• (नेपाली काँग्रेस विवादको भूमरीमा फसेको छ । २०७६ फागुनमै महाधिवेशन गर्नुपर्ने सभापति शेरबहादुर देउवाले एक वर्ष समय लम्ब्याएर त्यसमाथि पनि महाधिवेशनलाई प्रभाव पार्ने गरी विभागहरू गठन गरी आफू निकटका नेताहरूलाई जिम्मा दिएपछि इतर पक्ष आक्रोशित भएको छ । एकताको बहाना गर्ने अनि फेरि गुटमा रमाउने काँग्रेसी नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ । यो आरोपले कसलाई कहाँ पु¥याउला ? यिनै विषयमा केन्द्रित रहेर हामीले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग कुराकानी गरेका छौं

    ० सभापति देउवाले पद बाँडफाड गरेकोमा तपाईलाई किन आपत्ति ?
    –आफू बलियो हुँदाखेरी एकलौटी ढङ्गले चल्दा त त्यसले विकृति ल्यायो । त्यसले त पार्टीलाई धेरै ठूलो नोक्सान भयो । डेमोक्रेसीलाई नै क्षति पुगिरहेछ । त्यसो भएर यो आफू बलियो हुन पद बाँड्ने जुन प्रवृत्ति छ त्यो निन्दनीय छ ।

    ० विभाग गठन गर्नु त उहाँको नैसर्गिक अधिकार हो भन्नुभयो नि त ?
    –हो उहाँको अधिकार होला । उहाँले प्रधानमन्त्री हँुदा पनि ६३ जनाको मन्त्रीमण्डल बनाएर दुनियाँमा मिसाल कायम गर्नुभयो । त्यो वहाँकै अधिकार प्रयोग गर्नुभएको हो । यस्तै अधिकारको प्रयोग गर्दागर्दै नेपालको प्रजातन्त्रमा यत्रो ठूलो विकृति आयो । जसले गर्दा यत्रो शहीदहरूको बलिदान खेर गइरहेको छ । सारा सपूतहरूको योगदान कहाँ गयो । कस्तो सपना जनताले देखेका थिए । कस्तो नेपाल सोचेका थिए । आज कहाँ पु¥याइयो । अझै कहाँ पु¥याउन खोज्या हो ।

    ० तपाई देउवाले आव्हान गरेको केन्द्रीय समिति बैठकमा पनि जानुहुन्न ?
    –केन्द्रीय समिति बैठक हामीले किन वहिस्कार गर्ने ? हामीले उहाँले गठन गरेको विभागलाई मानेनौं । गलत कुरालाई विरोध गरिरहन्छौं त्यही हो ।

    ० देउवा नेतृत्वको चार वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
    –यस्तै यस्तै उल्टो काम गर्ने मान्छेलाई सभापति चुनेर हामीले ठूलो गल्ती गरे छौं ।

    ० किन सम्झौता गर्नुहुन्छ त समय समयमा ?
    –त्यो त बाध्यता हो नि । सम्झौता गरे, गरे भन्छन् तर हामीले त विभाग नै चाहिँदैन भन्दियौं । फेरि भन्नुहुन्थ्यो होला कि विभाग पाएपछि खुरुक्क सहमति गरे । त्यसो भएकाले हामीले विभाग चाहिँदैन । हामी सहभागी हुन्नौं । अहिले विभाग गठन नगर्नुस् भनेका हौं । अहिले विभागहरू गठन गर्ने समय होइन नि । टाइममा विभागहरू गठन गर्नुपर्दथ्यो, गर्नुभएन । अब गर्नुपर्ने काम गर्नुस् ।

    अब महाधिवेशन सम्पन्न गर्नुस् । अब कम्युनिष्टसंग वा प्रतिपक्षीसंग सामना गर्न सक्ने पार्टी बनाउन प¥यो । जनताका आगाडि उभिने पार्टी बनाउनु प¥यो । नेपाली जनताको भरोसाको केन्द्रविन्दु बनाउनु प¥यो । अब अहिले त्यतापट्टी पो लाग्नुपर्छ । पार्टीलाई सक्षम बनाउनपट्टी पो लाग्नुपर्छ । खाली पद बाँड्नेमा ध्यान किन ? तँलाई यो दिन्छु र ऊ दिन्छु भनेर सबै मान्छेलाई पद देखाउँदै लोभ्याउँदै गर्ने तरिका त ठीक हैन नि ।

