• काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बुधबार बिहान विस्फोट भयो । उक्त विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्‍नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

    विस्फोट कसले र किन गरायो भन्ने पुष्टि भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ। ‘यो निकै ठूलो विस्फोटचाहिँ होइन, प्रतिबन्धित समूहले कुनै सन्देश दिने उद्देश्यले विस्फोट गराएको हुन सक्छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने।

    प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ।

    बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो । विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् भने नजिकै रहेको छिमेकीको घरमासमेत क्षति पुगेको छ । घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ।

    साढे तीन तल्ला घरको एक तल्लाको काम सकाएर बाँकी काम जारी थियो । निर्माण सकिएलगत्तै बास्कोटा घर सर्ने तयारीमा थिए । आफ्नो निर्माणाधिन घरमा भएको बम विस्फोटको घटना छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बास्कोटाले बताएका छन्।

    घटनापछि प्रतिक्रिया दिदैँ बास्कोटाले भने, ‘छानविन हुनुपर्यो, सत्यतथ्य बाहिर आओस। सम्बन्धित निकायले छानविन गरोस्।’

    मन्त्रीभएयता बास्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीकाे नीजी निवासमा बस्दै आएका छन्।

    घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन्।

    बास्कोटामाथि विप्लवका आरोप :
    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
    २४ अर्बको सेटलाइट खरिद प्रकरण करोडौं रकम भ्रष्टाचार गरेकाले । १९ अर्बको फेरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले ।
    १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कंगाल बनाउने भूमिका खेलेकाले ।
    मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा सुविधाका नाममा करोडौं हिनामिना गरेकाले ।
    सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूलो परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
    नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
    राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
    आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमक लाद्ने, चरम असहिष्णु, दलाल पूँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
    देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा पु¥याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…