फागुन २३, काठमाडौ । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको विषयका समाचार प्रकशित गरेका छन् ।
मिर्गौला प्रत्यारोपणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आएको समाचार आजको नागरिकले प्रकाशित गरेको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनमा गरिएको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो । १२ वर्षअघि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलोपटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. पे्रम खड्गाले बिहीबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको रक्तचाप, मुटुको चाल तथा अन्य प्रयोगशाला रिपोर्ट राम्रो भएको जानकारी दिए। ‘सम्मानीय प्रधानमन्त्रीज्यूको प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले राम्रोसित काम गरिरहेको छ, अन्य स्वास्थ्य सूचक पनि राम्रा छन्,’ उनले भने। प्रधानमन्त्री ओलीले बिहीबार झोलिलो पदार्थ खाएको चिकित्सकले बताए। उनलाई कालो चिया, दाल तथा सुप खान दिइएको छ।
मिर्गौैला प्रत्यारोपणमा संलग्न चिकित्सक डा. उत्तम शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने, ‘हामीले कस्तो छ भनेर सोध्दा उहाँ चाहिनेजति बोल्नुभएको छ, यसबाट म ह्याप्पी (खुसी) छु।’ प्रत्यारोपणपछि पनि प्रधानमन्त्रीमा उस्तै स्फुर्ति देखिएको जानकारी दिँदै उनले भने, ‘अवस्था राम्रो छ, अपेक्षित सुधार छ।’ प्रधामन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रोला ज्ञवालीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनलाई पनि नरम तथा तरल पदार्थ खान दिइएको छ।
प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको छ भने ज्ञवालीलाई मिर्गौला प्रत्यारोपण युनिटमा राखिएको छ। चिकित्सकका अनुसार त्रिवि शिक्षण अस्पतालमा यसअघि करिब १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिए पनि ओलीजति उमेरका व्यक्तिको प्रत्यारोपण भएको थिएन। ओली ६९ वर्षमा हिँड्दैछन्। ‘यो उमेरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री पहिलो व्यक्ति हुनुपर्छ,’ डा. शर्माले भने।
नागरिकले नै नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि रहेको समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन् ।
ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्।
त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ ।
अन्नपूर्णले 'चक्रव्यूहमा अर्थतन्त्र' शीर्षकको समाचार फ्रन्टपेजमा छापेको छ । कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ।
बिहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको मार्गप्रशस्त हुनै लागेका बेला बाह्य चुनौती सामना गर्नुपरेको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोनाका कारण मूल्यवृद्धिमा चाप पर्ने बताए। ‘हामीले कोरोनाको प्रभाव कम गर्न पर्यटनलगायत क्षेत्रमा बैंक ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा दिएका छौं,’ उनले भने। राष्ट्र बैंकले तीन दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो सुविधा दिने उल्लेख छ।
यस्ता सामान्य समाधानबाट चुनौती सामना गर्न ‘असम्भव’ रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। औषधि, खाद्यान्न, ऊर्जा, लत्ताकपडाजस्ता अत्यावश्यक वस्तुमा परनिर्भर नेपाली अर्थतन्त्र नयाँ संकटबाट प्रभावित हुने अनुमान अर्थशास्त्रीको छ। अधिकांश ठूला होटेलको ‘अक्युपेन्सी’ दर १५ प्रतिशतभन्दा कम रहेको पर्यटन व्यवसायीले बताएका छन्। यसको मतलब सय जना क्षमताको होटेलमा १५ जना पनि छैनन्। यसको असर रोजगारी, उपभोग्य वस्तु र बैंकको ऋणमा पर्छ।
ट्राभल कम्पनी र वायुसेवा कम्पनीले सेवा र कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएका छन्। अत्यावश्यक औषधिलगायत खाद्यान्न भण्डार क्रमशः रित्तिँदै छ। चाहिनेभन्दा बढी सामान किनेर थुपार्न थालेपछि बजारमा अभाव अभाव हुन थालेको व्यवसायी बताउँछन्।
