•  

    काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच एकताको सहमति भएको छ ।
    शनिबार राति तीन अध्यक्षबीच भएको सहमतिपछि एकता टुंगो लागेको हो । सहमतिअनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन् ।
    राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठकले अध्यक्ष त्रयबीचको शनिबार रातिको सहमतिपछि एकता टुंगो लागेको र सहमतिपत्रमा हस्ताक्षर समेत भएको जानकारी दिए ।

    ‘एकता टुंगो लाग्यो, अध्यक्षत्रयबीच शनिबार राति सहमति पत्रमा हस्ताक्षर भयो, सम्भवतः बुधबार एकता घोषणा हुन्छ,’ पाठकले राजधानीसँग भने ।
    यसअघि एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा एकीकरणको सम्भावना टरेको थियो ।
    शनिबार रातिको सहमतिअनुसार हाल कायम रहेका तीनै वटा दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ । तर झण्डा भने थापा नेतृत्वले हाल प्रयोग गर्दै आइरहेको दलको नै राख्ने सहमति छ ।

    यसैगरी दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच बनेको छ । हालका लागि भने रप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पर्टीको महाधिवेशन गरिने छ ।
    २०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका हुन् ।

    राजसंस्थासहित हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन् । यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…