शुक्रवार डिस्चार्ज भएका प्रधानमन्त्री ओली फेरी किन पुगे अस्पताल ?
काठमाडौं, दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली फेरी त्रिवि शिक्षण अस्पताल पुगेका छन् । शुक्रवार अस्पतालवाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली फलोअप उपचारका लागि आज आइतबार त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल गएका हुन् । यो काम केही घण्टामै सम्पन्न हुने पनि उनले बताएका छन् । प्रधानमन्त्री ओलीको पेटको स्टेन्ट निकाल्न धेरैबेर नलाग्ने भएकाले आइतवार नै उनी अस्पतालवाट फर्कने छन् ।
त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबार साँझ मात्र सरकारी निवास बालुवाटार फर्किएका हुन् । उनी १० दिन लामो अस्पताल बसाई पछि घर फर्किएका हुन् ।
अस्पतालबाट फर्किएलगत्तै आज साँझ हुने भनिएको सार्क मुलुकहरुको प्रमुखको भिडियो कन्फरेन्समा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।