    ० तपाईहरू देउवालाई संधै गलत किन देख्ने ?
    –पद बाँडेर आफू बलियो बन्ने काम गलत भयो । राम्रो काम गरेर लोकप्रिय बन्ने कहिल्यै हैन । खाली पद बाँड्ने अनि मान्छेलाई प्रलोभन दिएर व्यक्तिलाई खुसी गराउने काम पनि कहीं हुन्छ ? मैले त्यो बेलामा पनि उहाँलाई भन्या थें–म सभामुख थिएँ उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्रीजी तपाईले के गर्न खोज्नुभएको ? व्यक्तिलाई पद दिने कुरामा मन्त्री थप्ने कुरामा यस्तो नगर्नुस् कि एमालेसंग सम्झौता गर्नुस् कि राप्रपासंग सम्झौता गर्नुस् । पार्टी पार्टी सम्झौता गरेर कोलिसन चलाउनुस् न । कोलिसन चलाउने तरिका भएन नि । व्यक्ति व्यक्ति तानेर यसरी लिँदा त विकृति भयो । यो विकृति नल्याउनुस् भनेर भन्दा भन्दा अब के के काण्ड भयो त्यो बेलामा अहिले पनि त्यस्तै भइराख्या छ । पार्टीमा विकृति ल्याउने, देशमा विकृति ल्याउने काम त गर्नु भएन नि ।

    ० तपाईहरू पनि त काम गर्न दिनुहुन्न रे ?
    –काम गर्न उहाँलाई जति भने पनि दिइएको छ । काम गर्नु भनेर पछि लागेको लाग्यै छु । उहाँले प्रशिक्षण भन्नुभयो । जता जानुपर्छ अगाडि अगाडि गएँ । चुनाव भन्नुभयो जता, जहाँ भन्नुहुन्छ त्यहीं पछिपछि गएँ । कार्यक्रम के आउँछ त्यसलाई लागू गर्नमा पुरै समर्पित भएर लाग्या छु । हामीले जे गर्नुपर्छ सहयोग गर्दागर्दै पनि उहाँ उल्टो उल्टो काम गर्नुहुन्छ । उल्टो कामको पछि कति लागेर सकिन्छ । महासमिति भन्दा अगाडि मैले महाधिवेशनको कार्यतालिका बनाएर जाम भनेर समयबद्ध काम गरौं सुनौलो भविष्यको लागि भन्दाखेरीमा उहाँहरूले कुरा नसुनेर पेलेर लगेर महाधिवेशन सम्पन्न गरेर पार्टी बलियो बनाउने बेला हो कि पद बाँड्दै हिंड्ने बेला हो ?

    ० विभागहरूमा नबस्दा तपाईहरूलाई घाटा हुँदैन ?
    –के को घाटा । अब त पार्टीको अधिवेशन सम्पन्न गर्ने बेला हो । पार्टी बलियो बनाउने हो । अहिले विभाग थपेर विभागमा बसेर के हुन्छ ? के गर्छ अहिले विभागले ।

    ० तपाईहरू नबस्दा झन् देउवा बलियो बन्नुभयो नि ?
    –उहाँ कति बलियो बन्नुहुन्छ हेरौंला नि । विभागै विभाग थपेर कति बलियो भइँदो रहेछ त्यो पनि म हेर्छु ।

    ० देउवाको त शक्तिशाली गुट छ नि त ?
    –देउवाको त्यही गुटले त देशलाई बिगा¥यो । एउटा व्यक्तिको पछाडि जुन गुट समर्पित हुन्छ त्यसले राष्ट्रलाई प्रजातन्त्रको बाटोमा अगाडि बढाउन बाधा पु¥याउछ ।

    ० तपाईहरूसंग कुनै विकल्प छ र ?
    –हामी त पार्टीको महाधिवशेन सम्पन्न गर्नका लागि लागेका छौं । क्रियाशील सदस्यताको फारम पठाइएको छ । त्यसैमा साथीहरू लागिरहनु भएको छ । महिला, दलित, जनजाति यो समावेशी विधान छ हाम्रो पार्टीको । सक्षम मान्छेहरूलाई क्रियाशील बनाएर योग्य राम्रा मान्छेहरू पार्टीमा ल्याएर कार्यकर्ताले नै समस्याको सामना गर्न सक्ने ल्याउनु पर्छ ।

    ० क्रियाशील सदस्यतामै धाँधली हुन सक्दैन ?
    –धाँधली हुने हामीलाई चिन्ता छ । धाँधलीलाई रोक्न खवरदारी गर्छौं । हामी रोक्छौं ।

