मिलन के राउत
शिरमा गुँथेको पगडी, गालाको झ्याप्प दाह्रीले उनी साथीभाई माझ ‘सरदारजी’ कहलिएका छन् । पहिलो पटक देख्नेहरु उनलाई कुनै पञ्जाबी यूवा ठान्छन् । पञ्जाबी लुक्सकै कारण ३२ वर्षीय यी यूवा चलचित्रका कुनै नायकभन्दा कम छैनन् । पेशाले बस चालक उनी पूर्वको यातायात क्षेत्रमा ‘ह्यान्डसम गुरुजी’को रुपमा चिनिन्छन् ।
धरान काँकडभिट्टा रुटमा चल्ने मे १ ख ३०६८ नम्बरको पूर्वी नेपाल यातायातको बसमा आकर्षक शरीर बनाएका, ह्यान्डसम लुक्समा देखिने यी चालक धेरैको नजरमा परेका छन् । पञ्जाबी लुक्सकै कारण यात्रुको नजरमा नोटिस भएका छन् । उनको वास्तविक नाम, सूर्य सिग्देल हो ।
झापाको मेचीनगर १० का सूर्यलाई मोडलिङ र चलचित्रमा अफर नआएका भने हैनन् । यद्यपि परिवारप्रतिको दायित्वले उनी तत्काल स्टेयरिङबाट हात झिकिहाल्ने अवस्थामा छैनन् । भन्छन् ‘प्रारम्भमा कसैले पारिश्रमिकको कुरा गर्दैनन्, नामले मात्रै जीवन निर्वाह हुने अवस्था छैन ।’ फरक लुक्सकै सन्दर्भमा ‘मलाई कसैले हेण्डसम भन्यो भने एकदम खुशी लाग्छ ।
हो र, म त्यति राम्रो छु र ! जस्तो लाग्छ । यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महशुस गर्न रमाइलो लाग्छ ।’ उनले भने ।
‘धेरैजनाले‘ घुमाउरो पाराले प्रेम प्रस्ताव राख्ने गरेको पनि उनले खुलाए । ‘यस्तो अवस्थामा म हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबीच त्यहि सम्बन्ध नै काफी छ, अन्यथा सोच्नु हुँदैन ।’ पञ्जाबी संस्कार र संस्कृतिप्रति विल्कुलै अनभिज्ञ उनी धेरैले सुहायो भनेकैले टाउकोमा पगडीको राज खुलाउछन् ।
परिवारका जेठा सन्तान भएकोले उनी घरायसी दायित्वप्रति बढी सचेत छन् । मुलुकमा गाडी चलाएरै उँभो लाग्ने उनले सोचेका थिएनन् । त्यसैले भुँइतहका आम यूवाझै सूर्यलाई पनि विदेश मोहले छोप्यो । वैदेशिक रोजगारका लागि कतार हानिए । ड्राइभिङका लागि गएका उनले म्यानपावरसंगको सम्झौताविपरित अर्कै श्रम गर्नुपरेपछि कतारमा भनेजस्तो सन्तुष्टि नभेटेको बताए ।
जेनतेन २ वर्ष कतारमा विताएका उनी त्यसपछि ड्राइभिङकै लागि कुवेततर्फ लागे । आकर्षक तलबले लोभ्याएर कुवेत पुगेका उनले त्यहाँपनि कतारकै नियति भोग्नुपर्यो । गाडी चलाउन पाएनन् । ‘जानेको काम नै गर्न नपाएपछि के गर्ने ? बाध्यता घरपरिवार नै थियो’ सूर्यले ति दिन सम्झदै भने,‘ तीन वर्ष दुःख गरेर स्वदेश फर्किए ।’ उनलाई अब विदेश मोह कत्तिपनि छैन रे ! सीमित आय नै सहि, हाललाई पूर्वी नेपालको ‘मार्कोपोलो’नै छेलोखेलो छ । पूर्वकै प्रतिष्ठित बस कम्पनी पूर्वी नेपाल यातायातसंग सूर्य डेढ वर्षदेखि जोडिएका हुन् ।
पूर्वी नेपालका कुल १२ वटा मार्कोपोलो बसका चालक मध्य उनी अग्रज र नामी ड्राइभरमा दरिएका छन् । विगत ७ वर्षदेखि ड्राइभिङ पेशामा लागेका उनलाई जिन्दगीको सबैभन्दा अविस्मरणीय पल हाइवेमा पहिलोपल्ट बस हाँकेको क्षणलाई लिन्छन् । स्टेयरिङ समाएको यो अवधिमा कुनै दूर्घटना नगराएकोमा आफुलाई भाग्यमानी सम्झन्छन्, उनी । यातायात क्षेत्रमा पहिलाजस्तो दादागिरी नरहेको, यात्रुहरु पनि समझदार बन्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे । यद्यपि ट्राफिक प्रहरीको रुखो व्यवहारले उनलाई थुप्रै पटक आफ्नो कामप्रति निराश बनाएकोछ ।
सूर्यको आक्रोश भने ट्राफिकप्रति छ । भन्छन् ‘ट्राफिकको हेपायती व्यवहारले जहिल्यै तनाब मात्र हुन्छ ।’ सडकका अव्यवस्थित पूर्वाधार, पैदल यात्रुको चाँप, सिटी सफारी र अटोको अटेरीलाई सहज बनाउदै गाडी चलाउदापनि हप्काई खानुपर्ने भन्दै सूर्यले चित्त दुखाए । उनले भने, ‘यातायातकर्मी भन्दापनि ट्राफिक प्रहरीको व्यवहार सुध्रिए त्यो दूर्घटना न्युनिकरणमै योगदान पुग्छ ।’