फागुन ३०, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने नेपालको परीक्षण विश्वसनीय भएकोमा ढुक्क छन् । उनले नयाँ पत्रिकालाई भने, ‘कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’
नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना वेलावेलामा हङकङ पनि पठाउँदै आएको छ । ‘संकलन गरेका नमुना हङकङ पनि पठाउने गरेका छौँ । सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो,’ उनले भने, ‘अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ ।’
नेपालमा हालसम्म चार सय ५० जनाको नमुना परीक्षण गरिएकोमा सुरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका चार सय ४९ मा कोरोना भेटिएको छैन, आजको नयाँ पत्रिकामा समाचार छ ।
तर, संक्रमणको आशंकामा बिरामीलाई वेलावेलामा आइसोलेसनमा राख्ने गरिएको छ । अहिले पनि संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा चार र पाटन अस्पतालमा दुई व्यक्तिलाई भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको रिपोर्ट आइसकेको छैन ।
जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिएकामा धेरै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) देखिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् । ‘मौसमी रुघाखोकीजस्तै कोरोना पनि लुक्ने रोग होइन । त्यस्तो रोग लागेमा लुकाउन सम्भव छैन, ल्याबमाथि पनि शंका गर्ने ठाउँ छैन,’ झाले भनिन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको गुणस्तर कायम भए–नभएको हेर्न पहिलो पोजेटिभ केसलाई पनि हरेक ब्याचमा परीक्षण गरिरहेको छ । ‘ल्याबको गुणस्तर मापन गर्न सो ब्याच हरेक दिन परीक्षण हुन्छ । तर, त्यसबाहेक अन्य नमुनामा कोरोना पोजेटिभ आएको छैन,’ उनले थपिन् । चिकित्सकहरूका अनुसार कोरोना भए बिरामीको संख्या तीव्र गतिमा बढ्नुपर्छ । तर, यहाँ बिरामीको संख्या बढेको छैन । त्यसले पनि नेपालमा कोरोना नभएको स्पष्ट पार्छ ।
स्वास्थ्य अधिकारीहरूले रुघाखोकीको समय भएकाले मानिसहरूलाई सबै कोरोना हो कि भन्ने शंका लाग्नु स्वाभाविक रहेको बताउँछन् । बरु कसैमा कोरोना भाइरस संक्रमित भएको आशंका भएमा तत्काल खबर गर्न उनको सुझाब छ । ‘कोरोना भाइरस एक व्यक्तिबाट अन्य व्यक्तिमा तीव्र रूपमा सर्ने हुन्छ, तर नेपालमा अहिलेसम्म यसरी बिरामी देखिएको अवस्था छैन । त्यसैले नेपालमा कोरोना छैन भनेर स्पष्ट पार्न सकिन्छ,’ डा. झाले भनिन्, ‘कसैले परीक्षणमा आशंका गरेकै भरमा विश्वास दिलाउन रिपोर्टलाई पोजेटिभ बनाउन मिल्छ ?’ निर्देशक झाले प्रश्न गरिन् ।
परीक्षणको दायरा बढाउनुपर्छ
चिकित्सकहरूले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायरा बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्रै धान्न नसक्ने भन्दै उनीहरूले विश्व स्वास्थ्य संगठनले मान्यता दिएका ल्याबलाई पनि परीक्षणको अनुमति दिनुपर्ने बताए ।
टेकु अस्पतालका एक चिकित्सकले भने, ‘नेपालका ल्याबको गुणस्तर राम्रो छ । तर, एउटाले मात्रै धान्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले यसको दायरा बढाउनुपर्छ ।’ टेकु अस्पतालमा हाल तीनजना बिरामी भर्ना भएका छन् । डा. अनुप बास्तोलाका अनुसार कोरोना संक्रमित देशबाट आएका उनीहरू अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् ।
छिमेकी चीनमा पहिलोपटक पुष्टि भएको कोरोनाको संक्रमण अर्को छिमेकी भारतमा पनि फैलिएको छ । भारतमा पहिलोपटक बिहीबार एक व्यक्तिको ज्यान गएको छ । कर्नाटकमा ७६ वर्षका पुरुषको ज्यान गएको त्यहाँका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले ट्विटरमार्फत पुष्टि गरेका छन् । भारतसँगको खुला सीमाका कारण नेपालमा जोखिम झन् थपिएको छ ।