काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका क्रममा अस्पतालमा छन् । उनलाई डिस्चार्ज हुन अझै केही दिन लाग्ने डाक्टरहरूले बताएका छन् । त्यो बेलासम्म नेकपाभित्रको विवाद थाती रहने सम्भावना छ । प्रधानमन्त्री ओलीका स्वास्थ्यका कारण धेरै विवाद गर्ने मनस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिँदैनन् । त्यसपछि पनि प्रधानमन्त्री ओली बलियो भएमा या उनको चाहना पूरा हुने अवस्थामा बैठकबाट कुनै निर्णय होला, नत्रभने स्वास्थ्यको कारण भन्दै मुलुक यथाअवस्थामै सञ्चालन हुने निश्चित छ ।
विगतमा पनि प्रधानमन्त्री ओलीले आफू अनुकूलको निर्णय गर्न नसक्दा स्वास्थ्यको कारण देखाउँदै भेटघाट बन्द गर्ने गरेका थिए । ओलीको रणनीतिका केही उदाहरण दिँदै नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले आफूले चाहेको निर्णय गराउन नसक्ने अवस्थामा बैठक टार्ने र गर्न सक्दा जुनसुकै अवस्थामा पनि बैठक बसाएर औपचारिक निर्णय गराउँदै आएका थिए र छन् ।’एमाले र माओवादीबीच एकता हुनुअघिदेखि ओलीको द्वन्द्व वरिष्ठ नेता माधवकुमार नेपालसँग थियो । एकतापछि पनि लामो समयसम्म त्यही अवस्था रह्यो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग मिलेर उनले नेपाल र उनी पक्षधर नेतालाई निरन्तर पेल्दै आएका थिए । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि भने एकाएक सो समीकरणमा परिवर्तन आएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच द्वन्द्व नै सुरु भयो । सभामुख छनोटबाट सुरु भएको द्वन्द्व झन्–झन् बढ्दै एमसिसी प्रकरणसम्म पुगेको छ । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीचको द्वन्द्व यति धेरै बढेको थियो कि यदि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना नभएको भए विस्फोटको अवस्था सिर्जना भइसकेको हुन्थ्यो ।
वामदेव गौतमलाई अघि सारेर प्रचण्डले ओलीमाथि प्रहार गर्न सुरु गरिसकेका थिए ।
एमसिसी, वामदेव गौतम काण्ड लगायत सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन नगर्ने उद्घोष प्रधानमन्त्री ओलीले गरिसकेका थिए भने उपचारका लागि भर्ना हुनुअघि आफ्नो इच्छाअनुसार डा.युवराज खतिवडालाई अर्थ एवं सञ्चारमन्त्रीमा नियुक्ति गरेर सचिवालयको निर्णयलाई धोती लगाएका थिए । सचिवालयको अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गरेनन् । अस्पताल भर्र्ना हुने भएकै कारण त्यो विषयमा प्रचण्डलगायतका नेताहरूले कुनै कुरा उठाउन सकेनन् । तर विरामी हुँदा पनि खतिवडालाई नियुक्त गर्नसक्ने, तर सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने प्रधानमन्त्री ओलीको रणनीतिलाई लिएर प्रचण्ड भित्रभित्रै निकै मुर्मुरिएका छन् । प्रचण्ड एकातिर गुनासो गर्दैछन् भने अर्कोतिर राज्यसंयन्त्र प्रचण्डका कमजोरीहरू केलाउन केन्द्रित भएको छ ।
ओली र प्रचण्डबीचको द्वन्द्व कति धेरै छ भन्ने कुरा हिजो (आइतबार) मात्र पक्राउ परेका कुन्दन फौजदारको घटनाले पुष्टि गरेको छ । ओलीका सहयोगीहरू सबै अहिले प्रचण्डलाई कमजोर बनाउन सबै हतियार प्रयोग गर्न थालेको र फौजदारको पक्राउ त्यसैको उदाहरण हो भनिन्छ ।
ओली र प्रचण्डबीचको द्वन्द्व कति धेरै छ भन्ने कुरा हिजो (आइतबार) मात्र पक्राउ परेका कुन्दन फौजदारको घटनाले पुष्टि गरेको छ । ओलीका सहयोगीहरू सबै अहिले प्रचण्डलाई कमजोर बनाउन सबै हतियार प्रयोग गर्न थालेको र फौजदारको पक्राउ त्यसैको उदाहरण हो भनिन्छ । पत्रकार वीरेन्द्र साहका हत्याको आरोप लागेका फौजदार १२ वर्षदेखि पक्राउ परेका थिएनन् । उनकी श्रीमतीलाई सांसदसमेत बनाएर माओवादीले फौजदारको संरक्षण गर्दै आएको थियो । तर गृहमन्त्री रामबहादुर थापा बादललाई समेत थाहा नदिई फौजदारलाई राति नै पक्राउ गरियो । अब अन्यत्र भएका यस्ता कमजोरीलाई टेकेर प्रचण्डलाई कमजोर बनाउने थप काम हुन निश्चित छ । यसपछि पूर्वमाओवादी लबीका कतिलाई मुद्दा लाग्ने र कारबाही हुने असंख्य सूची तयार पारिएको बताइन्छ । पत्रकार डेकेन्द्र थापाका हत्या अभियुक्तलाई पनि पक्राउ गरिसकिएको छ ।
कस्तो होला समीकरण ?