पछिल्लो एक सातामा अमेरिकी डलर ३ रुपैयाँभन्दा धेरै महँगिइसकेको छ भने युरो ६ रुपैयाँ महँगिएको छ। स्वदेशी मुद्रा अवमूल्यनले आयातमा निर्भर नेपाली अर्थव्यवस्थालाई अझ समस्यामा पार्न सक्ने सरकारी अधिकारी बताउँछन्। सबैभन्दा ठूलो समस्याचाहिँ रेमिट्यान्समा हुने जोखिम हो ।
यता सरकारले कोरोना (कोभिड–१९) भाइरसबाट त्रसित नहुन आग्रह गरेको छ । नेपालीहरू सजग हुनुपर्ने बेला आएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।
‘हामीले आफ्नो दैनिकीलाई व्यवस्थापन गर्नुपर्ने बेला आएको छ । त्रसित भएर होइन सजग भएर हिँड्ने बेला हो यो’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सरकारले सबै तयारी गरिसकेको छ । उच्च स्वास्थ्य सुरक्षा सतर्कता पनि अपनाइएको छ ।’
उनले बाहिरबाट हुन सक्ने कोरोना संक्रमणबाट नेपाली सतर्क हुनुपर्ने बताए । विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरेर सतर्कता अपनाइएको जानकारी उनले दिए । उनका अनुसार ३७ वटा नाकामा स्वास्थ्य टोली खटाइएका छन् ।
‘भारत प्रवेश गर्ने ३७ नाकामा स्वास्थ्य टोली राखिएको छ’, उनले भने, ‘विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ ।’
कान्तिपुरले ‘सेनाभित्रका अनियमितता छानबिन दायरामा आउनुपर्छ’ शीर्षकको समाचार छापेको छ । सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसदले गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार उनीहरूले सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको सुनिँदै आएकाले त्यसलाई रोक्न आवश्यक परे नीति तथा कानुन सुधार गर्नुपर्ने बताएका छन् ।
कानुनी र नीतिगत रूपमा सुधारका लागि रक्षा मन्त्रालय र सैनिक मुख्यालय जंगी अड्डाले राय दिनुपर्ने उनीहरूको माग छ । ‘नीति र कानुन सुधार गरेर भए पनि बहालवाला र अवकाश प्राप्त सैनिक पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने व्यवस्था गर्नुपर्छ । त्यसका लागि अहिलेको नीति र कानुनमा के कमजोरी छन् भन्ने रक्षा मन्त्रालय र सेनाले भन्नुपर्छ,’ समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले भने ।
उनले अहिलेको संवैधानिक व्यवस्थाअनुसार बहालवाला सैनिकलाई अख्तियारले छानबिन गर्न सक्ने व्यवस्था नभएको बताए । ‘यो संगठनको गरिमालाई लिएर उक्त व्यवस्था गरिएको हुन सक्छ तर अहिले आएर के कारणले समस्या भयो भन्ने कुरा मन्त्रालयका तर्फबाट आउनुपर्छ,’ उनले भने । संविधानको धारा २३९ को उपधारा (२) अनुसार सैनिक ऐनबमोजिम कारबाही हुने व्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि संघीय कानुनबमोजिम अख्तियारबाट अनुसन्धान गर्न र गराउन सकिनेछ ।
सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको खबर राजधानीले प्रकाशित गरेको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्टबैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरेको छ । केन्द्रीय बैंकले बिहीवार निर्देशन जारी गर्दै सुन निक्षेप योजना शुरू गरेको हो ।
योजनामा सामेल हुन अर्थात सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी सुन जम्मा गरेपछि मात्रै बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तिमा ९ सय ९५ फिटनेस हुनुपर्छ ।
गोरखापत्रले नेपालबाट निर्यात हुने पाम तेल आयातमा भारतले कोटा तोक्दै लाइसेन्स रोकिदिएको समाचार छापेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले नेपालबाट निकासी हुने पाम तेलको लाइसेन्स जारी गर्न रोकेको हो ।
‘निश्चित कोटाका लागि खुलाएको भन्दै रोकिदिएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष एवम् बाबा भेजिटेबल एन्ड रिफाइनरीका निर्देशक प्रकाश मुन्दडाले भने,‘त्यसले गर्दा भारतीय आयातकर्ताले नेपालबाट निर्यात हुने तेल खरिद गर्न असजिलो बनाइदिएको छ ।’