•  

    खोटाङ, २५ फागुन 

    जिल्ला अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चार कोठे भवनमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र आजदेखि सञ्चालनमा ल्याइएको हो ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्तसञ्चार केन्द्रका लागि जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका वडा सचिव सञ्जीव आचार्यले पहिलो पटक रक्तदान गर्नुभएको छ । चौबिसै घण्टा सञ्चालन हुने रक्तसञ्चार केन्द्रका लागि आवश्यक सामग्री नगरपालिका र अस्पतालको आर्थिक सहयोगमा खरिद गरेर जुटाइएको केन्द्रका संयोजक एवं रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो ।

    जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्तसञ्चार केन्द्रका लागि चौबिसै घण्टा काममा रहने गरी नगरपालिकाबाट तीन तथा अस्पतालबाट एक जना दक्ष कर्मचारी खटाइएको नगरप्रमुख रिजालले बताउनुभयो । “केन्द्रमा आवश्यक रगत जुटाउन गाउँगाउँमा रक्तदान शिविर सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “आगामी दिनमा कसैले रगत अभावमा ज्यान गुमाउन तथा अन्यत्र जानुपर्ने छैन ।”



    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता गरिएको रेडक्रसका सभापति कुमारसिं बस्नेतले बताउनुभयो । “रक्तसञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखासँग सात बँुदे सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “दुईपक्षीय सम्झौताअनुसार यहाँ आवश्यक रगत भक्तपुरबाट ल्याउने र यहाँ सङ्कलन भएर खपत नभएको रगत भक्तपुर पठाउने सहमति भएको छ ।”

    भक्तपुर शाखाका सभापति मनोजकुमार थापा र खोटाङ शाखाका सभापति बस्नेतबीच भएको सम्झौताअनुसार खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बसोबास गर्दै आएका व्यक्तिलाई रगत आवश्यकपरेमा भक्तपुर शाखाले उपलब्ध गराउनेछ । यसका लागि जिल्ला शाखाको सिफारिस अनिवार्य हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

    जिल्लाको एकमात्र अस्पतालमा यसअघिसम्म ब्लड बैंक (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको भरपर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा रक्तदान गर्ने व्यक्ति अधिक भए पनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रको पहलमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र १५ श्ययाको अस्पताल सञ्चालनमा छ । पन्ध्र श्ययाको अस्पताललाई स्तरोन्नति गरेर ५० श्ययाको बनाउन विषयमा गत वर्ष नै मन्त्रिपरिषद्बाट निर्णय पारित भए पनि अहिलेसम्म काम अगाडि बढेको छैन ।

    विसं २०४८ मा स्थापना भएको अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा अहिले प्रसूति सेवासम्बन्धी मात्र शल्यक्रिया हुने गरेको वरिष्ठ मेडिकल अधिकृत रोशन ग्वाँछाले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…