प्रधानमन्त्री ओलीको चाहनाविपरीत वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गर्दा ओलीको पक्षमा ईश्वर पोखरेल मात्र थिए । विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ मौन थिए । बाँकी पाँचजना वामदेव गौतमको पक्षमा खुलेरै लागेका थिए । त्यसपछि सचिवालयको निर्णय कार्यान्वयन गर्ने भनेर भएको भेलामा पनि पौडेल र श्रेष्ठ उपस्थित भएनन् । पौडेल यस्ता विवादका बेला पार्टी संस्थापनको पक्षमा उभिन्छन् । श्रेष्ठ र गृहमन्त्री थापा पार्टी सञ्चालनको पक्षमा प्रचण्डसँग र सरकार सञ्चालनको पक्षमा ओलीसँग उभिन्छन् । अहिले प्रचण्ड प्रधामन्त्री हुनुभन्दा पनि पार्टीमा बलियो हुन खोजेकाले श्रेष्ठ र थापाको साथ पाउने प्रचण्डको विश्वास छ ।
अर्कोतिर प्रधानमन्त्री ओली भने वरिष्ठ नेता नेपाललाई आफ्नो पक्षमा लिने प्रयासमा छन् । पछिल्लो चरणमा नेता नेपाल र प्रचण्डबीच भएको दोस्ती तोड्न लागिपरेका छन्, प्रधानमन्त्री ओली र उनका सहयोगीहरू । त्यसका लागि उनीहरूले धेरै प्रयाससमेत गरिसकेका छन् । नेता नेपालले ओलीले आफ्नो साथ खोजेकाले के गरौं भनेर रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिजालसहितसँग पटक पटक छलफल गरिसकेका छन् । प्रचण्डलाई पेल्ने प्रस्तावसहित ओली र उनका सहयोगीहरूले नेता नेपालसँग छलफल गरे पनि नेपालको किचेन क्याबिनेटले ओलीसँग उधारो सम्झौता नगर्न दबाब दिएको बताइन्छ । ओलीले वामदेवलाई पनि उधारो सम्झौता गरेकाले वामदेव फसेको उदाहरणबाट नेता नेपालले पाठ सिक्ने बताइन्छ । देशैभर एउटा ठूलो गुट सञ्चालन गरेका र प्रचण्डसँग मिलेमा ओली पार्टी तथा संसदीय दलमा समेत अल्पमतमा पर्ने कारण ओलीलाई प्रचण्डको भय देखाएर हाताहाती सम्झौता गर्ने पक्षमा नेपाल रहेको बताइन्छ ।
नेता नेपालसँग हाताहाती सम्झौता गर्दा ओलीले माधवलाई दिने कुरा भने छैन । ओलीले नेता नेपालको सिफारिसमा केही थान मन्त्री बनाउन सक्छन् । तर अरुलाई देखाएर आफू फाइदा लिने स्वभावका नेता नेपालले केही पाउने अवस्था छैन । बरु प्रचण्डसँग मिलेमा प्रधानमन्त्री नै पाउन सकिने भएकाले नेता नेपालले ओलीसँग सम्झौता गरेका छैनन् । ओलीसँग सम्झौता गर्दा महाधिवेशनबाट अध्यक्ष पाउने सम्भावना भए पनि त्यो उधारो हुने र ओलीले बोली फेर्न सक्ने नेपालको शंका छ । ओली कुनै हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छोड्ने पक्षमा छैनन् । त्यस्तो अवस्थामा नेता नेपाल केही थान मन्त्रीमा चित्त बुझाएर ओलीसँग सम्झौता गर्लान् र ? नेपाल निकट एक नेताले नै प्रश्न गरे ।
अर्कोतिर प्रधानमन्त्रीबाट ओलीलाई हटाउने कुरामा प्रचण्डले श्रेष्ठ, थापा र पौडेलको पनि सहयोग पाउने छैनन् । यस्तो अवस्थामा ओली प्रधानमन्त्रीबाट हट्ने देखिँदैन, तर पार्टी अध्यक्षमा भने केही अधिकार बाँडफाँट गर्नुपर्ने अवस्थामा पुग्नेछन् । यसअघि त्यस्तै अवस्था सिर्जना गरेर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा कार्यकारी अध्यक्ष लिएका थिए । तर त्यो नाम मात्रको भयो । फेरि पनि त्यस्तै होला । ओलीले त्याग गरेर माधव नेपालको साथ लिन सके भने प्रचण्ड राजनीतिबाटै गलहत्तिने सम्भावना पनि त्यति नै छ । नेकपाभित्र अझै ६ महिनाजति प्रचण्डको हैसियत बाँकी नै रहने बुझिएको छ । त्यसपछि के होला ? भन्ने विषयमा नेकपाका सचिवालय सदस्यहरू नै अनुमान गर्न सक्दैनन् । भन्छन्– ‘प्रचण्डले ४० प्रतिशत पु¥याए भने पार्टी फुट्न पनि सक्छ, यदि सकेनन् भने उनले चुपचाप लागेर बहुमतलाई साथ दिनुपर्ने हुन्छ ।’
तरुण विश्लेषण