काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल फागुन २० गतेबाट समाप्त भए पनि उनी बुधवार पुनः अर्थमन्त्री बनेका छन् ।
नेपाल राष्ट्र बैंकको अस्थायी अधिकृतबाट ‘करिअर’ शुरु गरेका खतिवडालाई दुई वर्षअघि राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरी राजनीतिमा धकेल्दै अर्थमन्त्री बनाइएको थियो । चम्चागिरि र चाकडी कलामा खप्पिस मानिने खतिवडा राजाको शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।
दुई वर्ष अगाडि खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै बीसीसीको अन्तर्वार्तामा शेयर र घरजग्गाको लगानी अनुत्पादक भएको बताएपछि शेयर बजार ह्वात्तै घटेको थियो । त्यसपछि अर्थमन्त्री खतिवडा अर्थमन्त्रीबाट बाहिरिने र राष्ट्रियसभामा फेरि सांसद् नबनाउने राजनीतिक वृत्तमा चर्चा चलेपछि शेयर बजार अस्वभाविकरुपले माथि उक्लेको थियो ।
खतिवडालाई नै छ महिना अर्थमन्त्रीमा निरन्तरता दिने समाचार बाहिरिएसँगै शेयर बजार एकै दिन ९६ अंकले घट्न पुगेको थियो । वित्तीय क्षेत्रले नरुचाएका व्यक्तिलाई पुनः अर्थमन्त्री बनाउन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विशेष जोडबल गरेपछि खतिवडा पुनः अर्थमन्त्री बनेका छन् । उनले आगामी वर्ष २०७६–७७ को बजेट ल्याउने बताइएको छ ।
नेकपाको घोषणापत्रअनुसार बजेट नआएको भन्दै गत वर्ष असन्तुष्टि जाहेर गरेका नेकपाका सांसद्हरुलाई सांसद् विकासको रकम बढाएर रु।१० करोड पु¥याउने भएपछि सांसद्हरु चुप लागेको नेकपावृत्तमा चर्चा चलेको छ । जनताबाट अनुमोदन भई नआएका कारण चुनाव जितेर आउनेहरुको पीरमर्का नबुझेको भन्दै खतिवडा सांसद् एवं व्यापारीहरुले नरुचाएको समाचारमा उल्लेख गरिएको छ ।
अर्थतन्त्रको भावी रुपरेखा र जनताको आर्थिक विकासलाई नबुझेका खतिवडालाई पुनः ल्याएर नेकपाले आफ्नो खुट्टामा बञ्चरो हानेको र अर्थतन्त्र तहसनहस बनाएको तथा राजस्व संकलन र विदेशी सहयोग घट्दै गएको अर्थविज्ञहरुले बताएका छन् ।
लीलामणि पनि जग्गा प्रकरणमा तानिने !
चीनका लागि नेपाली राजदूत माओवादीको दूत भनेर चिनिएका लीलामणि पौडेल आठ महिना कार्यकाल बाँकी रहँदै अकस्मात बेइजिङबाट फिर्ता बोलाइएका छन् । उनी २०७३ कात्तिकमा राजदूत भएर बेइजिङ गएका थिए । पौडेललाई तत्कालीन एमाओवादी केन्द्रका अध्यक्ष तथा हाल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको विशेष सिफारिसमा राजदूत बनाएर पठाइएपछि पौडेललाई माओवादीको ट्याग झुण्ड्याइएको थियो ।
अडानमा रहने भनिएर चर्चा गरिएका पौडेल मुख्यसचिव हुँदा बालुवाटार ललिता निवासको जग्गा र नेपाल ट्रष्टको सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको एक सय ७५ जनामा उनको नाम छैन । तात्कालीन मुख्यसचिव भएको नाताले उनलाई पनि कारबाही हुनुपर्ने भन्दै नेपाल तरुण दल र नेविसंघले सडक आन्दोलन गर्दै आएको छ । पौडेलको ठाउँमा सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहाुदर पाण्डेलाई चीनको राजदूतमा सिफारिस गरेको छ ।
पौडेललाई प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको विश्वास र भरोसा नभएकाले बोलाइएको हुनसक्ने चर्चा चले पनि प्रतिपक्षको मागलाई सम्बोधन गर्न फिर्ता बोलाइएको र बालुवाटार जग्गा प्रकरणमा तानिनसक्ने सम्भावना रहेको खबर नयाँ विमर्शमा उल्लेख छ । यता प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा बेवास्ता गरेको र चीनसँग कूटनीतिक सम्बन्धमा खासै प्रगति गर्न नसकेपछि ओलीकै जोडबलमा फिर्ता बोलाइएको जानकारहरुले बताइएका छन् ।