काठमाडौँ । यौनहिंसाको उजुरीसँगै नेपाल प्रहरीका एसएसपी सौरभ राणा अदालतबाट तारिखमा छुटेका छन् । उनको मुद्दा अझै टुंगिएको छैन । उता यौनहिंसाकै कारण डिएसपीको जागिरबाट राजीनामा दिन बाध्य भएका राजकुमार खिउजू उजुरीसँगै फरार भए पनि बुधवार उनी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले खिउजू पक्राउ परेको पुष्टि गरे । खिउजूविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा गतमाघ २३ गते किटानी जाहेरी दर्ता भएको थियो । त्यसपछि जिल्ला अदालतबाट खिउजूविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ललितपुरकी एक युवतीले उनीवरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी दिने युवतीमाथि बलात्कार भएको हो–होइन भनेर स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरी रिपोर्ट बनाउन गतमंसिरको अन्तिम साता महानगरीय प्रहरी वृत्त चापागाउँ पुगेकी ती युवतीलाई खिउजूले रिपोर्ट बनाइदिने आश्वासन दिँदै जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
त्यसैगरी सत्तारुढ दल नेकपाका सुदूरपश्चिमाञ्चल प्रदेशका सांसद अक्कल रावल पनि बलात्कार प्रकरणमा पक्राउ परेका छन् । एक महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन् । महिलाको उजुरी परेपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । धनगढी उपमहानगरपालिका– ४ उत्तर बेहडीकी एक विवाहित महिलाले रावलमाथि बलात्कार प्रयासको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा गतफागुन १४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाहेरीमा पीडित भनिएकी महिलाले आफूमाथि माघ २१ गते रावलले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छन् । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । पार्टी एकताभन्दा पहिले तत्कालीन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि नेकपा संसदीय दलको सचेतक भएका थिए । नव जनप्रहारबाट ।