काठमाडौँ, २३ फागुन । देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हावाहुरी/च’ट्याङ/असिनासहित प्रिमनसुनकै ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको छ ।
साथै हावाहुरी आउने, च’ट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन् । ‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ, यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो ।’
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले बिहान पनि देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले उल्लेख गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भाेलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ ।