काठमाडौं । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो ? भन्नेबारे प्रहरी प्रशासनले अनुशन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको अयाोजना गरेर शाहीले नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी बराल आफूहरुको अभियानकी जिम्मेवार व्यक्ति भएको उल्लेख गर्दै उनीमाथि लागेको आरोप सत्य प्रमाणित भए कारबाहीको लागि आफूहरुले नै मुद्दा दर्ता गराउने पनि स्पष्ट पारे । उनले भने,‘यदि उहाँ यो प्रकरणमा दोषी भेटिए उहाँलाई पहिलो मुद्दा दर्ता पनि हामी नै गर्छौं, जीता बराल दोषी हुन् भने हामी उनलाई संरक्षण गर्दैनौ, हामी अरु पार्टीजस्तो होईन । पहिलो मुद्दा हामीले नै हाल्छौँ ।’
 
उक्त प्रकरणमा देखिएको फेसबुक मेसेन्जरको संवाद पनि ‘फेक–आइडी’ बाट भएको शाहीको स्पष्टोक्ति थियो । ‘संवादमा पैसा पठाएको भनेर प्रेषित आई.एम.ई नम्बरको मैले ट्रयाक गरेको थिएँ, त्यो छानबिन गर्दा फेक नम्बर भएको पाईयो, जीता बराल आँफैंले त्यो कुरा गलत हो भनेर नै आजमात्रै काठमाडौं प्रहरी परिसर टेकुमा गएर मुद्दा दर्ता गराउनुभएको छ, उहाँले दर्ता गराएको मुद्दा नम्बर १९२९ हो ।’
‘फेक–आईडी’ बनाएर घुस लिने व्यक्ति (पश्कल रोकाय) लाई छानबिन गरी तत्काल कानूनी कारवाही हुनुपर्ने भन्दै यसबारेमा पनि उनले सरकारको ध्यानाकार्षण गराए ।
 
६० अर्बको एनसेल काण्ड र नागरिकता बेचबिखन गर्ने समूहलाई समेत आफूहरुले यसअघिनै पर्दाफास गराईसकेको बताउँदै शाहीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दा र आवाज उठाउँदा आफूमाथि तीनपटक भौतिक हमलासमेत भएको स्मरण गराए । सरकारले च्याउ फलाएजस्तै भ्रष्टाचारविरोधी अभियानमा विभिन्न संगठन खडा गरेर सरकारले ब्रम्हलुट मचाएको समेत उनको आरोप छ । उनले भने,‘अर्थतन्त्र बलियो बनाउन भ्रष्टाचार अन्त्य गर्न जरुरी छ । र, भ्रष्टाचार अन्त्य गर्न नागरिक जागरुक हुन जरुरी छ । हाम्रो अभियान भ्रष्टाचारीलाई संरक्षण गर्ने हैन् ।’
उनले वर्तमान सरकारलाई दलालको संज्ञा दिएका छन् । ‘यो सरकारले प्रतिपक्षी दललाई समेत मिलाएको छ । दुवै मिलेर अहिले देशमा ब्रम्हलुट मच्चाएका छन् । उनीहरुले मिलेर भ्रष्टाचार गरिरहेका छन् ।’–शाहीले थपे ।
 
यो प्रकरणमा जीता बरालको नाममा नक्कली फेशबुक आईडी बनाएर यस्तो प्रपञ्च रच्ने पास्कल रोकाया नामका व्यक्तिले धेरै अघिदेखि ठगी गर्दै आएकोसमेत शाहीले खुलासा गरे । ‘प्रहरीले तत्कालै उनलाई कारवाही नगरे हामी आफ्ै ठगी गर्ने व्यक्ति रोकायालाई समातेर प्रहरीसमक्ष लैजान्छौं ।’–शाहीको उद्घोष थियो ।
त्यसैगरी कार्यक्रममा यो प्रकरणमा नाम मुछिएकी जीता बराल जो नर्सिङ काउन्सिलकी बोर्ड मेम्बरसमेत हुन उनले आफ्नो नामबाट ‘फेक–आईडी’ बनाएर पास्कल रोकायाले घुस मागेको प्रष्टीकरण दिएकी छिन् । उनले भनिन्,‘ठगी गर्ने व्यक्तिलाई तत्काल कानूनी दायरामा लयाउनुपर्छ, र उनलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’
 
यो प्रकरणमा आफ्नो नाम जोडेर गलत खबर छाप्ने ‘कर्णालीखबर’ पत्रिकालाई समेत कारबाही हुनुपर्ने उनको माग छ । उनकाअनुसार उक्त अनलाईन पत्रिका पनि रोकायको नाममा रहेको खुल्न आएको छ । ‘सुरुमा यो खबर छाप्ने पत्रिका प्रेस काउन्सिलमा समेत दर्ता नरहेको र स्वयम रोकायाको नाममा उक्त पत्रिका रहेको कुरा खुल्न आएको छ ।’–बरालले थपिन् ।
उनले रोकाया नेकपाको कार्यकर्ता रहेको र सम्पूर्ण ठूलो निकायमा पहुँच रहेको भन्दै नर्सिङ पेशामा संलग्न रहेकी चेलीबेटीसंग घुससमेत लिएको उनले स्पष्ट पारिन् । उनले भनिन्,‘मेरोबारेमा खबर छाप्दा कमसेकम मलाई त सोध्नुपर्छ, तर, कसैले पनि योबारेमा मलाई केही सोधेनन् । सिधै खबर छाप्ने सम्पूर्ण मिडियालाई यसो नगर्न म यही मञ्चबाट आग्रह गर्न चाहन्छु ।’
 
त्यसैगरी कार्यक्रममा पीडित नर्स आफूले फेसबुकमा रहेको सिटिइभिटीको ग्रुपमार्फत रोकायासित कुराकानी भएको स्पष्ट पारिन् । उनले भनिन्,‘म पास भएपछि मसित पैसा मागेको थियो ।’
नेपाल नर्सिङको रिजल्ट अगाडि नै रोकायसँग आफ्नो कुरा भएको उनले बताईन् । नेपाल नर्सिङ काउन्सिलमा पास गराउन चार्ज लाग्छ र तिमीले ७० हजार दिनुपर्छ भन्दै रोकायाले घुस मागेको उनको गम्भिर आरोप छ । यसो नगरे रोकायाले नर्सिङ काउन्सिलको डकुमेन्टलाई रद्द गराईदिन्छु भन्दै धम्कीसमेत दिएको उनले सुनाईन् ।
घुस रकम दिन नमानेपछि आफ्नो तस्बिर र गलत खबर लेखेर चरित्र हत्या गर्न खोजेको पनि ती पिडित नर्सको गुनासो थियो । ‘यस्ता प्रकारका गतिविधि गर्ने व्यक्तिलाई जतिसक्दो चाँडै कानूनकोदायरामा ल्याई कारवाही गर्नुपर्छ ।’–उनको माग छ ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        