत १३औं महाधिवेशनका क्रममा केन्द्रीय सदस्यका उम्मेदवार प्रदीप पौडेलले आरक्षणको कोटाबाट आएका एकजना महाधिवेशन प्रतिनिधिलाई टेलिफोन गर्दै भने रे– ‘जय नेपाल ।’ उसले प्रतिप्रश्न ग-यो रे– ‘को नेपाल ?’ प्रदीप पौडेलले भने रे– ‘जय नेपाल ।’ उसले भन्यो रे– ‘सरी रङ नम्बर, मेरो नाम त जय नेपाल होइन ।’ यसैगरी, आफूसँग ११ भोट छ भन्दै ५–७ जना महाधिवेशन प्रतिनिधि लिएर एक अगुवा कार्यकर्ता डा.शेखर कोइरालाको चुनावी कार्यालयमा पुगेछन्, उनले कुरा गर्दै गर्दासँगै गएका एक महाधिवेशन प्रतिनिधिले भित्तामा टाँसिएको ठूलो फोटोतर्फ संकेत गर्दै सोधेछन्– ‘कुन बुढोको फोटो हो यति ठूलो ?’
माथिका यी दुईवटा उदाहरण असत्य होइनन् । गत महाधिवेशनमै जय नेपाल शब्द नबुझ्ने र बीपी कोइराला नचिन्नेहरू उल्लेख्य रूपमा महाधिवेशन प्रतिनिधि बनेका थिए । पार्टीको मर्म बुझेका हजारौं कार्यकर्ता वडा तहमै चुनाव हार्ने र बीपी तथा जय नेपालसमेत नबुझ्नेहरू महाधिवेशन प्रतिनिधि हुने अवस्था गत महाधिवेशनमै उत्पन्न भइसकेको यथार्थता कांग्रेस केन्द्रीय समितिमा रहनेहरू प्रायः सबैलाई थाहा छ । संख्या बढी देखाउने नाममा क्रियाशील सदस्यता थप्दै लैजाने, प्रशिक्षणको पाटोलाई यथावत् राख्ने हो भने केही वर्षपछि नेपाली कांग्रेस नाम मात्रैको एउटा भीड बन्न जाने निश्चित जस्तै छ । जब खोटो सिक्का प्रचलनमा आउँछ, तब नक्कली सिक्का कसैले पनि बाहिर निकाल्दैन । लोकतन्त्र संकटमा परेको अवस्थामा बाहेक अघिपछि कांग्रेसका सक्कली कार्यकर्ताहरू पार्टी गतिविधिमा निस्कन लाज मान्ने अवस्था अहिले नै उत्पन्न भइसकेको छ । यो अवस्था अझ बढ्न नदिने पार्टीलाई के गर्नुपर्ने हो ? १४औं महाधिवेशनको पूर्वतयारीकै क्रममा नेताहरूले सोच्नु जरुरी छ ।