• काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।

    नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए। ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार नागरिकसँग भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन।’

    रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ।

    सरकारले श्रम स्वीकृतिमा रोक नलगाए पनि वैदेशिक रोजगारीमा जाने (श्रमिक), पठाउने (म्यानपावर) र मगाउने (रोजगारदाता) को सहमतिमै संख्या घटिरहेको दाहालले बताए। ‘रोग फैलिएयता कुनै दिन त पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा कम उड्ने गरेका छन्,’ दाहालले भने।

    नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।
    वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ कोरोना भाइरसको त्रासदी बढेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामात्र नभई गन्तव्य मुलुकबाटै मागपत्र आउने क्रम घटेको बताए। ‘केही दिनयता मलेसिया, साउदी अरेबियालगायतका मुलुकबाट आउने मागपत्रमा ७०/७५ प्रतिशतले गिरावट आइसकेको छ,’ उनले भने, ‘कुबेतलगायतका कतिपय मुलुकले विदेशी कामदार लिन रोक लगाइसकेका छन्।’ वैदेशिक रोजगारीका लागि मलेसिया र साउदी ठूला गन्तव्यको रूपमा परिचित छन्।

    विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब साढे १३ लाख युवा मलेसिया गएका छन्। त्यस्तै रोजगारीको खोजीमा साउदी जानेको संख्या नौ लाख हाराहारी छ। रोजगारीको खोजीमा बर्सेनि बिदेसिने करिब पाँच लाख युवामध्ये ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। संघका महासचिव श्रेष्ठले अहिलेसम्म नेपालबाट गएका र गन्तव्य मुलुकमै रहेका कुनै पनि नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित नभए पनि गन्तव्य मुलुकका रोजगारदाताबीच बढी त्रास फैलिएको बताए।नागरिक दैनिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…