    ० देउवाको शक्तिको अगाडि रोक्न सक्नुहुन्छ ?
    –हामी पार्टी बनाउन लागेका छौं, यसका लागि देउवाको शक्ति तोड्ने छौं । हामी धाँधली रोक्ने कोसिस गर्छौं । जति सकिन्छ लड्छौं । देशको भविष्यका लागि पनि लड्छौं । काँग्रेसको भविष्य छ, प्रजातन्त्रको भविष्य छ भन्ने महसुस कार्यकर्ताले गरेपछि हामी सफल हुन्छौं ।

    ० पैसाको चलखेल पनि भएको हो त ?
    –मैले त्यस्तो भनेको छैन । पद दिएर महाधिवेशनमा आफूलाई बलियो बनाउने र प्रभावित पार्ने अनैतिक काम, कुरा भएको छ । महाधिवेशन प्रभावित पार्न पाइँदैन भनेर खबरदारी गरेको छु ।

    ० मतलब काँग्रेस अहिले संकटमा छ ?
    –संकटबाट मुक्त गर्ने कोसिसमा हामी छौं । यो संकटलाई हामी मुक्त गराएरै छाड्छौं । त्यसकै लागि हमी संघर्ष गरिरहेका छौं ।

    ० सभापतिले त पार्टीको सिष्टमलाई नै बिगारेजस्तो लाग्दैन ?
    –काँग्रेसमा विकृति आयो भने देशमा विकृति आउँछ । प्रजातन्त्रमा विकृति आउँछ । त्यही भएर नै हामी काँग्रेसलाई सिष्टममा चलाउन प¥यो भनिरहेका छौं ।

    ० यसको समाधान के देख्नु हुन्छ त ?
    –हामी देशभरिका साथीहरूलाई भनिराख्या छौं । अतीतका गल्ती नदोहो¥याउनुस् । सजग हुनुस् । १३ औं महाधिवेशनको गल्ती कसैले पनि नदोहो¥याउनुस् भनिराखेका छौं ।

    ० १४ औं महाधिवेशनमा देउवाविरुद्ध तपाईहरूको एक भएको हो ?
    –हामी एक हुन्छौं मलाई विश्वास छ । हामी पदको लागि झगडा गर्दैनौं । हामी मुद्दाको लागि झगडा गछौं । पार्टीलाई बलियो बनाउन र काँग्रेसलाई कर्मशील बनाउनको लागि, काँग्रेसलाई हरेक दृष्टिकोणबाट प्रतिपक्षीको सामना गर्न सक्षम बनाउनको लागि हामी एक हुन्छौं ।

    ० गुटमा धेरै नेता छन् व्यवस्थापन गर्न सक्नुहुन्छ ?
    नेपाली काँग्रेस हजारौं क्षमतावान कार्यकर्ता भएको पार्टी हो । नेताहरू पनि अब्बल हुनुहुन्छ । सबैले एउटा एउटा जिम्मेवारी लिएर काम गरिहाल्नुहुन्छ नि ।

    ० देउवा इतर समूहबाट एक जनामात्र सभापतिको बन्ने सम्भावना छ र ?
    –अब हाम्रोतर्फ सभापतिको उम्मेदवार एक जना मात्रै हुन्छ । एक जनाबाहेक त्यो जो उठ्छ त्यो शेरबहादुरको मान्छे हुन्छ । त्यो पनि कार्यकर्ताले बुझ्छन् यसपालि ।

    ० अब देउवालाई सभापति बन्नबाट रोक्न सक्नु हुन्छ त ?
    –सक्छौं, हामी अब देउवालाई सभापति हुन दिँदैनौं । रोक्छौं ।

    ० अबको सभापति तपार्इं हो त ?
    –म बनौंला वा अरु कोही बन्ला । हामी सल्लाह गरेर अगाडि बढ्छौं । हाम्रो बीचमा कसैले फुट ल्याउन सक्दैन । हाम्रो संकल्प पनि त्यही हो । मैले त स्पष्ट भनिदिएको छु साथीहरूलाई कि यो डुब्न लागेको काँग्रेसलाई माथि उठाएर छोडिदिने । यसभित्र न्याय स्थापित गरेर छोड्ने । म त्यसको लागि काम गरिराख्या छु ।

    ० युवा पुस्ताले सघाउलान् ?
    –कांग्रेस बचाउन अब सबैको साथ हुन्छ । नयाँ पुस्ता नै हामी हौं । नेपाली काँग्रेस नयाँ भएर आउँछ । नयाँ जीवन प्राप्त गर्छ । संकल्प, भिजन र मिसन भएपछि सम्भव छ । यो देशलाई भ्रष्टाचारमुक्त बनाएर जाने हो । विकृतिबाट मुक्त गर्ने हो । राजनीति सफा गरेर जनताप्रति राजनीतिलाई विश्वास जगाएर लोकतन्त्रलाई साकार पार्छौं ।

