•  

    फागुन २८, काठमाडौं । २०६४ सालतिर सबै नेपालीको हात–हातमा पुग्दै थियो चाइनिज मोबाइल । भर्खरका युवायुवती र वयस्कहरु वन, पाखा, सडक, गल्ली, गोरेटोमा गीत घन्काउँदै हिँड्थे ।

    एकदिन काठमाडौंकै कुनै हाईवे पार गर्दै थिए डम्बर नेपाली, कसैको मोबाइलमा बज्यो– ‘...तर अन्तिम पल्ट भेट्न आऊ’ । एक पटक होइन, पटक–पटक । तब उनको मनले सुसेली हाल्यो ।

    भक्कानिँदै खुशीका सुस्केरा निस्किए– ‘ए ! मेरो गीत पनि श्रोताको छनौटमा परेछ !’

    अब त रोड क्रसमा मात्रै सिमित रहेन । गाडीमा समेत बज्न थाल्यो । जता गएपनि ‘अन्तिम पल्ट’ । गायन क्षेत्रमा लाग्यो, यसको भविष्य सकियो भनेर हिजो बिर्सिएका साथीहरुले समेत फोन गरे– ‘आहा ! कस्तो राम्रो गीत । गाउन सक्ने रहेछस् तैँले । तेरो भविष्य रैछ यता । सफलताको शुभकामना !’

    प्रशंसकहरुको प्रशंसा उस्तै– ‘म तपाईँकै गीत सुनेर निदाउँछु । दिनभरी यही गीत सुन्छु ।’

    – ‘मलाई छोडेर गएको मेरो परिवार तपाईँको गीतकै कारण मलाई सम्झेर फर्कियो ।’

    सांगितिक क्षेत्रमा उनको छुट्टै पहिचान बन्यो, रातारात हिट भए !

    ...अनि बने ‘गायक डम्बर नेपाली’ !

    ‘अन्तिम पल्ट गीत यसरी हिट होला भन्ने सोचेको सम्म पनि थिइनँ । नसोचेको खुशी मिल्यो । यस्तो सफलता सायद कमै सर्जकको भाग्यमा मात्रै हुन्छ होला’, गायक नेपालीले भने ।

    कसरी भयो त यो गीतको सिर्जना ?

    ‘अन्तिम पल्ट भेट्न आऊ’ पहिलो एल्बम् निस्कनु भन्दा पहिल्यै लेखेका थिए डम्बर नेपालीले । तर त्यो सिर्जना थाँती राखेर ०६१ सालमा पहिलो सोलो एल्बम् निकाले ।

    पहिलो एल्बमको ‘आज आकाशमा एउटा तारा देखिनँ, के सम्झि खेल्यौ, सबै साथी गए’ लगायत सबै गीत हिट भए । सबैले मन पराए । कन्सर्टहरुमा निमन्त्रणा आउन थाल्यो । कार्यक्रमको कमी भएन । अहिले पनि चर्चामा छन् ती गीत ।

    ‘अन्तिम पल्ट’ लाई थाँती राख्नुको पनि बेग्लै कहानी छ !

    त्यो गीत लेखेर संगीत क्षेत्रमै आबद्ध दुई/तीन जनालाई सुनाए । सबैले भने– ‘त्यस्तो गीत त चलचित्रमा मात्रै हुन्छ । तिम्रो आवाजमा सुहाउँदैन पनि ।’

    संगीत क्षेत्रमा नयाँ थिए, हो जस्तै लाग्यो र थाँती राखे ।

    दोस्रो एल्बमको तयारी गर्दैगर्दा भने उनलाई छट्पटी भो । ‘अन्तिम पल्ट भेट्न आऊ’ लाई प्राथमिकता दिने विचार गरे– ‘होस्, म एकपटक जोखिम उठाउँछु । आवाजको परीक्षा लिन्छु ।’

    संगीत क्षेत्रको त्यो बेलाको ट्रेन नै अर्कै थियो, रैपनि च्यालेन्ज स्वीकार गरे ।

    संगीत पनि आफैँले भरे । ०६४ सालमा कान्तिपुर एफएमबाट गीत रिलिज भयो । तुरुन्तै संगीत क्षेत्रमै आबद्ध कसैको फोन आयो– ‘गीत त दामी बनेछ, बधाई छ !’ त्यसपछि फोन उठाउनै भ्याइ नभ्याइ भो, घरको काम समेत गर्न भ्याएनन् उनले ।

    त्यो च्यालेन्ज अवसर बन्यो । सफलताको स्वाद चखाउने गीत पनि !

