• काठमाडौं । नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । सत्ताको अनुभवी कांग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ तर यतिबेला आफ्नो अनुभव देखाउन कांग्रेस चुकिरहेको छ । कारण कांग्रेस आफ्नै आन्तरिक गुटगत राजनीतिको किचलोमा छ ।
    मुलुकलाई प्रजातन्त्रको बाटोमा ल्याउने, सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा भिœयाउने, राजालाई बाटो लगाएर गणतन्त्र स्थापना गराउनेदेखि संविधान निर्माणसम्ममा नेतृत्वको जस लिने काम विगतमा कांग्रेस नेतृत्वबाट भएको छ ।

    तर, कुनै समय देशलाई ‘लिड’ गरेको कांग्रेसले यतिबेला प्रतिपक्षको भूमिकामा दह्रो देखिँदै आफ्नै संगठनलाई भने चलायमान बनाउन सकेको छैन । कांग्रेसभित्र पार्टीको साटो विभिन्न खेमामा रहेका गुट सक्रिय भूमिकामा देखिएका छन् । सांगठनिक रूपमा यतिबेला कांग्रेस आफैं बन्धकजस्तै छ । कांग्रेसमा हाल देखिनेगरी तीन गुट सक्रिय छन् ।

    पार्टीको १३औं महाधिवेशनपछि कांग्रेसमा विभिन्न समूहमा तीन गुट देखा परे । महाधिवेशनका समयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सभापति पदका लागि उमेदवारी दिएपछि कांग्रेसभित्र त्यसैबखत अर्को समूहको नेतृत्व गर्दै नेता कृष्णप्रसाद सिटौलाले बैचारिक समूहका रूपमा तेस्रो धारको नेतृत्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गरे । १३औं महाधिवेशनबाटै कांग्रेसभित्र तीन समूह स्थापित भयो ।

    हाल आएर कांग्रेसभित्र कांग्रेसको इतिहाससँग जोडिएको कोइराला परिवारसमेत आफ्नो स्थानलाई दरिलो बनाउन सक्रिय रूपमा देखिएको छ । कांग्रेसभित्र नेता डा. शेखर कोइरालाले आफ्नो भूमिकालाई यो समूहबाट अगाडि देखाइरहेका छन् । उनीसँगै कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत देशका विभिन्न भागमा हुने कार्यक्रमहरूमा एउटै मालामा जोडिन पुगिरहेका छन् ।
    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा समेत प्रतिपक्षका रूपमा कमजोर देखिएको बताए । ‘सभापति पनि देउवा, संसदीय दलको नेता पनि देउवा, प्रतिपक्षको नेता नै सत्ता पक्षको अंसियारजस्तो हुँदा कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा कमजोर भयो,’ राजनीतिक विश्लेषक आचार्य भन्छन् ।

    उनले सभापति र संसदीय दलको नेतामा हुनुपर्ने ऊर्जा सभापति देउवाले प्रधानमन्त्रीसँग लेनदेनमा साटेकाले समेत कांग्रेस प्रतिपक्षी भूमिकामा चुक्दै आइरहेको आरोप लगाए । ‘सत्ता पक्ष मनलाग्दी ढंगबाट अघि बढिरहँदा प्रतिपक्ष विश्वविद्यालयका भागबन्डा र नियुक्तिमा अल्झियो, प्रतिपक्ष जनतासँग संवादविहीनताको स्थितिमा छ, कांग्रेसको स्थिति भोलिका दिनमा पनि आश लाग्दो छैन,’ आचार्य भन्छन् ।
    कांग्रेसभित्र हाल संस्थापन समूहको नेतृत्वमा सभापति शेरबहादुर देउवा छन् । यस्तै, पूर्वसंस्थापन पक्ष दुई भागमा विभाजित छ । जसको नेतृत्व एउटा समूहको वरिष्ठ नेता पैडेलले गरिहरहेका छन् भने अर्को समूहको नेतृत्व सिटौलाले गर्दै आएका छन् ।

    यस्तै, हाल आएर कोइराला परिवारको स्थानलाई स्थापित गर्न भन्दै डा. शेखर कोइरालासहित महामन्त्री शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत सक्रिय भूमिकामा अघि बढिरहेका छन् ।
    गुटका कारण कांग्रेसको केन्द्रीय समिति बैठकसमेत धेरैजसो अनिर्णयको बन्दी बन्दै आइरहेको छ भने पार्टीका हरेक जसो निर्णयमा नेताहरूको असन्तुष्टि बढ्ने गरेको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…