•  

    फाेटाे स्राेतः गुगल

    फागुन २६, काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने प्रचलन छ । तर यस वर्ष हर्षोल्लासका साथ होली खेल्न भने नपाइने भएको छ ।

    कोरोना भाइरसको प्रकोप र त्रासका कारण सकेसम्म होली नखेल्न सरकारले आग्रह गरिरहँदा केही बालबालिका र युवायुवतीहरु रंग र पानीमा रमाइरहेका छन् । होलीको उल्लासमा रंग खेलिरहेका तमाम युवा युवतीहरुलाई यो थाहा नहुन सक्छ कि रंगले छालामा कस्तो असर गर्छ ?

    होलीमा रंगको प्रयोगले छालामा फोका आउनेदेखि क्यान्सरसम्मको खतरा देखिन प्राध्यापक एवम् वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् । होली खेल्दा सकेसम्म कालो, पहेँलो, नीलो, टल्कने रंगहरु भन्दा प्राकृतिक रंगहरुः बेसार, फुलहरुको पाउडर, मेहेन्दीको प्रयोग उत्तम हुने उनको भनाइ छ ।

    छालामा रंगले गर्छ यस्तो असर

    डा. सविना भन्छिन्– ‘कालो, पहेँलो तथा बजारिया रंगहरुमा धेरै मात्रामा हानिकारक केमिकलहरु, रसायनहरु मिसाइएको हुन्छ । जसले छालाबाट रगतमार्फत् मिर्गौला, मस्तिष्क लगायतमा असर गर्छ । त्यस्तै श्वासप्रश्वासमा समेत असर गर्न सक्छ ।’

    सुरुमा रातो हुने, चिलाउने, पोल्ने, मुख सुन्निएर आउने अथवा अन्य अंग सुन्निएर आउने समस्या पनि देखिन सक्छ । लगतै पानीको स–साना फोका आएर इन्फेक्सन हुने र पछिसम्म दाग बस्न सक्ने डा. सविनाको भनाइ छ । दिर्घकालमा क्यान्सर समेत हुन सक्ने उनले बताइन् ।

    आँखा, कपालको पनि विशेष ध्यान दिनुपर्छ । रंगले कपालमा समेत असर पार्न सक्छ । जसले कपाल झर्ने हुन्छ । रंगको कारणले गर्दा आँखामा समेत इन्फेक्सन हुन सक्छ ।

    यदि छाला रातो भएमा, एलर्जी देखिएमा तुरुन्तै रंग पखालेर मोस्चराईजरको प्रयोग गरी छिटोभन्दा छिटो छाला रोग विशेषज्ञको सम्पर्कमा जानुपर्ने डा. सविनाको सुझाव छ ।

    रंगको इन्फेक्सनबाट बच्न होली खेल्नुअघि र पछि अपनाउनुपर्ने सावधानी !

    डा. सविनाका अनुसार सकेसम्म दिनभरी रंग लिएर बस्नु हुँदैन । छिटोभन्दा छिटो पखाल्नु उत्तम हुन्छ । रंग खेल्दा सकेसम्म पुरा बाउला भएको लुगा लगाउनुपर्छ । घाममा धेरै हिँड्नु हुँदैन ।

    होली खेल्नुअघि मोस्चराईजर अथवा तेलको प्रयोग गर्नु राम्रो हुन्छ । शिरदेखि पाउसम्म यो लगाउनाले छालामा रंगको प्रत्यक्ष असर पर्ने सम्भावना कम हुन्छ ।

    अर्को कुरा रंग पखाल्नका लागि धेरै कडा साबुनको प्रयोग गर्नु हुँदैन । बेस्सरी रगड्नु पनि हुँदैन । धेरै रगड्नाले छालाको तह जाने र त्यसबाट इन्फेक्सन हुन सक्ने सम्भावना धेरै हुन्छ ।

    सकेसम्म पानीमा नभिज्न पनि उनले आग्रह गरिन् । ‘पानीमा भिज्दा रुघाखोकीको सम्भावना बढी देखिन्छ । यसले कोरोना संक्रमण हुन सक्ने सम्भावना धेरै भएका कारण सकेसम्म पानीमा नभिज्दा राम्रो हुन्छ । त्यस्तै हुलहरुमा नजान र समूह बनाएर होली नखेल्नु नै राम्रो हुन्छ’, उनले भनिन् ।

    बच्चा र गर्भवती महिलाहरुका लागि रंग अझै हानिकारक !

    होली पर्वमा बालबालिका र गर्भवती महिलाहरुले विशेष ध्यान दिनुपर्छ । किनकी बालबालिका र गर्भवती महिलाको स्कीन एकदमै कमलो हुने र रंगको असर अझै बढी पर्ने डा. सविना बताउँछिन् ।

    बालबालिकाको भित्री अंगमा समेत गहिरो असर पर्न सक्ने र गर्भवती महिलाको गर्भमा रहेको शिशुमा समेत असर पुग्न सक्ने उनको भनाइ छ ।

    सरुवा रोग विशेषज्ञ भन्छन्– होली नखेलेकै राम्रो

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला होली खेल्नु उचित नभएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

    ‘होली प्राय समूहमा खेलिन्छ । एकअर्कालाई अँगोलो मार्ने, रंगहरु दल्ने गरिन्छ । कसैले खोकेको छ, हाछ्युँ गरेको छ भने पनि मतलब हुँदैन, मतलब गरिँदैन रमाइलोको सुरमा । यदी कोही कोरोना संक्रमित रहेछन् भनेपनि थाहा नपाइ सर्न सक्छ’, डा. पुनले भने ।

    उनका अनुसार नेपालमा कोरोनाको केस नदेखिए पनि होली नखेल्नु भनेको सतर्कताको एउटा पाटो अपनाउनु हो । कोरोना मात्रै होइन, अन्य रोगहरु पनि सर्न सक्ने सम्भावना हुन्छ । यदि कोही बाहिरबाट आएका मान्छे रहेछन् भने उनीहरुको सम्पर्कमा होली खेल्दा संक्रमणको खतरा देखिन्छ ।

    कसरी बच्ने संक्रमणबाट ?

    डा. पुनका अनुसार कोरोना संक्रमण हुन नदिन सकेसम्म एकअर्कामा दुरी कायम गर्नुपर्छ । एकअर्कासँग नजिक नहुने । हात नमिलाउने । रुघाखोकी लागेका मानिसहरुसँग पनि दूरी कायम गर्ने ।

    घरबाहिर निस्कदा नाक, मुख, आँखाहरुमा सकेसम्म हात नलगाउने । सार्वजनिक स्थलबाट घर फर्किएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने उनको भनाइ ।

    त्यस्तै जनावर, पशुपंक्षीसँग पनि टाढै रहने र मासुहरु राम्रोसँग पकाएर मात्रै खाने अनि समय समयमा साबुन पानीले हात सफा गरिरहेमा कोरोना संक्रमणबाट बच्न सकिने डा. पुन बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…