    गायक नेपाली भन्छन्– ‘पप शैलीका गीत मात्रै गाउने मेरा लागि त्यो एक खालको जोखिम थियो । तैपनि च्यालेन्ज गर्न मन लाग्यो । सफल पनि भएँ । मेरो नामसँग जोडिएको गीत नै ‘‘अन्तिम पल्ट’’ बन्यो ।’

    स्टेज त पहिलो एल्बमबाटै मिलेको हो । अन्तिम पल्टपछि भने अवसरको ताँती नै लाग्यो । तर उनले केवल सफलतालाई सम्हाले, अवसरको पछि दौडिएनन् ।

    ‘गीतकै कारणले मैले देश–विदेश घुम्ने अवसर पाएँ । अनि विदेश पुग्ने बित्तिकै मैले गीत÷संगीतलाई बिर्सिदिने त ?’ उनको मनमा यी यावत प्रश्न–उत्तर भइरहन्थ्यो जब विदेशतिरका कार्यक्रममा जाँदा साथीहरुले ‘नेपालमा भविष्य के छ र ? गीत गाएर के हुन्छ ?’ भन्दै विदेशतिर सेटल हुन आग्रह गर्थे ।

    प्रश्नोत्तर जति नै भएपनि उनलाई कहिल्यै लागेन कि ‘अब विदेशतिरै सेटल हुन्छु ।’

    सफलता मिलेपछि ‘पहिले नै गर्नुपर्ने रहेछ’ भन्ने लागेन ?

    ‘त्यस्तो त लागेन । तर ‘‘अन्तिम पल्ट’’ गीत बजारमा आइसकेपछि भर्सटाइलको रुपमा चिनिएँ । एकैपटक जुन सफलता पाएँ, त्यसलाई अझै सम्हालेर राखेको छु ।’

    ००० ००० ०००

    बाल्यकालदेखि नै समझदार थिए डम्बर नेपाली । मेहनती । भलादमी उत्तिकै । घर–परिवार सम्हाल्ने पीताको निधनपछि भने १३/१४ वर्षको कलिलै उमेरमा जिम्मेवारी पनि थपियो । थप परिपक्व बनायो परिस्थितिले ।

    भविष्यको चिन्तनमा डुब्न थाले । तर डुबुल्की मार्ने कसरी ? कहाँ उत्रिने ? अन्जान !

    सानैदेखिको रहर गायन, उमेर बढ्दै जाँदा सपना बन्यो । लक्ष्य, भविष्य सबै उही ।

    गाउन भनेपछि हुरुक्कै हुने डम्बर नेपाली, जीवन नै गायनलाई सुम्पन चाहन्थे । थिएन त केवल सुम्पने कला । डर हुन्थ्यो बेलाबेला– ‘कतै कोइलीको आवाज वनपाखामा सिमित भएजस्तै हुने त होइन मेरो सपना ?’

    वनपाखा, दोबाटोमा त गीत गुनगुनाउँथे जानी–नजानी, तर ‘कस्तो गाउँछु, आवाज कस्तो छ ?’ त्यो थाहा थिएन । संगीतमै केही गर्नुपर्छ भन्ने त लाग्थ्यो तर त्यसको भविष्य थाहा थिएन । सुरुवात कहाँबाट गर्ने ? अत्तोपत्तो नाइँ ।

    किसानीबाट जिविकोपार्जन गर्दैगर्दा यस्ता अनेक सवाल मनमा उठ्थे, जवाफ शून्य ।

    विद्यायलमा शिक्षक/शिक्षिकाका प्यारा उनी, अवसर पाउँथे गाइरहने । विद्यालयका कार्यक्रममा गीत गाउँदा जब साथीहरुले– ‘तँ गीत राम्रो गाउँदो रहेछस् । तेरो आवाज राम्रो छ’ भनेर मूल्यांकन गर्न थाले तब गायकी भुत उग्र हुन थाल्यो ।

    राम्रो गाउन सक्ने रैछु भन्ने लाग्यो, किताबहरु बटुलेर संगीत सिके घरैमा । गिटार, हार्मोनियम, कम्पोजिसन सबै सिके । अभ्यास गरे । संगीतका आधारभूत कुराहरुको ज्ञानपछि ब्याण्डतिर लागे । कार्यक्रमतिर सक्रिय हुन थाले । त्यसपछि एल्बमको भूत चढ्यो, सिर्जना आफैँले तयार पारे । काठमाडौंका विभिन्न स्टुडियो धाएर गीत रेकर्ड गराए ।

    तर एल्बम् निकाल्न सजिलो थिएन, भएन पनि । पहिलो गाँसमा ढुंगा परेजस्तो भो !

