काठमाडौं । मेगा बैंकको नेतृत्व अर्थात् सीईओ महिला रहेको धेरैलाई थाहा छ । तर, धेरैलाई थाहा नहोला, सीईओ अनुपमा खुन्जेलीसँगै मेगाको उच्च व्यवस्थापनमा पनि महिलाको उल्लेख्य उपस्थिति छ । बैंकमा डेपुटी सीईओ (डीसीईओ), चिफ बिजनेश अफिसर, ग्लोबल मार्केट्स हेडलगायत व्यवस्थापनका महत्त्वपूर्ण पदहरू महिलाकै जिम्मामा छन् ।
बैंक व्यवस्थापनमा महिलालाई उच्च जिम्मेवारी दिनेमा मेगामात्र छैन । सरकारी र अन्य निजी बैंकहरूमा पनि महिला व्यवस्थापकको संख्या बढ्दो छ ।
महिलाको उल्लेख्य उपस्थिति रहेको क्षेत्र हो, बैंकिङ । पछिल्लो तथ्यांक अनुसार नेपालमा रहेका २७ वाणिज्य बैंकमा १४ हजारभन्दा बढी महिला कर्मचारी छन्, अर्थात् कुल बैंकिङ जनशक्तिको ३८ दशमलव ४६ प्रतिशत महिला छन् ।
नेपाल राष्ट्र बैंककी कार्यकारी निर्देशक निलम ढुंगाना तिम्सिना, मेगा बैंककी डीसीईओ रविना देशराज श्रेष्ठ, नेपाल बैंककी डीसीईओ समता पन्त (भट्ट), नेपाल क्रेडिट एण्ड कमर्शकी डीसीईओ वन्दना पाठक, सन्राइज बैंककी डीसीईओ आशा राणा अधिकारी, नेपाल बंगलादेश बैंककी एसिस्टेन्ट जनरल म्यानेजर सलोनिमा सिंह र सिटिजन्स बैंककी सहायक सीईओ उमंग शर्मा पछिल्लो समय नेपाली वाणिज्य बैंकका व्यवस्थापनको उच्च तहमा पुग्ने नामहरू हुन् ।
मेगा बैंककी खुन्जेली बैंकमा महिलाका लागि आरक्षणको व्यवस्था नभएको र अग्रपंक्तिमा भएका सबै महिला आफ्नै क्षमताले नेतृत्व तहमा पुगेको बताउँछिन् । ‘बैंकमा जनताको निक्षेप राखेको हुनाले कामप्रति इमानदार, पारदर्शी हुँदै राम्रो कार्यक्षमता प्रदर्शन गरेर तथा प्रतिस्पर्धाबाटै महिला नेतृत्व तहमा पुगेका छन्,’ उनी भन्छिन् । उनका अनुसार मेगा बैंक शुरुआत गर्दा ६० प्रतिशत महिलाको संख्या भएकोमा अहिले विभिन्न वित्तीय सस्था मर्जपछि भने यो संख्या घटेर ४३ प्रतिशतको हाराहारीमा रहेको छ ।
समाजले बैंकिङ पेशामा महिलालाई इज्जत दिने भएकाले करीब २९ वर्षअघि यो पेशा अँगालेकी उनी अधिकांश महिला इमानदार हुने भएकाले बैंकिङमा यस्तै महिलाको जरुरी भएको बताउँछिन् । नेतृत्व तहमा महिला पुग्न कामप्रति समर्पित हुनुपर्ने उनको अनुभव छ ।
अबको केही वर्षमा बैंकिङ क्षेत्रमा महिलाको वर्चस्व रहने सम्बन्धित महिला कर्मचारीहरू बताउँछन् ।
सरकारले आरक्षणबाट प्रवेश गराए पनि क्षमताले नै नेतृत्वमा पुगेको नेपाल बैंककी डीसीईओ समता पन्त (भट्ट)को तर्क छ । नेपाल बैंकमा कुल २ हजार ३१७ कर्मचारीमध्ये करीब ३५ प्रतिशत महिला भएको जानकारी दिँदै उनी भन्छिन्, ‘अन्य पेशाको तुलनामा बैंकिङ क्षेत्र निकै सुरक्षित, प्रतिष्ठित, आकर्षक तलब तथा राम्रो सेवासुविधा भएकाले महिलाको रुचि बढ्दै गएको छ ।’ कामप्रति सजगता, लगाव, संवेदनशीलता, जिम्मेवारीबोध महिलामा बढी हुने गरेको उनको अनुभन छ । साथै, सरकारी बैंकमा छिर्दा कोटा राखे पनि क्षमताले नै महिलाहरू नेतृत्वमा पुगेको उनको दाबी छ ।
नेपाली बैंकिङ क्षेत्रमा उपल्लो तहमा पुग्न सफल अर्को नाम हो, एनसीसी बैंककी डीसीईओ वन्दना पाठक । करीब २५ वर्षको बैंकिङ अनुभव समेटेकी उनी उत्कृष्ट काम गर्दै हौसला र पदोन्नति हात पार्नुको श्रेय आत्मविश्वास र निरन्तर कामप्रतिको लगावलाई दिन्छिन् । एनसीसी बैंकका अनुसार कुल कर्मचारीमध्ये ६० दशमलव ९८ प्रतिशत महिला छन् ।
राष्ट्र बैंकमा कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्दै आएकी निलम तिम्सिना महिला कर्मचारीको क्षमता भए पनि उनीहरूलाई कार्यक्षेत्रमा सधैं अब्बल प्रमाणित गर्न चुनौती रहेको बताउँछिन् । उनका अनुसार एउटै काममा पुरुषलाई विश्वास गर्ने तर महिलाले गर्न सक्दैनन् भन्ने सोच अझै छ । ‘यो गलत हो । हरेक कदममा महिलाले म अब्बल छु भन्ने प्रमाणित गर्नुपर्ने रहेछ । पुरुष कर्मचारीभन्दा शैक्षिक, प्राज्ञिक र काममा अब्बल हुँदा समेत महिला कर्मचारीको न्यून मूल्यांकन हुने चुनौती छन्,’ उनले भनिन्, ‘काम गर्दा निरन्तर अध्ययन गर्नुपर्छ, पदीय मर्यादा जोगाउनुपर्छ तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गरी नेतृत्व तहमा समेत पुग्ने लक्ष्य लिनु जरुरी छ ।’ आर्थिक अभियान
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        