•       २०७६ फाल्गुण २९ बिहीबार 

    काठमाडौं । उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको छ । घाँसीले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको बताए । स्थानीयले घाँस खोज्न वनमा गएका बेला शंकास्पद वस्तु देखेपनि त्यसबारे खबर प्रहरीसम्म आइपुगेको उनले बताए । बम रहेको स्थानलाई त्यहाँबाट करिब १ सय मिटर टाढा रहेको मिरुल रानागाउँस्थित प्रहरी इकाइले नियन्त्रणमा लिएको छ ।

    प्रनाउ गुरुङका अनुसार बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ रानागाउँस्थित प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वले गरिरहेको छ । उक्त क्षेत्रबाट थबाङ–३ मिरुलको वडा कार्यालय पनि नजिक छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो । समितिका अनुसार बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटनास्थल पठाउने निर्णय भएको छ । सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ ।

    शान्ति प्रक्रियापछि जिल्लाका विभिन्न स्थानमा बम, बारुद र हतियार भेटिएका छन् । यहीबाट सुरु भई करिब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीले व्यापक मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेका थिए । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…