    रेकर्डिङ त गरे तर गीत निकाली दिन्छु भन्ने कम्पनीले झण्डैं डेढ वर्षै झुलायो । उनको गीतको मास्टर कपी बाकसभित्रै सिमित राखिदियो ।

    ‘मेरो जिन्दगी थियो त्यो सिर्जना । बन्धक राखिदियो कम्पनीले । मलाई त्यतिबेला आफैँलाई बाकसभित्र थुनेजस्तो भयो । लफडै पर्यो’, गायक नेपालीले भने, ‘आफ्नै मास्टर कपी लिनका लागि मैले मुद्दा मामिला गर्नुपर्यो । रकम तिर्नुपर्यो । मिडियामा नआउँदै मैले त्यो किसिमको सजाय पाएको थिएँ ।’

    ०६०/६१ सालतिर अर्को कम्पनीबाट निस्कियो एल्बम, संगीत क्षेत्रमा चासो निधो भयो । लफडा झिक्ने कम्पनीले समेत प्रशंसा गर्यो । अग्रज, श्रोताबाट राम्रै प्रतिक्रिया बटुले ।

    गायक नेपालीका गीतहरु मिक्सअप, स्लो रक, पप आधुनिक र सुगम संगीत लगायत छन् ।

    ००० ००० ०००

    सरिता नेपाली र बलबहादुर नेपालीका तीन छोरा र एक छोरीमध्ये माइला सन्तान उनी ।

    एउटा उखान थियो– ‘माइलो सन्तानले धेरै दुःख पाउँछ !’


    उनको बुझाई र भोगाइ अनुसार फरक छ माइलो सन्तानको परिभाषा– ‘माइलो सन्तानले संघर्ष गर्नुपर्दो रैछ जस्तो लाग्छ मलाई । जसमा घरपरिवारलाई बुझ्ने क्षमता हुन्छ, उसले उसैपनि दुःख पाउँछ । ४ सन्तानमध्ये म निकै समझदार थिएँ ।’

    सांगितिक संघर्षको मैदानमा होमिएका उनको विवाह पनि त्यसैबिच जुर्यो, जतिबेला पहिलो एल्बम् निस्कियो । डम्बर नेपालीको मेहनतीपनलाई उनको घरदेखि १ घण्टाको दुरीमा रहेकी रुपाले मन पराईन् । २२/२३ वर्षका थिए उनी, थाहै नपाई प्रेम बस्यो । प्रस्ताव राखे ।

    ‘भविष्य अन्यौल छ भन्ने बुझ्दा बुझ्दै पनि हामीले विवाह गर्यौँ । सोचेर, बुझेर सम्बन्ध गाँस्छु भन्ने भएको भए हाम्रो विवाह नहुन पनि सक्थ्यो । सायद उमेरै त्यस्तो थियो,’ उनले भने ।

    अन्यौलमै सही, पछुतो छैन विवाहको । विवाहपछि झन् जिम्मेवार बनेर अठोटका साथ काम गर्न थाले । संगीत क्षेत्रलाई निरन्तरता दिए । विवाहपछि नै हो, उनको सफलता चुलिएको ।

    मोरङ्ग, उर्लाबारीका उनी विवाहपछि फुल टाइमर गायक÷संगीतकार बने । ६३ सालदेखि काठमाडौंमै बसेर गीत संगीतमा सक्रिय भए । आफूलाई थप निखार्दै लगे । एक छोरी र छोरा छन् उनको ।

    भन्छन्– ‘उनी भित्रिएपछि मेरो जीवनमा धेरै परिवर्तन आयो । मेरो संघर्षमा ब्याक सपोर्ट उनैको छ । म आज जहाँ छु, उनैको कारणले छु ।’

    ००० ००० ०००

    आफूले रोजेको क्षेत्र भएका कारण उनको कला र गलामा न कसैको नातावाद हावी भयो न समाज । क्षमतावान् र मिलनसार स्वभावका कारण पनि उनले यो क्षेत्रमा दुःखी हुनु परेन ।

