फाल्गुन २२, २०७६
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयले सातामा निक्कै चर्चा पायो । केही विवाद सतहमा आए भने नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सदस्यमा नियुक्त गराउने विषयमा निर्णय पनि लियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका कारण सरकारले कम्तिमा तीन साता यस विषयमा सिफारिस गर्ने छैन । तर यसबीचमा गौतमलाई राष्ट्रिय सभा छिराउने विषयका नयाँ मोड आएका छन् ।
राष्ट्रपतिमार्फत नै नियुक्त गरिएका तत्कालिन माओवादी केन्द्र कोटाका रामनारायण बिडारीलाई राजीनामा गराउने र गौतमलाई सोही स्थानमा राष्ट्रिय सभा छिराउने । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीलगायतले यो प्रश्न गरेको र बिडारी आफैंले पनि यस्तो कुरा सुनेको भन्ने जवाफ दिएको विषय विवरणमा आएका छन् ।
यसको स्वतन्त्र पुष्टिचाहिँ हुन सकेको छैन । बिडारी कानुनकर्मी हुन् । उनलाई संविधानको जानकार भएका कारण सरकारले सिफारिस गरेको थियो । उनको कार्यकाल अझै बाँकी छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई पुनः नियुक्त गरेपछि आएको यस्तो विवरणमा सत्यता नभएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सार्वजनिक गरेका छन् । यस्तो हल्लामा कुनै सत्यता नरहेको जानकारी उनले सार्वजनिक फोरम, सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
यद्यपि कतिपयले भने नेपालको राजनीतिमा जे पनि हुनसक्ने भन्दै यसमा सत्यता हुनसक्ने आँकलन गरेका छन् । खतिवडाको पुनः नियुक्तिसँगै उनलाई राष्ट्रिय सभा सदस्यमा कायम राख्ने प्रधानमन्त्री ओलीको चाहनाको विषयले नै गौतम प्रकरणले चर्चा पाएको थियो ।