•  

    फागुन २३, काठमाडौं । सर्वोच्च अदालतमा न्याय निरूपण गर्ने इजलास (बेन्च) र बहस पैरवी गर्ने कानुन व्यवसायी (बार) बस्ने ठाउँको दूरी बढेको छ । कोरोना भाइरस (कोभिड-१९) को त्रासका कारण कानुन व्यवसायी बस्ने ठाउँ सारेर इजलासभन्दा पर पुर्‍याइएको हो ।

    ‘बहस पैरवी गर्न आउने विद्वान् महोदयहरूबाट (न्यायाधीशले कानुन व्यवसायीलाई विद्वान् भनी सम्बोधन गर्छन्) कोरोना संक्रमणको जोखिम हुने हो कि भन्ने भएकाले सुरक्षित रहन उहाँहरू (कानुन व्यवसायी) बस्ने र उठेर बहस गर्ने ठाउँ पछाडि धकेलिएको हो,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘केही न केही सुरक्षाका उपाय त अपनाउनुपर्‍यो भनेर यस्तो व्यवस्था मिलाइएको हो ।’

    विश्व स्वास्थ्य संगठनका अनुसार सम्मुख रहने व्यक्तिहरूमा कोरोना भाइरस सर्ने जोखिम सबैभन्दा बढी हुन्छ । श्वास–प्रश्वास, हाच्छिउँ गर्दा, खोक्दा अनि बोल्दा र अन्य अवस्थामा मुखबाट निस्किने पानीका स–साना थोपा (ड्रप्लेट) बाट पनि कोरोना सर्छ । यसैले हाल शंकास्पद वा रुघाखोकी भएका व्यक्तिसँग न्यूनतम एक मिटरको दूरी कायम राख्ने सल्लाह डब्लूएचओले दिएको छ ।

    पुरानो व्यवस्थाअनुसार इजलासको सबैभन्दा माथिल्लो तहमा न्यायाधीशहरू बस्ने कुर्सी र टेबुल हुन्छ । त्यसपछि तल्लो र दोस्रो तहमा न्यायाधीशलाई सहयोग गर्ने इजलास अधिकृतको कक्ष रहन्छ । त्यसपछिको तल्लो भुइँमा कानुन व्यवसायीको टेबुल र उनीहरूले बहस गर्ने कठघरा हुन्छ । त्यसको पछिल्तिर मुद्दाको सरोकारवाला व्यक्ति अनि अन्य दर्शक रहन्थे, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    अहिले कानुन व्यवसायीहरूको टेबुल र कुर्सी अझै पछाडि सारेर इजलाससँग सम्मुख हुने दूरी बढाइएको हो । दुई/तीन दिनयता इजलास र बहस गर्ने कानुन व्यवसायीहरूको दूरी कम्तीमा साढे २ मिटर हुने गरी व्यवस्था गरिएको जानकारी अदालत प्रशासनका एक कर्मचारीले दिए । ठूला कोठा भएका कक्षमा मिल्नेजति दूरी कायम गरिएको छ । यसो गर्दा कानुन व्यवसायी र मुद्दाका पक्षहरू बस्ने भागको दूरी कम भएको छ ।

    सर्वोच्च अदालत स्रोतका अनुसार केही साताअघि एक जना न्यायाधीश श्वास–प्रश्वाससम्बन्धी एउटा संक्रमणबाट पीडित थिए । ‘त्यसपछि सबै श्रीमान्हरूले औषधि लिनुभयो, त्यही बेलादेखि कुरा त उठेको हो,’ सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘अहिले भने श्रीमान्हरूबीच छलफल गरेर संक्रमणबाट जोगिने उपायका रूपमा बहस गर्ने ठाउँ टाढा सारिएको हो ।’ उनका अनुसार अहिले मुद्दाका पक्ष/विपक्षबाहेकलाई बहसका क्रममा इजलासमा उपस्थित नहुनसमेत आग्रह गरिएको छ ।

    नेपाल बार एसोसिएसनका एक पदाधिकारीले सबैलाई समान रूपमा हुनुपर्ने स्वास्थ्य सुरक्षाको चिन्ता केवल न्यायाधीशहरूमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । ‘कानुन व्यवसायीबाट न्यायाधीशलाई संक्रमण हुनसक्ने चिन्ताका कारण यस्तो व्यवस्था गरिएको रे,’ ती कानुन व्यवसायीले भने, ‘सबैको चिन्ता हुन्थ्यो भने कानुन व्यवसायीलाई पनि स्वास्थ्य सुरक्षाका अरू प्रक्रिया र विधि अवलम्बन गर्न सकिन्थ्यो, त्यसतर्फ सोचिएन ।’

    सर्वोच्चले आफ्नो आवधिक रणनीतिमा भिडियो कन्फरेन्समा आधारित साक्षी बकपत्र तथा बहसको परिकल्पना गरेको छ । बकपत्रका लागि केही ठाउँमा काम सुरु भएपछि बहसमा भिडियो कन्फरेन्सको खाका र अन्य अवधारणा अघि बढिसकेको छैन । बारका महासचिव लीलामणि पौड्यालले इजलाससँग दूरी बढाइएकाले कानुन व्यवसायीले ठूलो स्वरमा बहस गर्नुपरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…