    तन, मन, धन संगीत क्षेत्रमै समर्पण गरे, थाहै नपाई बित्दैछ जिन्दगी – ‘मैले जिन्दगी नै यो क्षेत्रलाई अर्पण गरेको छु । यही क्षेत्रबाट आफ्ना सम्पूर्ण रहरहरु पुरा गरिरहेको छु, जीवन धानिरहेको छु । मलाई यो क्षेत्रले सम्मान दिएको छ । पहिचान दिएको छ ।’

    यो क्षेत्रमा केही गुमेको पनि छ उनको । केही खोसिएको छ । केही हराएको छ ।

    त्याग गरेका छन् केही थान रहरहरु– ‘मलाई पनि साथीभाईसँग विन्दास पारामा हिँड्न मन लाग्छ । उनीहरुसँग रमाइलो गर्न मन लाग्छ, उनीहरुकै तालमा । मन लागेका कुरा मन लागेका ठाउँमा खान पाइन्न, गर्न पाइन्न । यी सब त्यागेको छु । सांगितिक क्षेत्र बाहिरका कैयन इच्छा र आकांक्षामा ताला मार्नु परेको छ ।’

    भाग्यमा विश्वास गर्दैनन् उनी । भरोसा मेहनत र परिश्रममा छ, रत संघर्षमा होमिए ।

    संघर्ष कसैले सुनेर महशुष गर्न सक्दैन, भोग्नैपर्छ । त्यसैले पनि कोट्याउनै चाहँदैनन् विगत ।

    सिर्जनाका लागि मानिसहरु कहाँ कहाँ डुल्छन्, फिर्छन् । तर उनलाई त्यति सकस पर्दैन । एउटा कथा कल्पना गर्छन् । कथामा डुब्छन् । त्यसमा हुनुपर्ने सबै कुराको अध्ययन गर्छन्, कति अन्तरामा आफ्ना भोगाइ समेट्छन् त कतिमा अरुको ।

    आफ्नै सिर्जनालाई प्राथमिकता दिँदै आएका उनको झण्डैँ ५० वटा गीत श्रोतामाझ आइसकेको छ, जसमा संगीत उनैले भरेका छन् । शब्द पनि उनैको । अरुको शब्द पनि गाएका छन् उनले, कसैको शब्दमा संगीत भरिदिएका छन् । जे–जति छन् सबै हिट छन्, उनीसँग जोडिएका गीत र संगीतहरु ।

    ००० ००० ०००

    ४० बसन्त पार गर्दैगर्दा स्मृतिमा ताजै छन् उनका संघर्ष । पहिले जस्तो कहाँ छ र यो क्षेत्र ? निकै सहज भइसक्यो भन्छन् उनी ।

    अहिले जस्तो थिएन रे उनको पालामा गायनका प्लेटफर्महरु । थिएनन् रे प्रशंसकका प्रेम प्रत्यक्ष छल्किने, हौसला प्रदान गर्ने रियालिटी शोहरु । विकृति पनि भित्रिएका छन् उतिकै । चुनौती बढेको छ ।

    पहिले साँघुरो लाग्ने यो क्षेत्र अहिले फराकिलो लाग्छ उनलाई– ‘अवसरै अवसर छ, सिंगर बन्न चाहनेहरुका लागि ।’

    पछिल्लो समय कतिको व्यस्त हुनुहुन्छ ? गीत/संगीतबाट ओझेलिँदै जानुभएको हो ?

    – ‘पछिल्लो समय गीतहरु भन्दा पनि कम्पोजिसनमा अलि बढी व्यस्त छु । संगीत दुनियाँमै छु, ओझेल परेको छैन । देश/विदेशका कार्यक्रमतिर पुगेकै हुन्छु । मेला/महोत्सवहरुमा भ्याइ नभ्याइ हुन्छु ।’

    उनलाई बारम्बार प्रश्न आउँछ, अन्तिम पल्ट गीतपछि अरु गीत किन निकाल्नु भएन ?

    आफैँ छक्क पर्छन्, जबकी अन्तिम पल्टपछि उनले ‘बिग्रेको मान्छे म भत्केको घर, तिम्रो पाउजु बजेर थाहा पाए अरुले, जब साँझ पर्छ’ लगायत थुप्रै गीत निकालिसके । मानिसहरु उनैको गीत गुनगुनाउँदै हिँड्छन् । सुसेल्छन् । केही हप्ताअघि मात्रै ‘स्विटर फाटेको’ गीत बजारमा ल्याए । र पनि गायबको ट्याग ?

    भन्छन्– ‘म मिडियामा त्यति आउन नचाहने, देखा नपर्ने भएर हुन सक्छ हराएजस्तो लागेको !’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…