काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ।
तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए। होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ।
विगत वर्षमा होली पर्व आउँदा तापक्रम बढिसकेको हुन्थ्यो। तर यसपटक भने मुलुकभर चिसो घटेको छैन। चिसो मौसममा पानीमा भिज्दा ज्वरो आउने तथा रुघाखोकीले सताउने सम्भावना पनि उच्च रहने चिकित्सकको भनाइ छ। यसले निमोनिया समेत निम्त्याउन सक्छ। रुघाखोकी लागेपछि शरीर कमजोर हुने र कमजोर शरीरमा कोरोनाले समेत सजिलै आक्रमण गर्न सक्ने यस क्षेत्रका जानकारको भनाइ छ।
निकै तामझामका साथ होली मनाउँदै आएका विद्यालय सञ्चालकहरूले पनि यसपटक होली नमनाउने निर्णय गरेका छन्। उनीहरूले विद्यार्थी तथा अभिभावकलाई समेत होलीको दिन भीडभाडमा नजान भनेका छन्। उनीहरूले चिसो पानी र रङ नछ्याप्न अनुरोधसमेत गरेका छन्। उनीहरूले सन्देश नै पठाएर यसबारे सचेत गराएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले भने, ‘एकपटक होली नखेल्दैमा केही फरक पर्दैन। स्वस्थ रहन सके अर्को वर्ष रमाइलो गर्न सकिन्छ।’
रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्राचार्यसमेत रहेका ढुंगानाले आफ्नो स्कुलमा यसपटक होलीमा रमझम नगर्ने निर्णय गरेको बताए। होलीमा सार्वजनिक स्थलमा रमाइलो गर्दै हिँड्दा फोहोर पानीले भिज्न सक्ने खतरा पनि उत्तिकै छ। रङ दल्दा त्यसभित्र रहेको सिसा र केमिकलका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्न सक्छ। सिसा र केमिकलले छालामा तत्कालीन र दीर्घकालीन रोग लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक अनुप बास्तोलाले बताए। उनले भने, ‘घरमा परिवारका साथ बसेर एकअर्कामा रमाइलो कुराकानी गरेर पनि यो पर्वलाई मनाउन सकिन्छ।’
शिक्षाविद् विद्यानाथ कोइरालाले जोखिम रहेको थाहा पाउँदा पाउँदै होली खेल्न नहुने बताए। ‘यो समयलाई पुस्तक लेखन, पठन तथा अन्य रचनात्मक क्रियाकलाप गरेर सदुपयोग गर्न सकिन्छ’, कोइरालाले भने। अन्नपूर्णबाट ।