    ० सपना त देख्नुभयो तर काँग्रेस त अहिले प्रतिपक्षीको लायकसमेत छैन भनिन्छ नि संसदमा ?
    –हो, त्यही संसद हो जहाँ म प्रतिपक्षी दलको नेता थिएँ । जहाँ प्रचण्डजी प्रचण्ड बहुमत लिएर आउनु भएको थियो । त्यस्तै चाहिया छ संसद । त्यो बेलाको सम्झनुस् त ।

    ० काँग्रेस बचाउने संजीवनी बुटी छ त तपाईसंग ?
    –छ । एकदमै छ । नेपाली काँग्रेस एउटा स्पष्ट भिजन र मिसन लिएर अगाडि बढ्छ । लोकतन्त्रको लागि जन्मेको पार्टी हो । नेपालमा लोकतन्त्र साकार गर्नुछ । नेपालको प्रगति लोकतन्त्रको माध्यमले गर्ने हो । वीपीले भन्नुभएको समाजवादको नयाँ सन्दर्भमा नयाँ व्याख्या जरुरी छ । निमुखालाई न्याय र विपन्नलाई आय दिने एउटा काँग्रेस चाहिएको छ । देशलाई यही व्यवस्था चाहिएको छ । हामी नेपालमा प्रजातान्त्रिक समाजवादी व्यवस्था लागू गर्छौं । र, हामी नेपालको चौतर्फी प्रगति गराउँछौं ।

    ० सत्तासंग मिलेर काँग्रेसले भ्रष्टाचार ग¥यो भन्ने हल्ला छ नि ?
    –यो भ्रष्टाचारको जालो तोड्ने हो । देशलाई विकृतिबाट मुक्त गर्ने हो । अहिलेको मूल एजेन्डा नै त्यही भइराख्या छ । कुर्सीका लागि तीनतिर कारोबार भइराख्या छ । त्यसलाई रोक्नकै लागि म लड्ने हो । म त्यसैका लागि दौडिराख्या छु । म भ्रष्टाचारविरुद्ध पहिले पनि लाग्या हुँ अहिले पनि लाग्छु । भ्रष्टाचार गर्न किन्ने र किनिने शक्तिलाई पाखा लगाएर अगाडि बढ्ने हो ।

    ० भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न सक्नुहुन्छ त ?
    –म भ्रष्टाचार, विकृति, विसंगतिको विरुद्ध लड्छु । तपाईले राम्रो काम गर्नुभयो भने सहयोग जुट्छ ।

    ० परिवारवाद छिन्न सक्नु होला ?
    –सबैका योगदान छन् नि त । यो देशको लोकतान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसले लडेको ७० वर्षको लोकतन्त्रको आन्दोलनमा धेरैको योगदान छ । कति शहीद भए, कति सपूत भए, कतिको सारा परिवारले दुःख भोगे । सबै कुरा छ नि त यहाँ त । ठूलो योगदान, ठूलो तपस्या, ठूलो मानिसहरूको लगानी छ देशमा । नेपालमा कोइराला परिवारको ठूलो योगदान छ । गणेशमानजी, किसुनजीको त्यस्तै छ । यो त महान् विभूतिहरूको पार्टी हो नेपाली काँग्रेस । तर, अहिले पार्टी राम्रो अवस्थामा छैन । अब यसबाट कसरी मुक्त हुने भनेर हामी लागिरहेका छौं । आम कार्यकर्ताको चिन्ता छ । पार्टीलाई सुधारेर लगेमात्र देशलाई बचाउन सकिन्छ भनी निष्ठावान साथीहरूलाई चिन्ता छ ।

    ० अन्त्यमा, ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री एवं अहिलेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अदालतले बोलाएको छ । के भन्नुहुन्छ ?
    –हाम्रो भनाई के हो भने एउटा क्याबिनेटले गरेको निर्णयमा क्याबिनेट त उत्तरदायी हुनुपर्ने हो नि । क्याबिनेट उत्तरदायी हुनुपर्छ कि पर्दैन क्याबिनेटले निर्णय गरेपछि । त्यो झुक्याएर गरेको निर्णय त मिलेन नि ।

    देउवालाई अब सभापति हुन दिन्नौं

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…